सायद बिरामिकाे सेवा गर्न पाउँदिन हाेला : डा उपेन्द्र देवकाेटा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २१ वैशाख ।
  • वुधवार नेकपा माअाेवादीका अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पुग्दा भावुक बनाएका  डा उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ  हुनुहुन्छ।
  • अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको।

काठमाडाै, २१ वैशाख । वुधवार नेकपा माअाेवादीका अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न पुग्दा भावुक बनाएका  डा उपेन्द्र देवकोटा अहिले न्यूरो अस्पताल बाँसबारीमा उपचारार्थ  हुनुहुन्छ। अस्पतालको ‘होप’ अर्थात ‘आशा’ नामक खण्डमा रहे पनि आक्रामक रोगले गाँजेकाले छोटिँदो जीवन नेपाल आमाकै काखमा बिताउने अठोट छ उहाँको।

विदेश उपचार गर्न जाँदा पनि राेग पत्ता नलागेका  डा देवकाेटाले दाहालसंग भनेका थिए ‘मेरै देशमा प्राण त्याग्छु भनेर नेपाल फ्रकेकाे ।’

आफूलाई स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतलाई ‘नेपालभन्दा सुन्दर मुलुक दुनियाँमा अर्को छैन’ भन्न बिर्सनुभएन देवकाेटाले।

’चिकित्सा पेशामा लागे पनि मुलुकको राजनीति, संविधान र परिवर्तन, सामाजिक सद्भाव, व्याप्त भ्रष्टाचार र नेपालको स्वतन्त्र अस्तित्वबारे उहाँका चिन्ता र मान्यतामा स्वास्थ्य अवस्थाले कुनै प्रतिकूल असर पारेको छैन। देवकोटाले भन्नुभयो, ‘मर्न लागेको मान्छेले असत्य बोल्दैन। म केही बोल्न चाहन्छु।

मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ आवश्यक व्यवस्था गर्न। घरबाट प्याक गरेको स्यान्डविच थियो हामीसँग। माया गरेर बियर पनि राखिदिएको रहेछन् फ्रिजमा। गोरखा लिगलिगबाट द्रव्य शाहको दरबारतिरको उकालो लाग्यौँ। हेनरी मभन्दा ३-४ वर्ष जेठा हुन्। उक्लँदा मलाई अलिअलि गाह्रो भो। म सहरिया भएछु क्यारजस्तो लाग्यो।

माथि पुगेर ‘पिकनिक’ गरौँ भनेँ मैले हेनरीलाई। लोकल बियर निकालेँ अनि ३ सय ६० डिग्रीको सेरोफेरोमा दृश्यावलोकन गर्‍यौँ त्यहीँबाट। मर्स्याङ्दी, लमजुङ, चेपे, गोर्खा दरबार सबै वरिपरि। हेनरीलाई चिनाएँ ती दृश्यहरु।

एक बोतल बियरबाट ५्-७ घुट्का पिएपछि मन लागेन। हेनरीलाई पनि खासै रमाइलो लागेन। बियरको तर्पण दिएर ओर्लियौँ। यो उमेरमा ग्यास्ट्राइटिस राम्रो हैन। काठमाडौँ गएर इन्डोस्कोपी गर्न भने उनले। मलेखुमा उनलाई ‘ड्रप’ गरेर काठमाडौँ गएँ म। पाटन अस्पताल पुगेँ, रिपोर्ट अनौठो आयो। ग्यास्ट्राइटिस र हेलिको फ्याक्टर पोजिटिभ देखियो। उपचार सुरु भयो। मलाई फाइदा भएन, काम पनि गरिराखेँ। औषधि पनि खाइ राखेँ।

त्यसपछि चुनावको रौनक थियो। गोरखाको चुनाव रमाइलो थियो। विभिन्न कारणले वामगठबन्धनको पक्षमा उभिने निधो गरेँ। करिब १० दिनपछि फेरि गोरखा गएँ। एकैदिन त्यस बेलाका पूर्व प्रधानमन्त्री र अहिलेका पनि प्रधानमन्त्री केपी ओली, प्रचण्डजीसँग तीनओटा र्‍यालीमा भाषण दिएर काठमाडौँ फर्किएँ। विद्यार्थी जीवनमा वादविवाद प्रतियोगितामा अक्सर पहिला हुन्थेँ। तर यता आएर भाषण दिने बानी हटेको थियो। राम्रै बोलेँ। थारो भैँसीलाई कुँडो ख्वाएर अनुत्पादक काम नगर्न आग्रह गरे सबैसँग। भाषणपछि काठमाडौँ फर्केँ तर धेरै थाकेँ। भोलिपल्ट हेनरी बेलायत फर्कँदै थिएँ। म तल झरेर ‘बाई’ भन्न सक्ने अवस्थामा पनि थिइन। बिहीबार दिनभरि आराम गरेँ। शरीर पलाएपछि अस्पताल गएर शुक्रबार अप्रेसन गरेँ।

गोरखाकी एकजना १२ वर्षकी बहिनी थिइन्। उनको अपरेसन म आफै संलग्न भएर गर्नुपर्ने थियो। एक जना सहकर्मी डाक्टरको काम चित्त बुझेन। म ‘इरिटेट’ भएँ। तर, मैले सोचेँ, म यति ‘डिमान्डिङ’ र ‘इरिटेट’ हुने मान्छे हैन, यो मेरो चरित्र हैन। ‘समथिङ मस्ट बी रङ विथ मी’ भन्ने लाग्यो। ट्वाइलेट गएँ, पहेँलो बाक्लो पिसाब आयो। ऐना हेरेँ, आँखा पहेँला। ‘डीप जन्डिस’ लाग्यो। शंका पनि लाग्यो। मैले खाइरहेको ‘क्लेरिथ्रोमाइसिन’ को काम हो र त्यो औषधि सकिएपछि यो कम हुने आश पनि थियो। आफ्नै अस्पतालमा तल गएर एमआरआई र अल्ट्रा साउन्ड गरेँ। त्यो हेरेपछि छाँगाबाट खसेजस्तो भएँ।

त्यो पहिला सोचेजस्तो कोलेस्टेटिक जन्डिस थिएन। पित्त नली थिचिएर अवस्ट्रक्टिभ जन्डिस थियो त्यो। भोलिपल्ट शनिबार एक्स्पर्ट मित्रहरु बोलाई कन्सल्ट गर्दा जटिल खालको कलेजोको भेट्नामा मासु पलाएको जन्डिस देखियो। नलीहरु ‘ड्रेन’ गर्न नसके २\४ दिनमै जीवनमा असर पार्न सक्ने अवस्था देखियो। मुलुकमा र यो क्षेत्रमा काम गर्नको लागि एक्सपर्टिज कहाँकहाँ छन्, छलफल गर्‍यौँ। ढुक्क हुन सकिएन। तत्काल बेलायत फोन गर्‍यौँ हेनरीलाई। उनले किंग्स कलेज हस्पिटलका चिफ सर्जन फ्रोफेसर नाइजल हिटनको नाम लिए। उनीहरु दुवै जनाको मित्रतासँगै एउटा विशेष भिडियो पनि रहेछ। हेनरीले भनेपछि मंगलबारको ‘अप्वइन्टमेन्ट’ निश्चित भयो। सोमबार काठमाडौँबाट उडेर मंगलबार नाइजललाई भेटेँ।

म सँधै नै मुलुकभित्र सम्भव उपचार यहीँ हुनपर्छ र सक्नेले सरकारी ढुकुटीमा आँखा लगाउन हुँदैन भन्ने मान्यता राख्दै आएको व्यक्ति हुँ। मेरो केसमा पुष्टि भयो, यसको उपचार नेपालमा सम्भव थिएन। नाइजललाई भेटेको भोलिपल्टै उनले आफ्ना विभागका ५\६ जना ख्यातिप्राप्त ग्यास्ट्रो इन्टेरोलोजिस्टलाई बोलाए।

बुधबार ह्यारिसनलाई सुकेको नलीमा ‘स्टेन्ट’ हाल्ने काम दिइयो। उनले एकातिर हाल्न सके, अर्कोतिर सकेनन्। त्यसपछिका डा जोन डेभलिनले ‘टेक अप’ गरे। पहिलो, दोस्रो र तेस्रो प्रयास असफल भएपछि चौथो ‘सिटिङ’ मा स्टेन्ट त हाले तर वायोस्पी सम्भव भएन। अन्तमा पाँचौँ ‘सिटिङ’ मा भित्रै अल्ट्रासाउन्डपछि अत्यन्त ‘सोफिस्टिकेटेड’ प्रोसेसबाट बायोस्पी गरे उनले। वाइल डक्ट (पित्त थैली) क्यान्सर देखियो।

उपचार अत्यन्त जटिल छ, जाने बाटो एउटै छ। कोलोन्जियो कार्सीनोमाको स्ट्यान्डर्ड उपचार भनेको ‘किमो’ दिएर ट्युमरको साइज घटाउने अनि अपरेसन गरेर आधा लिभर फाल्ने। त्यसमा विशेषज्ञता हासिल गरेका डाक्टर पाल रस (क्यान्सर विशेषज्ञ) ले काम शुरु गरे।

नोभेम्बर २१ मा बेलायत पुगी जनवरी २५ मा मात्र किमोको पहिलो डोज लिन पाएँ। सबै कुरा ढिलो हुन पुग्यो। किमोपछि ल्युकोपोनिया र कलेन्जाइटिससँग जुध्दै रहेँ। लढ्दैपढ्दै तीन साइकल किमो लिन पाएँ। तर, मेरो ट्युमर बढ्दै गएको देखियो। पाल अलि निराश देखिए उनको उपचारले रेस्पोन्ड नगरेकामा।

सिटी स्क्यान गर्दा ट्युमर फैलिएको देखियो। त्यो दुस्खद थियो। फस्ट लाइन किमो प्रभावकारी नभएमा सेकेन्ड लाइन किमो पनि त्यत्ति प्रभावकारी हुँदैन। रेडियोथेरापी त्यत्ति प्रभावकारी नहुँदा सर्जरी नै गरिन्छ। रेडिएसनमा किरणले आन्द्राहरु सुकाउँछन्। त्यहीँ नै बसेर उपचारलाई निरन्तरता दिनुको अर्थ थिएन।

किमोले रेस्पोन्ड नगर्ने रेडियोथेरापीको साइड इफेक्टमात्र हुने र सर्जरी गर्न नमिल्ने विचित्रको अवस्थामा थिएँ म।

खासै कुनै उपाय नभएको अवस्थामा एक्सपेरिमेन्टल ट्रिटमेन्ट गरेर बस्नुभन्दा समयमै देश फर्केर बाँकी जीवन तपाईँहरु सबैबीच बस्ने निधोका साथ फर्केँ।

निको नहुने रोग लाग्दा के गर्ने? म स्वयम् चिकित्सक हुँ। मेरो व्यक्तिगत धारणा के हो भने जब निको नहुने रोग लाग्छ त्यसबेला अनावश्यक उपचारमा लाग्नुभन्दा शरीरमा केही शक्ति हुँदासम्म काम गर्नु उत्तम हुनेछ। त्यही मान्यताका साथ किमोबाट थप जटिलता निम्त्याउनुभन्दा बाँकी जीवन मेरो आफ्नै देशको माटो हावापानीमा बिताउने निधो गरेँ। दाजुभाइ दिदी बहिनीहरुकै समिपमा।

मेरा आफ्ना अनुभव र उपलब्धीहरुले अरुका लागि के अर्थ राख्लान् मलाई थाहा छैन। तर मलाई मेरो हावा पानी माटो र तपाईँहरु सबै अत्यन्त प्रिय हुनुहुन्छ। त्यसैले म केही बोल्ने प्रयास गर्नेछु।

म फेरि सायद बिरामीहरुका सेवामा फर्कन सक्ने छैन तर जति बाँच्छु उहाँहरुप्रति सद्भाव र शुभकामना राख्नेछु। मेरा अनुभव र भनाइ राख्दै जानेछु।

मृत्यु अवश्यंभावी छ।

गीतामा पनि भनिएको छ, ‘जातस्य ही ध्रुबो मृत्यु‍‘ ।’

अर्थात जन्मपछि मृत्यु निश्चित छ।

हेनरी लंगफेलोले भनेका छन्, जिन्दगी भनेको आमाको गर्भबाट निस्केर चिहानसम्मको यात्रा हो।

हामी चिकित्सकले त्यो यात्रालाई केही लम्ब्याउने टार्ने प्रयास गर्छौँ।

क्षेत्रप्रताप अधिकारीको यो गीतको अर्थ अहिले बुझ्न थालेको छु।

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

वास्तवमा मर्नु आफैँमा ठूलो कुरा हो। मर्ने व्यक्तिले उसलाई सम्झने के कुरा बाँकी छाडेर जान्छ यो लोकमा त्यसले महत्व राख्छ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Mukesh Basnet

    Sewa?

    Comment Author

    Bijendra Kumar Rai

    Very sad news please get well soon.

    Comment Author

    Vima Rai

    Please get well soon

    Comment Author

    Anita Paudel

    Sad news

    Comment Author

    So-roze Grg

    Get well soon as soon

    Comment Author

    Ashok Lama

    plese get well soon

    Comment Author

    Binod Kadel

    Bhabvihal lekh raichha…you are hero of nation…and will be always..

    Comment Author

    Prakesh Neupane

    Please get well soon dr sab

    Comment Author

    Hima Osti

    sad news please get well soon??

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?