धुर्मुस,सुन्तली लगाएत विभिन्न व्यक्तिहरू सम्मानित !
सारांश
- भैरहवा, २५ वैशाख ।
- समाजसेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तिको अवसर पारेर मुलुकका विभिन्न क्षेत्रबाट देशमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ ।
- लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले आज शिक्षा शिक्षा, पर्यटन, खेलकुद र देश निर्माणमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
भैरहवा, २५ वैशाख । समाजसेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तिको अवसर पारेर मुलुकका विभिन्न क्षेत्रबाट देशमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ । लीलाराम कुन्तिदेवी न्यौपाने प्रतिष्ठानले आज शिक्षा शिक्षा, पर्यटन, खेलकुद र देश निर्माणमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरेको हो । लीलाराम कुन्तीदेवी न्यौपाने फाउन्डेसन वि.सं. २०६७ सालमा ५१ लाख अक्षकोष राखी स्थापना भएको संस्था हो ।
देश निर्माणमा योगदान पुऱ्याउने सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), पत्रकारिता क्षेत्रबाट पर्यटन प्रबद्र्धन गरेकोमा पत्रकार चेतन पन्त, खेलकुद क्षेत्रमा योगदान पुऱ्याएका वसन्त रेग्मी, शिक्षा क्षेत्रमा योगदान पुऱ्याएका विनोद शाहीलाई जनही एक-एक लाख नगद र दोसल्लाले सम्मान गरिएको छ भने धुर्मुस सुन्तली फाउन्डेसनलाई पाँच लाख र सोही फाउन्डेसनलाई बीर अस्पताललाई मर्मत सम्हार गर्न थप २ लाख रकम हस्तान्तरण गरेको छ ।

सो फाउन्डेसनले भैरहवाको भानु माध्यमिक विद्यालयलाई शैक्षिक व्यवस्थापनको लागि १ लाख १ हजार, नेपाल क्यान्सर सपोर्ट गु्रप ललितपुरलाई १ लाख ५१ हजार, संस्कृत विद्याआश्रम भैरहवालाई पूर्वाधार निर्माणका लागि २ लाख १ हजार, महानन्दप्रसाद उपाध्याय उच्च मावि बगही पर्सालाई शैक्षिक पूर्वाधार निर्माणका लागि २ लाख १ हजार र बीरेन्द्र माध्यमिक विद्यालय छपिया रुपन्देहीमा दृष्टिबिहिन स्रोत कक्षा भवन निर्माणकालागि ३ लाख १ हजार नगर हस्तान्तरण गरेको हो । त्यस्तै, धुर्मुस सुन्तली फाउन्डेसनलाई पत्रकार चेतन पन्त्रले पनि २५ हजार नगद सहयोग गरेका छन् ।
सो कार्यक्रममा प्रमुख अतिथी समेत रहेका रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले इतिहास रच्न र मृत्युपछि अमर रहन निरन्तर रुपमा समाज सेवामा लाग्नुपर्ने बताए । सो सभामा रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्य प्रमोद यादव, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य सन्तोष पाण्डे, समाजसेवी दिलिप भट्टराई लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा संस्थाका संरक्षक शोभाखरहरि न्यौपानेको अध्यक्षता रहेको थियो ।
प्रतिक्रिया