प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रहरी माेबाइलमा व्यस्त हुँदा सर्वस्वसहित जन्मकैद पाएका अपराधी फरार

सारांश

  • झापा, २९ साउन ।
  • जिल्ला कारागार झापाबाट आइतबार दिउँसो ३ बजे एकाएक एकजना कैदी फरार भए ।
  • कारागार प्रशासन र सुरक्षार्थ परिचालित प्रहरीबीच आवश्यक समन्वय नहुँदा कैदीले भाग्ने मौका पाएका हुन् ।

झापा, २९ साउन । जिल्ला कारागार झापाबाट आइतबार दिउँसो ३ बजे एकाएक एकजना कैदी फरार भए । कारागार प्रशासन र सुरक्षार्थ परिचालित प्रहरीबीच आवश्यक समन्वय नहुँदा कैदीले भाग्ने मौका पाएका हुन् ।

साविक जुरोपानी गाविस–९ हालको गौरादह नगरपालिका–८ का २५ वर्षीय उमेश माझी कारागारबाट सबैको अगाडि निस्किए । तर, उनी निस्किएर गएको दृश्य कसैले पनि देखेन । उनका अन्य गतिविधि सिसि क्यामेरामा भेटिए पनि उनी कसरी फरार भए त्यो ‘फुटेज’ भने कारागार प्रशासनसँग पनि छैन । कर्तव्य ज्यान र जबरजस्ती चोरी मुद्दामा माझीलाई अदालतले ३२ असार २०७१ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

कसरी भए फरार ?
कारागारभित्र माझी विद्युतको टेक्निसियनको काम गर्थे । कारागारमा जम्मा ६ वटा सुरक्षा पोष्ट छन् । ती पोष्टहरुमा विद्युत मर्मतसम्भारको काम गर्नुपर्ने भन्दै माझीले दिउँसो १ः४८ मा फलामको सिँढी मगाए । कारागार बाहिरबाट उक्त सिँढी भित्र पठाइयो । सिँढीबाट कारागारको कम्पाउण्ड वालमाथि चढेर माझीले विजुलीको काम गर्न थाले ।

माझीले फेरि २ः५७ बजे कारागारको भित्रपटीबाट सिँढी ठड्याए । यताउता हेरे र, महिला बन्दीगृहको मूलगेट छेउको ५ नम्बर सुरक्षा पोष्ट हुँदै बाहिर ओर्लिए । कारागार बाहिरबाटै पैदल हिँडेर उनी महिला वार्ड पछाडिको ३ नम्बर पोष्टमा उक्लिए । यहाँसम्मको फुटेज कारागार प्रशासनसँग छ । दिउँसो ३ बजेर ४ मिनेटमा उनी त्यहाँबाट ओर्लिएको भिडियो पनि कारागार प्रशासनसँग सुरक्षित छ । त्यसपछि उनी क्यामेरामा पनि देखिँदैनन् ।

‘उसले यहाँ सबैको मन जितेको थियो,’ कारागार प्रमुख यज्ञराज निरौलाले भने, ‘बाहिरबाट सिँढी भित्र पठाएको पनि हामीलाई जानकारी छैन, ऊ बढी विश्वासिलो भएर प्रहरीले हामीलाई जानकारी नगराएको पनि हुन सक्छ ।’

प्रहरी मोबाइलमा व्यस्त भएपछि…
कारागारमा विजुलीसम्बन्धी केही समस्या आइपरे माझीले नै बनाउने गर्थे । अरुबेला उनी प्रहरीको निगरानीमै रहेर काम गर्थे । तर, त्यसदिन उनी पोष्टमाथि चढेर बिजुलीको काम गर्दा प्रहरीले खासै चासो दिएनन् । ‘त्यहाँ ऊ चढेको थाहै पाएनन् प्रहरीले,’ कारागार प्रमख निरौलाले भने, ‘प्रहरीलाई मोबाइलले बिगार्यो ।’ ड्युटीमा रहँदा प्रहरी मोबाइल चलाएर बस्ने बानी परेको उनको आसय थियो ।

माझी कारागारको दक्षिणी पोष्ट हुँदै ओर्लिएर आफ्नो बाटो लागेका हुन् । कारागारको सुरक्षार्थ प्रहरी नायव निरीक्षक हस्तबहादुर श्रेष्ठको नेतृत्वमा जम्मा २७ जना प्रहरी छन् । माझी फरार हुँदा प्रहरी नायव निरीक्षक श्रेष्ठ भने विदामा थिए । प्रहरी सहायक निरीक्षक गणेश राईको नेतृत्वमा सुरक्षा टोली रहँदा माझी फरार भएपछि अहिले केही प्रहरी कारबाहीमा परेका छन् । प्रहरी सहायक निरीक्षक राईसहित ड्युटीमा खटिएका एक जना प्रहरी हवल्दार र चार जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय झापा तानिएको प्रहरी स्रोतको भनाइ छ ।

कारागारमा हाल ९ सय १६ कैदीबन्दी छन् । ‘यसरी कैदी फरार हुनुमा सुरक्षाकै कमजोरी हो,’ कारागार प्रमुख निरौलाले भने, ‘तर, कसैको नियतमा ऊ भागेको छैन, भूलबस नै यो घटना भएको हो ।’ कारागारमा जम्मा ११ वटा सिसि क्यामेरा छन् । माझी भागेको दिशातर्फ भने क्यामेरा नभएको उनले बताए ।

छानविन समिति गठन
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार यो विषय अध्ययन गर्नका लागि एउटा छानविन समिति नै बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको उक्त समितिमा डिएसपी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसमेत छन् । ‘समितिले अनुसन्धान गर्छ र कहाँनेर त्रुटी भयो, पत्ता लगाउँछ,’ प्रमख जिल्ला अधिकारी दाहालले भने, ‘यो विषयमा हामी गम्भीर छौँ, प्रहरीले विषेश निगरानी, गस्ती र चेकजाँच गर्दैछ, फरार कैदी चाँडै भेटिनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?