सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
|
२० पटक हेरिएको
Shares
सीमा क्षेत्रका प्रहरी चौकीको बेहाल, कसैको ध्यान छैन

सारांश

  • काठमाडौं, २६ माघ- भारतको सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी आफैँ समस्याग्रस्त छन् ।
  • जनतालाई सुरक्षा प्रदान गर्नुपर्ने दायित्व बोकेको प्रहरी कार्यालयका भौतिक संरचना निकै कमजोर छन् ।
  • विद्युत्, खानेपानीको अभाव मात्र होइन, दैनिक जीविकोपार्जनका लागि रासन ल्याउन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यतामा सीमा क्षेत्रका नेपाल प्रहरी छन् ।

काठमाडौं, २६ माघ- भारतको सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकी आफैँ समस्याग्रस्त छन् । जनतालाई सुरक्षा प्रदान गर्नुपर्ने दायित्व बोकेको प्रहरी कार्यालयका भौतिक संरचना निकै कमजोर छन् । विद्युत्, खानेपानीको अभाव मात्र होइन, दैनिक जीविकोपार्जनका लागि रासन ल्याउन पनि भारतीय बजार पुग्नुपर्ने बाध्यतामा सीमा क्षेत्रका नेपाल प्रहरी छन् ।

खरले छाएका ससाना घरमा झ्यालढोका छैनन्, न भित्तो नै बलियो छ । मान्छे उभिँदा पनि छानोमा टाउको ठोकिने त्यस्ता घरमा अभियुक्तलाई राख्नै प्रहरीलाई समस्या छ । कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै केही वर्षअघि सीमा प्रहरी चौकी भैसाही नाकाबाट बलात्कार अभियोगमा पक्राउ परेका एक व्यक्ति दिउँसै हतकडीसहित भागे आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

‘प्रहरीले सकेसम्म शान्ति–सुरक्षाका लागि प्रयास गरेको छ,’ राजपुर–१ सिरियाका ओमप्रकाश पुनले भने, ‘तर, उहाँहरू आफैँ पनि समस्यामा हुनुहुन्छ । स्थानीयले प्रहरी र प्रहरीले स्थानीयलाई सहयोग नगरे जीविकोपार्जन गर्न गाह्रो छ ।’ नजिकै भारतीय एसएसबी सुविधासम्पन्न भौतिक संरचना र आधुनिक हातहतियारले सुसज्जित भएर गस्ती गरिरहँदा नेपाल प्रहरी भने भाडाका कच्ची घरबाट सीमा र स्थानीयको सुरक्षामा खटिनुपर्ने परिस्थिति छ ।

सम्पर्कका लागि मिसकलको ‘भर’
सीमा क्षेत्रमा अहिलेसम्म सञ्चारको सुविधा छैन । नेपाली फोन टावर नराखिएको हुँदा स्थानीयसँगै प्रहरीले पनि भारतीय फोनको प्रयोग गर्नुपर्ने अवस्था छ । भारतीय सिमकार्डको प्रयोग गरेर नेपालमा फोन गर्दा अत्यधिक महँगो पर्ने भएकाले ‘मिसकल’ दिएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सिरिया प्रहरी चौकीका प्रमुख असइ गणेश नेपालीले बताए । ‘भारतीय सीमबाट कुरा गर्दा महँगो पर्छ । जिल्लासँग कुरा गर्दा हामी यताबाट पहिले मिसकल दिन्छौँ, उताबाट पूरा कल गर्नुहुन्छ,’ उनले भने । २१ औँ शताब्दीमा प्रहरीसमेतले सञ्चार सुविधा नपाउँदा आकस्मिक सेवा प्रदान गर्न अप्ठ्यारो रहेको नेपालीले बताए ।

भारतीय सिमकार्ड प्रयोग गर्दा गोप्य सूचना चुहिने सम्भावना रहेको सुरक्षाकर्मीहरू बताउँछन् । प्रहरीले त्यस्तो समस्या नरहेको दाबी गरे पनि भारतीय सीम प्रयोग गर्दा भारतीय प्रहरीले चाहेमा सजिलै गोप्य सूचना चुहिने जोखिम रहेको उनीहरूको भनाइ छ ।

विद्युत् छैन, खोलाबाट खानेपानी
सीमा क्षेत्रमा अहिलेसम्म बिजुलीको सुविधा छैन । विद्युत् नहुँदा सञ्चारका सेटहरू सोलारको माध्यमबाट चार्ज गर्नुपर्ने बाध्यता रहेको प्रहरीको भनाइ छ । खानेपानीको भरपर्दो व्यवस्था नहुँदा खोलाको पानी खाएर गुजारा चलाउनुपरेको सिरिया प्रहरी चौकीका इन्चार्ज नेपालीले बताए । ‘विद्युत् नहुँदा सोलारबाट सञ्चार सेट चार्ज गर्नुपर्छ । त्यही पनि बादल लागेको अवस्थामा चार्ज नहुँदा सञ्चार सेट नै बन्द हुन्छ,’ उनले भने, ‘खोलाबाट पानी ल्याएर काम चलाउँछौँ ।’ वैशाख–जेठमा सुक्ने खोलाको पानी भारतीय सीमा सुरक्षाबल एसएसबीसँग मागेर खानुपर्ने अवस्था रहेको नेपालीले बताए ।

यातायातको अभाव
अपराधको सूचना पाए तत्काल घटनास्थल पुग्नुपर्ने प्रहरीसँग चारपांग्रे गाडीसमेत छैन । घटनास्थलसम्म हिँडेर पुग्दा दोषी फरार भइसक्ने प्रहरीको भनाइ छ । ‘यद्यपि, हामी सकेसम्म चाँडो पुग्ने प्रयास गर्छौं,’ एक प्रहरीले भने, ‘नेपालको तर्फबाट व्यवस्था नगरिएकाले सस्तोमा पाइने हुँदा भारतीय नम्बर प्लेटको मोटरसाइकल चढ्नुपर्ने बाध्यता छ ।’ यातायातको व्यवस्था नहुँदा प्रहरीले हप्तामा एकचोटि भारतीय बजार पुगेर खाद्यान्न ल्याउने गरेका छन् । ‘रासन तरकारी लिन पनि भारत जानुपर्छ, हप्तामा एकचोटि भारतीय हाटबजार पुगेर खाद्यान्न ल्याउँछौँ,’ सिरिया प्रहरी चौकीका इन्चार्ज नेपालीले भने, ‘प्रहरीले तलबबाहेक सबै कुरामा भारतमै भर पर्नुपर्ने बाध्यता छ ।’

(https://bettysco.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?