चट्याङ, आगो र सर्पको डरबाट बच्न नागपूजा, आज नागपञ्चमी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
चट्याङ, आगो र सर्पको डरबाट बच्न नागपूजा, आज नागपञ्चमी

सारांश

  • – पूर्णप्रसाद मिश्र  काठमाडौं ३१ साउन – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।
  • यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
  • सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले बिहीबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

– पूर्णप्रसाद मिश्र 

काठमाडौं ३१ साउन – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले बिहीबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

“बुधबार बिहान सात बजेर ३५ मिनेटसम्म चौथी तिथि थियो, त्यसैले सूर्योदयकाल भेटेन, बिहीबार बिहान ६ बजेर १९ मिनेटसम्म पञ्चमी तिथि छ, सूर्योदयले युक्त तिथि शुद्ध मानिन्छ, यसैले बिहीबार नै नागपञ्चमी पर्व मनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छः एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी “नमार्नुस्, म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु” भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न नागिनीले “तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग” भनेपछि उनले मौका छोपी “मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस्” भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले ‘तथास्तु’ भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि इतिहासमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्काेकट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता छ ।

काठमाडाँैका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा आज विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । रासस

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hiran Ojha

    Om

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
यसरि डुबाए जर्नेलले सेनाको कल्याणकारीको २८ करोड !
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले
राष्ट्रपतिलाई विवादमा तान्ने प्रयास भयो : एमाले
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
क्रिस्टियानो रोनाल्डोले बनाए अर्को नयाँ रेकर्ड
सरकारको खबरदारी गर्न कांग्रेस सभापति देउवाको सुझाव
सरकारको खबरदारी गर्न कांग्रेस सभापति देउवाको सुझाव
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
प्रधानन्यायाधीश पराजुलीको भण्डारीलाई ज्यान मार्ने धम्की !
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु

तपाईंले छुटाउनुभयो कि?