जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
जीवन शर्माले मन्त्रीहरुलाई के भनेका थिए, जसले वर्षियो हलमा हुटिङ र ताली

सारांश

  • उदय जीएम काठमाडौं, २० असोज ।
  • राष्ट्रिय सभागृहको सभाकक्ष खचाखच भरिएको थियो ।
  • बस्ने ठाउँ नपाएर दर्शकहरु उभिएरै पनि जनगायक जीवन शर्माका कालजयी र क्रान्तिचेतले भरिएका जीवनगीत सुन्न आतुर थिए ।

उदय जीएम

काठमाडौं, २० असोज । राष्ट्रिय सभागृहको सभाकक्ष खचाखच भरिएको थियो । बस्ने ठाउँ नपाएर दर्शकहरु उभिएरै पनि जनगायक जीवन शर्माका कालजयी र क्रान्तिचेतले भरिएका जीवनगीत सुन्न आतुर थिए ।

तालीको गुञ्जायमानसँगै मञ्चमा उक्लिए जनताका प्यारा गायक जीवन शर्मा । मञ्च अगाडि लहरै बसिरहेका अग्रजहरु रायन, जेबी टुहुरे अनि आफ्ना समकालीन कलाकार मणि थापा तथा सामना परिवार र रक्तिम परिवारका कलाकारहरुलाई उनले मञ्चमै बोलाएर सम्मान प्रकट गरे र सँगैसँगै गीत शुरु गरे, हिमाली, पहाडी… ।

सभागृहको अघिल्लो लहरमा थिए, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, वरिष्ठ नेता झलनाथ खनाल, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य “किरण”, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, खानेपानी मन्त्री बिना मगर, मणि थापा, सीपी गजुरेल, रामसिंह श्रीस लगायतका नेताहरु । शुरुमै पुगेका नेताहरु अन्तिमसम्मै बसेर ध्यानपूर्वक गीतसंगीतको भरपूर मनोरञ्जन लिएका थिए ।

इच्छुक साँस्कृतिक प्रतिष्ठान आयोजक रहेको “जीवन शर्मा संयुक्त साँस्कृतिक साँझ” मा जीवनले मधेसी, पहाडी, पानीमा खेल्ने माछी तिमी, सिमली छायाँमा, म त्यही आउने छु, झरनाको चिसो पानी, फोक्ल्याण्डको टापुबाट लगायतका चर्चित र जनप्रिय गीतहरु पस्किएका थिए । अलिकति गीतको रचना सन्दर्भ खुलाएपछि गीत गाउँदा दर्शकस्रोता उही भावमा बगेको सहजै अनुभूति हुन्थ्यो ।

गीत रचनाको पृष्ठभूमि सुनाउने क्रममा उनी “चाहिँदैन मलाई सुनको दरवार” बोलको गीतमा आइपुगे । उनले मञ्चबाट सरकारका मन्त्री तथा शीर्ष नेताहरुतर्फ फर्किएर भने, “मन्त्रीज्यूहरु, हामीले कुनै ठूलो आशा गरेका छैनौं । पाँच वर्षपछि फर्किँदा सफा र चोखो हात लिएर फर्किनु होला । हातमा कालो दाग नलगाउनु होला ।” गायक जीवन शर्माले यो भनिरहँदा हलभरि हुटिङ र ताली गुञ्जायमान भएको थियो । र, जब गाउन थाले जीवनले तब हल स्तव्ध र सास रोकेर सुनेका थिए दर्शकस्रोताले ।

छैन मेरो शरीरमा अत्तरको सुगन्ध
होला बरु जिउभरि पसिनाको गन्ध
होलान् मेरा खुट्टाहरु तप्तप्ती फुटेको
तर मेरो जिन्दगी यसैमा उठेको
चाहिँदैन मलाई शिशाको महल
चाहिँदैन मलाई चमेलीको बास
त्यसै राम्रो छ यो मेरो जीवन
चाहिँदैन मलाई सम्पत्तिको राश

कालो धन थुपारेर ढल्की हिड्नुभन्दा
हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो
बितोस् बरु जिन्दगी पसिनामै हाम्रो
चाहिँदैन मलाई सुनैको दरवार
चाहिँदैन मलाई हिरामोती हार,
त्यसै राम्रो छ मेरो पैदल यात्रा
चाहिँदैन मलाई टलिकने कार

जता हेर्यो त्यतै देख्छु असत्यको खेती
सच्चाईलाई रोक्न खोज्छन् बाटो छेकी छेकी
कहिलेसम्म यो संसारमा झुठले शासन गर्ने ?
सच्चाई सौन्दर्यलाई अप्ठ्यारोमा पार्ने
चाहिँदैन मलाई झुठको बंगला
चाहिँदैन मलाई असत्यको ठाँट
त्यसै राम्रो छ सच्चाईको बाटो
अदम्य छ मेरो यसमै डट्ने आँट

“जीवन शर्मा संयुक्त साँस्कृतिक साँझ” मा पूर्वप्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल “प्रचण्ड”, शेरबहादुर देउवा र डा. बाबुराम भट्टराई, मोहन वैद्य “किरण”, झलनाथ खनाल, चित्रबहादुर केसी लगायतका नेताहरुको राजनीतिक घोंचपेच र जुहारी चलेको थियो । नेताहरु स्वयं कोही नबोले पनि कलाकार सुबोध गौतमले क्यारिकेचरमार्फत उनीहरुबीच घोंचपेच गराएका थिए । साथमा, सामना परिवार र रक्तिम परिवारका कलाकारहरुको प्रस्तुतिले सुनमा सुगन्ध थपेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?