प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रकाशबारे बोल्दाबोल्दै प्रचण्डको गला अवरुद्ध भएपछि सीता दाहाल भावविह्वल

सारांश

  • काठमाडाैं, ३ मंसिर ।
  • प्रकाश दाहालको पहिलो स्मृति सभामा पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो ।

काठमाडाैं, ३ मंसिर ।प्रकाश दाहालको पहिलो स्मृति सभामा पुष्पकमल दाहाल प्रचण्ड भक्कानिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले ललितपुरको खुमलटारमा सोमबार बिहान स्मृति सभा आयोजना गरिएको थियो । कार्यक्रममा बोल्ने क्रममा प्रचण्डले छोरा प्रकाशको निधनको बेला पार्टी सम्हाल्ने कि घर सम्हाल्ने स्थिति आएको र सबैको सहयोगमा दुवै सम्हालेको स्मरण गरे । उनले देश, जनता, नेता कार्यकर्ताले साथ नदिएको भए आफ्नो परिवार बिघटन हुनसक्थ्यो भनेपछि गला अवरुद्ध भएको थियो ।

गला अवरुद्ध पार्दै प्रचण्डले भने, ‘यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।’ प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा पाएको साथ, सद्भाव र हौसलाका लागि सबैलाई धन्यवाद दिए । सोही सद्भावले आफूहरूमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो । उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे ।

‘उसमा बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो । भरोसा गर्न सकिने अवस्था थियो,’ प्रचण्डले भने । प्रकाशको निधनपछि नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगेको युवाको भीडले आफूमा धेरै प्रकाशहरूको जिम्मेवारी रहेको महसुस भएको प्रचण्डले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले स्व. प्रकाश दाहालको सम्झना गरेका छन् । एक वर्ष अगाडि अर्थात आजकै दिन हृदयघातका कारण निधन भएका प्रकाशको स्मृति कार्यक्रममा उनले प्रचण्डलाई यस्तो अवस्थामा सम्हालिन गाह्रो भएको बताए ।

प्रधानमन्त्री ओलीले प्रकाशको निधनका बेला भएको त्यो दुःखदायी क्षण सम्झिँदै एकवर्षअगाडि आजकै दिन पत्याउन नसकिने खबर रहेको भन्दै भने, ‘प्रचण्ड र म झापा थियौं, प्रचण्डजीले बिहान फोन आयो भनेर एउटा दुःखद खबर सुनाउनु भयो । त्यो खबर पत्याउन म तयार थिइँन, तर बास्तविकता थियो त्यो । प्रचण्डजीले त्यो धैर्यता राखेर सम्हालिनुभयो ।’ प्रधानमन्त्रीले यसो भन्दै गर्दा प्रचण्ड पत्नी सीता दाहाल भावविह्वल भइन् । रातो ज्याकेटमाथि कालो सल ओडेकी सीताका आँखाबाट आँशु झरिरहेका थिए । उनीसँगै रोइरहेकी भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहालले सम्हालिरहेकी थिइन् । उनी छोराको निधनपछि डिप्रेशनको शिकार भएकी छन् । हाल उनी उपचार गराउँदै आएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?