पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
सारांश
- काठमाडाै, ६ मंसिर ।
- विवाह र विवाहपछिको यौन जीवन व्यक्तिको नितान्त वैयक्तिक मामिला हो।
- तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत वर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको पहिलो विवाह, यौन जीवन र सम्बन्ध बिच्छेदबारे अनौठो खुलाशा गरेका छन्।
काठमाडाै, ६ मंसिर । विवाह र विवाहपछिको यौन जीवन व्यक्तिको नितान्त वैयक्तिक मामिला हो। तर, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत वर्ष दिवंगत भएका छोरा प्रकाश दाहालको पहिलो विवाह, यौन जीवन र सम्बन्ध बिच्छेदबारे अनौठो खुलाशा गरेका छन्। छोरा प्रकाश दाहालको प्रथम पुन्यस्मृतिका दिन विमोचित स्मृतिग्रन्थमार्फत् अध्यक्ष प्रचण्डले प्रकाशको पहिलो विवाहपछिको यौन जीवनबारे खुलाएका हुन्।
प्रचण्डको भनाईमा, प्रकाशको पहिलो विवाह दुई वर्षपनि नपुग्दै सम्बन्ध बिच्छेदमा परिणत हुनुको कारण थियो, पत्नीसँग शारीरिक सम्बन्ध नै स्थापित हुन नसक्नु। प्रकाशको पहिलो विवाह तत्कालिन नेकपा (माओवादी) का बरिष्ठ नेताकी छोरीसँग भएको थियो। त्यो बेला प्रकाश पार्टी हेडक्वार्टरमा कार्यरत थिए। ‘पार्टी हेडक्वार्टरमा काम गरिरहेको सिलसिलामा नै प्रकाशको पार्टीका अर्का बरिष्ठ नेता र मेरा एक घनिष्ठ सहयोद्धा क पोष्टबहादुर बोगटीको छोरीसँग चिनजान, भेटघाट र छलफल कामकै सन्दर्भमा बढ्दै गइरहेको थियो’, प्रकाशको पहिलो विवाहको पृष्ठभूमि बाँध्दै प्रचण्डले भनेका छन्, ‘कतिपय साथीहरुको सुझाव समेतका आधारमा पोष्टबहादुर र मेरो परिवार समेतको सल्लाहमा जनयुद्धको अन्तिम चरणतिर भूमिगत रुपमा नै उनीहरुको विवाह भयो।’
प्रकाशको त्यो पहिलो विवाह १२ फागुन २०६२ मा सम्पन्न भएको सो स्मृतिग्रन्थमा उल्लेख छ। विवाह भएपनि प्रकाश दम्पत्तिबीच शारीरिक सम्बन्ध हुन सकेको रहेनछ, जुन कुरा प्रचण्डले पत्नी सीतामार्फत् जानकारी पाए।
प्रचण्डद्वारा लिखित लेखको अंश
‘शान्ति प्रक्रियामा आइसकेपछि मात्र प्रकाशको आमा सीतामार्फत् मलाई थाहा भयो कि उनीहरुको बीचमा कुनै शारीरिक सम्बन्ध स्थापित हुन सकेको छैन’, प्रचण्डले भनेका छन्, ‘भित्रभित्रै त्यसको तनावमा प्रकाश परेको रहेछ।’ त्यो तनावपूर्ण स्थितिको अन्त्य गर्न आफ्नो र पोष्टबहादुर बोगटीको परिवार आपसी सल्लाहमा भएको, त्यसक्रममा प्रकाश दम्पत्ति असल साथी बन्ने, तर दाम्पत्य जीवनको अन्त्य गर्ने माग अनुसार पार्टीले सम्बन्ध बिच्छेदको अनुमति दिएको उनले उल्लेख गरेका छन्।
पहिलो संविधानसभा निर्वाचनमा माओवादीले विजय हासिल गरेपछि प्रचण्ड प्रधानमन्त्री बने, प्रकाश प्रचण्डका स्वकीय सचिव। त्यसैक्रममा एउटा कार्यक्रममा काभ्रे गएका बेला मादक पदार्थ सेवन गरेर बेहोसीझैँ प्रकाश कुर्सीमा ढलिरहेको तस्वीर सार्वजनिक भयो। पदीय र राजनीतिक मर्यादा विपरित रक्सी खाएर प्रकाश सार्वजनिक स्थानमा त्यसरी प्रस्तुत भए, त्यसको कारण पनि प्रचण्डले खोलेका छन्। प्रचण्डका भनाईमा, सम्बन्ध बिच्छेदको स्वीकृतिपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा थिए र, त्यही कारण रक्सी सेवन गर्न थाले।
‘त्यसपछि पनि प्रकाश मानसिक तनावको स्थितिमा रहेको र बेला–बेलामा अस्वाभाविक रुपले रक्सी सेवन गर्ने हुँदा घर, परिवार र पार्टी हेडक्वार्टरमै तनावको स्थिति बन्न थाल्यो’, प्रचण्ड भन्छन्, ‘यसको सबैभन्दा ठुलो चिन्ता र पीडा आमालाई पर्नु स्वभाविकै हो।’ बिना मगरसँग विहे गरेपछि मात्र प्रकाश सुध्रिँदै गएको दावी प्रचण्डले गरेका छन्। तर, बैधानिक रुपमा विहे गरेकी सिर्जना त्रिपाठीसँग किन सम्बन्ध बिग्रन गयो, त्यसबारेमा भने प्रचण्डले उल्लेख गरेका छैनन्। कतिसम्म भने, आफूले निकै माया गर्ने प्रकाश–सिर्जनाबाट जन्मिएका नाति प्रसिद्ध दाहालबारे प्रचण्डले कुनै कुरा उल्लेख गरेका छैनन्।
स्मृतिग्रन्थ बिमोचन गर्दै प्रम ओली, उपराष्ट्रपति पुन र प्रचण्ड (बायाँबाट क्रमश)
‘पछिल्लो चरणमा प्रकाशलाई सकारात्मक वातावरण र हौसला प्रदान गर्ने कुरामा बीना मगरको पनि निकै नै महत्वपूर्ण भूमिका रह्यो’, प्रचण्डले भनेका छन्, ‘यसैबीचमा प्रकाश र बीनाका तर्फबाट छोरा प्रणवको जन्म भयो र स्थिति क्रमशः सामान्यीकरण हुँदै गयो।’ स्व प्रकाशको प्रथम बार्षिकीको अवसरमा ३ मंसीरमा खुमलटारस्थित प्रचण्ड निवासमा आयोजित कार्यक्रममा सो स्मृतिग्रन्थको विमोचन उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले संयुक्त रुपमा गरेका थिए।
प्रतिक्रिया