पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पोखरामा एउटा बस्ती जोगाउन खोज्दा अर्को बस्ती भासिने खतरा

सारांश

  • पोखरा केही वर्ष देखि डुवानको समस्या खेपिरहेको पोखराको एउटा बस्तीलाई बर्षा याममा जोगाउन खोज्दा अर्को बस्ती धरापमा पर्ने खतरा बढेको छ ।
  • संभावित जोखिमको ख्यालै नगरी डुवान क्षेत्रको पानी निकासका लागि नाला बनाउन खोजेपछि त्यसले झन् ठूलो जोखिम निम्ताउने स्थानीयको अनुमान छ ।
  •   पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ छोरेपाटन स्थित शीतलमार्ग बस्तीमा डुवानको समस्या समाधानका लागि निर्माण गर्न लागिएको नालाले छोरेपाटनको मुख्य बजारक्षेत्र सहित गुफा सम्म जोखिममा पर्ने भन्दै स्थानीयबासी सरोकारवाला निकाय गुहार्न पुगेका छन् ।

पोखरा

केही वर्ष देखि डुवानको समस्या खेपिरहेको पोखराको एउटा बस्तीलाई बर्षा याममा जोगाउन खोज्दा अर्को बस्ती धरापमा पर्ने खतरा बढेको छ । संभावित जोखिमको ख्यालै नगरी डुवान क्षेत्रको पानी निकासका लागि नाला बनाउन खोजेपछि त्यसले झन् ठूलो जोखिम निम्ताउने स्थानीयको अनुमान छ ।

 

पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ छोरेपाटन स्थित शीतलमार्ग बस्तीमा डुवानको समस्या समाधानका लागि निर्माण गर्न लागिएको नालाले छोरेपाटनको मुख्य बजारक्षेत्र सहित गुफा सम्म जोखिममा पर्ने भन्दै स्थानीयबासी सरोकारवाला निकाय गुहार्न पुगेका छन् ।

 

रानीवनको दक्षिणपट्टि दामोदर खोलाबाट आएको पानीले निर्मलमार्गको बस्ती विगत तीन बर्षदेखि डुवानमा पर्दै आएको छ । यसअघि प्राकृतिक भ्वाङबाट पानीको निकास हुदै आएको क्षेत्रमा प्लटिङ गरिएपछि पानीको वहाब क्षेत्र रोकिएकाले बस्ती डुवानमा पर्दै आएको थियो । सो बस्ती जोगाउन अर्थ मन्त्रालयबाट १ करोड र महानगरपालिकाबाट विनियोजित ६० लाख गरी एक करोड ६० लाख रुपैया लागतमा नाला निर्माणको काम जारी छ ।

 

छोरेपाटन–अमलेमार्ग–डेभिज फल्स भलपानी निकास निर्माण उपभोक्ता समिति अध्यक्ष धर्मराज अर्यालका अनुसार दामोदर खोलाबाट तितेपानी मार्ग, छोरेपाटन प्रहरी चौकी, सिद्धार्थ राजमार्ग हुँदै छोरेपाटन स्कुल र गुप्तेश्वर गुफाको संयुक्त पार्किङस्थलबाट ह्युम पाइपमार्फत खोलामा खसालिने छ ।

 

गुप्तेश्वर गुफा माथिका बासिन्दाले यो योजनाका कारण जोखिम अझै बढाउने भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । गुफा माथिको बस्तीको साथै भविश्यमै गुफालाई पनि असर पर्ने भएकाले सो क्षेत्रको विकल्पमा अन्य स्थान रोज्न उनीहरुको आग्रह छ ।

 

यसअघि अतिजोखिमयुक्त क्षेत्र किटान गरिएको गुफामाथिको बस्ती हुदै डुवान क्षेत्रको पानी निकासको लागि नाला बनाउदा भविश्यमा झन् ठूलो क्षति हुने उनीहरुले बताए । वडाध्यक्ष र निर्माण समितिले वास्ता नगरेको भन्दै स्थानीयवासीले मंगलवार प्रमुख जिल्ला अधिकारी , स्थानिय विकास अधिकारी, नगर विकास समितिका प्रमुख र महानगरका प्रमुखलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् ।

 

गुप्तेश्वर गुफा ब्यवस्थापन समितिका सचिव देवी बहादुर थापाले सिद्धार्थ राजमार्ग निर्माणको क्रममा कलभर्ट राखिएको स्थान पहिचान गरी सोही क्षेत्रबाट निकास निकाल्न उपयुक्त हुने बताए । गुफा जोगाउन करोडौ रुपैया खर्च गर्नुपरेको अबस्थामा बस्तीनै जोखिममा पर्ने गरी पुन सोहि क्षेत्रबाट भलपानी निकासको नाला बनाउन नहुने उनको सुझाब छ ।

 

स्थानीयको ध्यानाकर्षण पत्र बुझेपछि सबै निकायका प्रमुखले स्थलगत अबलोकन गर्ने आश्वासन दिएका छन् । साथै सबैको समहतिमा मात्र काम अघि बढाउनुपर्ने उनीहरुको धारणा छ । भूगोलविद्हरुका अनुसार गुप्तेश्वर गुफा माथि जमिनको सतह जम्मा ५ देखि ६ मिटरको रहेको र त्यसमा ९० सेन्टिमिटरको नाला राख्दा जमिननै भासिने जोखिम छ । बढ्दो बस्ती र अतिक्रमणले गुफा क्षयिकरण हुन थालेपछि संरक्षणका लागि गुफाको एक करोड ७ लाख रुपैया लागत योजनामा काम भैरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?