मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मोदीले भने- नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’

सारांश

  • काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।
  • तीन तहको निर्वाचनपछि नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’  भएको भन्दै उनले नेपालको यो उपलब्धिबाट भारत एकदमै खुसी भएको समेत बताए।
  •  आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गरी नेपाल राजनीतिक इतिहासको नयाँ युगमा प्रवेश गरेको बताएका छन्। तीन तहको निर्वाचनपछि नेपालमा ‘स्वर्णिम अध्याय शुभारम्भ’  भएको भन्दै उनले नेपालको यो उपलब्धिबाट भारत एकदमै खुसी भएको समेत बताए। आजको नागरिक दैनिकमा खबर छ ।

‘गत वर्ष नेपालका जनताले लोकतन्त्र र संघीय व्यवस्थाप्रति फेरि आफ्नो विश्वास व्यक्त गरे। स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नेपाल सरकार र नेपाली जनताको एकदमै ठूलो उपलब्धि हो। नेपालको राजनीतिक इतिहास एक नयाँ युगमा प्रवेश गरेको छ,’ नयाँदिल्लीमा शनिबार नेपाल–भारत द्विपक्षीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच द्विपक्षीय बैठकअघि हैदराबाद हाउसमा करिब एक घन्टा ‘वान अन वान’ (दुई प्रधानमन्त्रीबीच मात्रै) भेटवार्ता भएको थियो। ओली र मोदीबीच शुक्रबार साँझ पनि नयाँदिल्लीमा ‘वान अन वान’ वार्ता भएको थियो। शनिबार ‘वान अन वान’ वार्ता सकिएपछि दुवै प्रधानमन्त्री नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी भएका थिए। बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल भएपछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गरेका थिए।

‘एक छिमेकी मित्रराष्ट्रका नाताले र विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रका रूपमा नेपालको इतिहासमा यस स्वर्णिम अध्यायको शुभारम्भ भारतका लागि पनि एकदमै खुसीको विषय हो,’ भारतीय प्रधानमन्त्री मोदीले भने, ‘सन् २००६ मा सुरु भएको परिवर्तनको यो उत्कर्ष हो । यसका लागि म नेपालका जनता र सरकार दुवैलाई हृदयदेखि नै अभिनन्दन गर्छु  र उनीहरूलाई धेरैधेरै बधाई दिन्छु।’

दुई दिन भएका छुट्टाछुट्टै भेटमा प्रधानमन्त्री ओलीले नेपालको तीव्र आर्थिक विकास र समावेशी समाज निर्माणका लागि ‘बोल्ड भिजन’ आपूmलाई विस्तारमा जानकारी गराएको मोदीले बताए। ओलीको भिजन साकार पार्न भारत कसरी नेपालसँग सहकार्य गर्नसक्छ भन्ने विषयमा पनि छलफल भएको जानकारी उनले दिए।

‘म बुझ्छु भारतको विकासका लागि मेरो ‘सबैको साथ सबैको विकास’ मूलमन्त्र र नेपालका लागि प्रधानमन्त्री ओलीजीको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भिजन एकअर्काका पूरक हुन्। यसैकारण जनकेन्द्रित भिजन, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख, शान्ति र समृद्धिको आशा र अपेक्षालाई साथ लिएर अघि बढ्नपर्छ भन्ने कुरामा हामी दुवै पूर्ण सहमत भएका छौं,’ मोदीले भने। उनले विकासको लक्ष्य प्राप्त गर्न दुवै देशका प्रधानमन्त्रीसँग एउटै भिजन रहेको बताए।

नेपालको विकासमा भारतको सहभागिताको लामो इतिहास रहेको उनले बताए। आउँदा दिनमा पनि नेपालको आर्थिक विकास र समृद्धि प्रयासमा भारतको पूर्ण सहयोग रहने भरोसा आपूmले प्रधानमन्त्री ओलीलाई दिलाएको मोदीले जनाए। ‘सधैंको जस्तै यो सहयोग भविष्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकता र आवश्यकताका आधारमा हुनेछ,’ भारतीय प्रधानमन्त्री मोदीले भने।

शनिबार ‘न्यु कनेक्टिभिटी थ्रु इनल्यान्ड वाटरवेज्’ (अन्तरदेशीय जलमार्गमार्फत नयाँ कनेक्टिभिटी) मा नेपाललाई सहयोग गर्ने भारतले गरेको नयाँ प्रतिबद्धतालाई मोदीले महत्वपूर्ण उपलब्धि बताए। यसलाई उनले प्रधानमन्त्री ओलीसँग भारतले गरेको सहयोगको प्रतिबद्धताको महत्वपूर्ण परिणाम बताए। ‘हाम्रो यो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ र सगरमाथाको देश सीधा सागरसँग जोडिनेछ । मेरो बुझाइमा यो ऐतिहासिक सुरुवात हो,’ मोदीले भने। उनले नेपाल ‘ल्यान्डलिंक’ मात्र नभई ‘बोटलिंक’ राष्ट्र पनि हुने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?