प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४२ पटक हेरिएको
Shares
प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?

सारांश

  • भीष्म थापा टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो ।
  • सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न ।
  • यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए ।
  • भीष्म थापा

टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न ।

यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो( कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा ।

तर बिडम्बना, प्रदेश नं। ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५र ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे ।

कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो ।

यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि ।

माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ ।

तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् ।

यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो ।

को–को पसे मधेस ?

तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे ।

मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो ।

राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैजाने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो ।

माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन्

तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन ।

पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै ।

एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं। २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन ।

माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए ।

माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिक रुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् ।

नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे ।

तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ?

पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु ।

पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ?

अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ( कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन ।

त्यसैले प्रश्न स्वभाविक रुपमा शीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ?

पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ ।

तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ?

हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ– कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन ।

संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ ।

माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ ।

आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ ।

तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ ।

अनलाइनखबरबाट साभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, राष्ट्रपतिको शुभकामना
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना
ट्रम्पले दिए नेपालीलाई नयाँ वर्षको शुभकामना
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक : मुुख्यमन्त्री पाण्डे
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई छ दिन हिरासतमा राख्न अदालतको अनुमति
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए