लमजुङमा कृषि विकास बैंकले काट्यो भूकम्प पीडितको अनुदान
सारांश
- लमजुङका भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको पीडितले गुनासो गरेका छन् ।
- मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्प पीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार ५ सय रुपैयाँ काटेको छ ।
- रकम प्राप्तिका लागि खाता सञ्चालन गर्न ५ सय रुपैयाँ लिइएको बैंकका शाखा प्रवन्धक सूर्यप्रसाद गैरेले स्वीकारे ।
लमजुङका भूकम्प प्रभावितलाई बैंक खातामार्फत अनुदान वितरणका क्रममा रकम कट्टा भएको पीडितले गुनासो गरेका छन् ।
मध्यनेपाल नगरपालिका अन्तर्गतका भूकम्प पीडितलाई रकम वितरण गर्ने क्रममा कृषि विकास बैंक भोर्लेटार शाखाले प्रतिपरिवार ५ सय रुपैयाँ काटेको छ । रकम प्राप्तिका लागि खाता सञ्चालन गर्न ५ सय रुपैयाँ लिइएको बैंकका शाखा प्रवन्धक सूर्यप्रसाद गैरेले स्वीकारे ।
भूकम्प पीडितका लागि आएको अनुदानबाट बैंकले कुनै रकम कट्टा गर्न नपाउने जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए । अनुदान रकम बैंकले लिनु सम्झौता विपरीत भएको उनको भनाइ छ ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र बैंकर एसोसिएसनबीच अनुदान रकम वितरण गर्ने सम्झौता भएको हो’, रेग्मीले भने, ‘सेवा शुल्क बापतको रकम एसोसिएसनले लिएको छ । बैंकले १ रुपैयाँ पनि काट्न पाउँदैन ।’
रकम वितरणसम्बन्धी स्पष्ट निर्देशिका नआएकाले बैकको नियम अनुसार रकम वितरण गरेको दाबी बैक प्रवन्धक गैरेको छ । ‘सूचना सम्प्रेषणमा गल्ती भएको हुन सक्छ, हामीबाट गल्ती भएको छ, भने पीडितको रकम फिर्ता गर्छौ’, प्रवन्धक गैरेले भने ।
जिल्लाका भूकम्प प्रभाविलाई पहिलो किस्ता ५० हजार रुपैयाँ वितरण सुरु गरिएको छ । जिल्लामा स्थानीय तह अनुसार छुट्टाछुट्टै बैंकमार्फत अनुदान दिने व्यवस्था मिलाइएको छ ।
पहिलो किस्ता रकम ५० हजार रुपैयाँ घर निर्माणको आवश्यकता अनुसार उपयोग गर्ने र घरको जग निर्माण कार्य सम्पन्न गरेपछि मात्रै दोस्रो किस्ता ८० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।
त्यस्तै छाना छाउने तहसम्मको कार्य सम्पन्न गरेपश्चात् तेस्रो किस्तामा सबै रकम भुक्तानी हुनेछ ।
प्रतिक्रिया