रक्षामन्त्रीकाे ‘छाता’ प्रकरण: स्वकीय सचिवले खुलाए राज
सारांश
- काठमाडौं, १७ भदाै ।
- बिमस्टेकको सम्मेलनमा भाग लिन आउने क्रममा अतिथि सत्कारको जिम्मा पाएका थिए उपप्रधानमन्त्री ईश्वर पोखरेलले ।
- पोखरेलले थायल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा उनलाई सेनाले छाता ओडाएका थिए ।
काठमाडौं, १७ भदाै । बिमस्टेकको सम्मेलनमा भाग लिन आउने क्रममा अतिथि सत्कारको जिम्मा पाएका थिए उपप्रधानमन्त्री ईश्वर पोखरेलले । पोखरेलले थायल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा उनलाई सेनाले छाता ओडाएका थिए । तर, थाइल्यान्डका प्रधानमन्त्रीले भने आफैले छाता समाएका थिए । यो तस्विरको विषयमा तुलाना गर्दै सामाजिक सञ्जालमा पोखरेलको निकौ आलोचना भएको छ । तर, आइतबार बिहान पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले त्यसको प्रतिवाद गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । स्टासमा उनले नियत बाङ्गो भएकाहरुले गरेको कु प्रचार भन्दै यसरी स्पष्टिकरण दिएका छन्-
‘लेख्नै पर्ने भएपछि लेख्दैछु, तल राखिएको फोटोका बारेमा एक प्रत्यक्षदर्शीको हैसियतले यथार्थ घटना जानकारी गराउन खोज्दैछु ।
विमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना (राष्ट्रपति र प्रधानमन्त्री) हरुलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत/विदाई गर्ने सरकारको योजना बमोजिम २०७५ भाद्र १५ गते पनि उहाँसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित हामी दिउँसो १२.३० बजे विमानस्थको विशिष्ट व्यक्तित्वलाई स्वागत र विदाई गर्ने स्थलमा पुगिसकेका थियौं ।
दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई विदाई गरेपछि १.३० बजे थाइल्याण्डका प्रधानमन्त्र चाङ–ओ–चा निर्धा्रित समयमै विमानस्थल पुग्नुभयो । उहाँलाई गाडिबाट स्वागत गरी सम्मान गर्ने स्थलमा पैदल स्कर्टिङ गरिरहँदा एक्कासी सिमसिमे पानी पर्यो ।
मौसममा आउने सामान्य परिवर्तनले यस्तो विशिष्ट व्यक्तिका लागि निर्धा्रित तालिका र व्यवस्थालाई परिवर्तन गरेर ‘एकछिन रोकौं’ भन्ने कुरा भएन, पैदल स्कर्टिङ अगाडि बढिरह्यो । यही निमेषमै एकजना नेपाली सेनाका साथीले एउटा छाता लिएर आउनुभयो, र उपप्रधानमन्त्रीज्यूले स्वभाविक हिसाबले अतिथि थाइल्याण्डका प्रधानमन्त्रीलाई ओडाईदिन निर्देशन दिनुभयो र सेनाका ती साथीले सोही गर्नुभयो । सेनाका ती साथीभन्दा थाइल्याण्डका प्रधानमन्त्री अग्लो भएकाले छाता ओडाई अलि अप्ठ्यारो भएपछि थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता आफै बोक्नुभयो र यात्रा अगाडि बढ्यो ।
यत्तिकैमा नेपाली सेनाका अरु साथीहरुले पनि केही छाता बोकेर पछाडिबाट कुदेर आउनुभयो र उपप्रधानमन्त्री सहित अन्य महानुभावहरुलाई पानीबाट जोगाउन प्रयास गर्नुभयो । विदाई कार्यक्रममा फोटोमा देखाइएका भन्दा अरु धेरै जना उच्च तहका नेपाल तथा थाइल्याण्डका पदाधिकारीहरुको उपस्थिति थियो । यद्यपी व्यक्तिलाई रुझाउने खालको पानी अवश्य थिएन, मसिनो सिमसिम पानी परिरहेको थियो । विदाई गर्ने स्थलमा पुगेपछि उपप्रधानन्त्रीज्यूले पाहुनालाई फूलको गुच्छा प्रदान गरी विदाई गर्नुभयो ।
फूलको गुच्छा लिने बेलामा पाहुना थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता फेरि नेपाली सेनाका साथीलाई सुम्पनुभयो र फूल स्वीकारी अगाडि तयार भइसकेको स्कर्टसहितको गाडि चढ्नुभयो । राष्ट्रको औपचारिक समारोह भएकाले पत्रकार तथा क्यामरापर्सनहरु प्रशस्त तयारी अवस्थामा हुनुहुन्थ्यो र सम्पूर्ण घटना क्यामेरामा कैद गरिरहनु भएको थियो । लेख्दा लामो भएपनि यो विवरण लगभग १० सेकेण्डभित्रको घटना हो ।
यही निमेषको घटनामा खिचिएका सयौं फोटोमध्ये एक फोटोमा आधारित भएर समग्र व्यक्तिको चरित्रसँग तुलना गरेर फेसबुकमा चासोहरु व्यक्त भइइरहे । यो स्पष्टीकरण हाम्रा असल नियतका साथीहरुका लागि सम्प्रेषण गरिएको हो, जो यथार्थ जानकारी नहुँदा फेसबुकमा आएका तुच्छ शब्दहरुबाट दुःखित तर डिफेन्सिभ हुनुभएका छन् ।
नियत नै बांगा भएका महानुभावहरुलाई यो समय खर्चनु आवश्यक थिएन र खर्चेको पनि हैन । मसिनो घटनालाई अतिरञ्जित गरि प्रस्तुत गर्ने र त्यसलाइै विश्वास गर्ने महानुभावहरुप्रति रिस हैन, दया लागेको छ र चिन्ता पनि लागेको छ – हाम्रो समाजमा यस्ता महानुभावहरुको उपस्थिति छ भनेर ।’
प्रतिक्रिया