शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
३३४ पटक हेरिएको
Shares
शव व्यवस्थापन गर्न नसक्दा शव कुल्चँदै हिमाल आरोहण गर्दा कुल्चनु पर्ने बाध्यता

सारांश

  • धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए।
  • तर एकाएक झस्किए।
  • आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो।

धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने।

अघिल्लो वर्ष मे १८ मा ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि चुचुरो चुमेका थिए उनले। ‘विदेशी नागरिकको यो शव करिब २० वर्ष पुरानो होला। ‘ती पर्वतारोही पनि मजस्तै उत्साहित भएका थिए होलान् चुचुरो चुम्दा’, पायोनियर एडभेन्चर ट्रेक प्रालि आरोही दलका प्रमुख लाक्पा शेर्पाले भावुक हुँदै सम्झे, ‘लमतन्न परेर ढलेको अन्दाजी ४५/५० वर्षका लाग्ने विदेशीको मृत शरीर देखेपछि मन खङ्ग्रङ्ग भयो।’

समस्या हिमालमा ढलेको विदेशी आरोहीको एउटा शवको मात्र हैन, अहिले आरोहण अनुमति दिइएका अधिकांश आठ हजार मिटरभन्दा अग्ला हिमालमा यस्तै बेवारिस शव बग्रेल्ती छन्। लाक्पा भन्छन्, ‘हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा ठाउँठाउँमा शव कुल्चनुपर्ने अवस्था छ।’

विदेशी र नेपाली आरोहीका शव हिमालमा त्यत्तिकै छन्। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्तै शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्कँदै मन खिन्न पार्छन्।

पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष अर्का आरोही लाक्पा शेर्पाले चार वर्षअघि आफूसँगै आरोहणमा हिँडेका दोस्रो टोलीका तीनजना चिनियाँ धौलागिरि हिमालमै हराएको दुःखद् घटना सुनाए। ‘ती चिनियाँको शव खराब मौसामले गर्दा ल्याउन सकिएन, हिमालमै रह्यो’, उनले भने।

हिमाल विशेषज्ञसमेत रहेका उपाध्यक्ष लाक्पा कमजोर सुरक्षा विधिका कारण हिमालैभर आरोहीको शव देखिने अवस्था आएको बताउँछन्। हिमालमा रहेका वेवारिस शवको व्यवस्थापन नहुँदा समस्या भएको स्वीकार गर्दै उनले भने, ‘मन्त्रालय र विभागले प्राथमिकता दिएर शव ल्याउनुपर्छ।’

आठ हजार मिटरमाथिको क्षेत्रलाई ‘डेड जोन’ (कालभूमि) मानिन्छ। हिमालमा चढ्दा स्वयं सतर्क नहुनु, कम्पनीका सहयोगी र गाइड दक्ष नहुँदा मृत्यु हुने आरोहीको संख्या बढेको उनको भनाइ छ।
अन्नपूर्ण पोष्ट दैनिक बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?