अन्तरप्रदेश परिषद् बैठकको तयारी पुरा
सारांश
- काठमाडौं, २२ मंसिर ।
- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद्को बैठकको तयारी पुरा भएको जनाएको छ ।
- आइतवारबाट प्रधानमन्त्री कार्यालयमा परिषद्को पहिलो बैठक बस्दैछ ।
काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अन्तरप्रदेश परिषद्को बैठकको तयारी पुरा भएको जनाएको छ । आइतवारबाट प्रधानमन्त्री कार्यालयमा परिषद्को पहिलो बैठक बस्दैछ । संविधानको धारा २३४ अनुसार संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधानका लागि अन्तरप्रदेश परिषद् गठन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषद्मा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य रहनु भएको छ । परिषद्को बैठक यसअघि भदौ २४ गतेका लागि बोलाइएको थियो तर तयारी पूरा नभएको भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
प्रधानमन्त्री ओली लगातार व्यस्त भएपछि बैठक बस्न सकिरहेको थिएन । प्रदेशमा ऐन कानुन बनाउनुदेखि कर्मचारी तथा अधिकार बाँडफाँटको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारसमक्ष गुनासो गर्दै आइरहेका छन् ।
परिषद्को बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्रीको कार्यालयका सचिव समेत उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।
प्रतिक्रिया