अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अन्नपूर्ण पदमार्गमा धर्म र पर्यटनलाई जोड्दै पूजनीयम बराह

सारांश

  • पोखरा, ६ कात्तिक :  पर्यटकीय पूर्वाधार बोकेको अन्नपूर्ण पदमार्ग क्षेत्रमापर्ने पूजनीयम बराह यस क्षेत्रको अति प्राचीन धार्मिक एवं पर्यटकीयस्थल हो ।
  • अत्यन्त श्रद्धा एवं विश्वासका साथ यस बराह मन्दिरमा अन्नपूर्ण गाउँपालिका वडा नं ११ र आसपासका स्थानीयवासीले प्राचीनकालदेखि पूजाआजा गर्दै आएका छन् ।
  • स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति, भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङका अनुसार पूजनीयम बराह र आसपासका क्षेत्रलाई अत्यन्त पवित्र स्थलका रुपमा लिने गरिएको छ ।

पोखरा, ६ कात्तिक :  पर्यटकीय पूर्वाधार बोकेको अन्नपूर्ण पदमार्ग क्षेत्रमापर्ने पूजनीयम बराह यस क्षेत्रको अति प्राचीन धार्मिक एवं पर्यटकीयस्थल हो ।

अत्यन्त श्रद्धा एवं विश्वासका साथ यस बराह मन्दिरमा अन्नपूर्ण गाउँपालिका वडा नं ११ र आसपासका स्थानीयवासीले प्राचीनकालदेखि पूजाआजा गर्दै आएका छन् ।

स्थानीय समाजसेवी एवं संरक्षण व्यवस्थापन उपसमिति, भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङका अनुसार पूजनीयम बराह र आसपासका क्षेत्रलाई अत्यन्त पवित्र स्थलका रुपमा लिने गरिएको छ ।

“बराहकै कारण अन्नपूर्ण पदमार्ग क्षेत्रको सिन्ह्वादेखि अन्नपूर्ण आधार शिविरसम्म नै मासुको प्रयोजनका लागि बंगुर, कुखुरा, गाई, भैँसी ल्याउन पाइँदैन”– उहाँले भन्नुभयो, “स्वदेशी एवं विदेशी पर्यटक वा अन्य जो कोहीले यस्ता बस्तु लुकाएर ल्याउने प्रयास गरेमा अनिष्ट हुने गरेका पर्याप्त प्रमाणसमेत छन् ।”

पूजनीयम बराहका कारण नै पदयात्रामा जाने पर्यटकले सिन्ह्वादेखि माथि अन्नपूर्ण आधार शिविरसम्मको लगभग दुई दिनको पदयात्रा मार्गमा बंगुर, कुखुरा, भैँसी आदिको मासु खान नपाउने गरेको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वर्षको ज्येष्ठ शुक्ल पूणिमामा विशेष पूजाआजा हुने पूजनीयम बराहमा उक्त समयमा भेडाको बलि चढ्ने र त्यसलाई स्थानीयवासीले प्रसादका रुपमा खाने गरेको उहाँले बताउनुभयो ।

पूजनीयम बराह पत्ता लागेको सम्बन्धमा रोचक किंवदन्ती जनजिब्रोमा प्रचलित छ ।

परापूर्वकालमा घान्द्रुकमा बस्ती बसेपछि त्यहाँबाट भेडापालनका लागि लेक खोज्दै मोदी खोला(अन्नपूर्ण हिमालबाट झरेको खोला)को किनार किनार भेडा लिएर गोठाला पूजनीयम बराहको थान भएको ठाउँमा आएछन् ।

त्यहाँ आउनासाथ दिउँसो नै रातमा जस्तो अन्धकार भएछ । भेडाहरू त्यहाँबाट माथि जान मानेनछन् र उनीहरूको आवाज पनि एकाएक बन्द हुनुका साथै ठूलो असिना पानी परेछ । गोठालाले भेडा फर्काएर दोभानसम्म लगेछन् र यस्तो किन भयो भनि खोजविन गर्दा त्यहाँ पूजनीयम बराहको थान रहेको र त्यसको पूजाआजा गरेर मात्र भेडा माथि लैजान सकिने ज्योतिषीको सल्लाह पाएछन् ।

उपाध्यक्ष गुरुङका अनुसार त्यसयता भेडीगोठ लैजाँदा बराहको पूजाआजा गरेरमात्र लैजाने प्रचलन रहेको छ । हाल बराहको मन्दिर अत्यन्त सामान्यरुपमा रहेको उल्लेख गर्दै उहाँले स्थानीय सक्रियतामा मन्दिरलाई थप व्यवस्थित गरिने बताउनुभयो ।

बराहकै कारण आसपासका क्षेत्रमा सरसफाइ समेतलाई दृष्टिगत गरी सिन्ह्वाभन्दा माथि खच्चड पनि नल्याउने गरिएको अर्का समाजसेवी जगनबहादुर गुरुङ (ब्ल्याक टि)ले बताउनुभयो ।

पूजनीयम बराह धार्मिक दृष्टिले यस क्षेत्रकै अत्यन्त महत्वपूर्ण तीर्थस्थल भएका कारण यसलाई थप व्यवस्थित बनाउने दीर्घकालीन सोचका साथ विकास निर्माणका कामलाई अघि बढाउने अन्नपूर्ण गाउँपालिका वडा नं ११ का अध्यक्ष हिमबहादुर गुरुङको भनाइ छ ।

“पूजनीयम बराहको धार्मिक महत्वलाई दृष्टिगत गरी यसलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने हाम्रो सोच छ” – उहाँले भन्नुभयो । बराह मन्दिरका साथै यहाँबाट नजिकै खोलापारि देखिने १०८ धारासमेतलाई समेटेर यसको उचित व्यवस्थापन गरी धार्मिक पर्यटकीय स्थलकारुपमा विकासका लागि पहल अघि बढाउने सोच राखिएको पर्यटन व्यवस्थापन समिति छोम्रोङका अध्यक्ष इन्द्रमणि शर्माले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?