आईजीपीसहित विपक्षीका नाममा कारण देखाउ आदेश
सारांश
- काठमाडौं, पुस १३ ।
- समाचारको स्रोत माग्दै मिडिया हाउसलाई पत्राचार गर्ने प्रहरी कदमविरूद्ध उच्च अदालत पाटनमा दर्ता भएको रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
- मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा आज भएको सुनुवाइमा अदालतले विपक्षीलाई छलफलका लागि बोलाएको छ ।
काठमाडौं, पुस १३ । समाचारको स्रोत माग्दै मिडिया हाउसलाई पत्राचार गर्ने प्रहरी कदमविरूद्ध उच्च अदालत पाटनमा दर्ता भएको रिट निवेदनमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा आज भएको सुनुवाइमा अदालतले विपक्षीलाई छलफलका लागि बोलाएको छ ।
अदालतले बिहीबार निवेदकको मागबमोजिम आदेश जारी किन नगर्ने भन्दै विपक्षी बनाइएका प्रहरी, मुख्यसचिवलगायत नौ जनालाई आगामी १८ गते अदालतमा हाजिर हुन बोलाएको हो । विपक्षीहरुलाई १८ गते मंगलबार ११ बजे अदालतमा हाजिर हुन आदेशमा भनिएको छ ।
काठमाडौं प्रहरी परिसरले केही दिनअघि पूर्वडीआईजी नवराज सिलवालसँग सम्बन्धित कार्यसम्पादन मूल्यांकनसहित कागजात उपलब्ध गराउन तथा स्रोतसमेत खोल्न भन्दै पाँच अनलाइनका सम्पादकहरूलाई पत्र काटेको थियो । प्रेस स्वतन्त्रता र गोपनियताको हकलाई सिधै हनन हुने गरी प्रहरीले पत्र काटेपछि सुशासनन्युज डटकमका मदन भण्डारी र मूलधारन्युज डटकमका रवि धामीले रिट निवेदन दायर गरेका हुन् ।
अदालतले आदेश जारी गर्दै पत्रकारहरुको मागबमोजिम अन्तरिम आदेश जारी गर्ने सम्बन्धमा विपक्षीहरुलाई हाजिर हुने आदेश गरेको हो । निवेदकका तर्फबाट अधिवक्ताहरु विकास भट्टराई, स्वागत नेपाल, सुनिलरञ्जन सिंह, कपिलदेव ढकाल र राधिका खतिवडाले बहस गरेका थिए ।
रिटमा पत्रकारहरूलाई समाचारको स्रोत खोल्न बाध्य पार्ने किसिमको गतिविधि नगर्न नगराउन, पत्रकारहरूको कल डिटेल खोजी गरी अनुसन्धान गर्ने कार्य बन्द गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।
प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा समाचार लेखेकै भरमा समाचारको गोप्यता खोल्न लगाउने, कागजातहरू उपलब्ध गराउनु भन्ने विषयका पत्रहरू नपठाउनु, पठाउन नलगाउनु, त्यस्तो खालको निर्देशन नदिनु भनी विपक्षीहरूका नाममा प्रतिशोधको आदेश जारी गर्न निवेदनमा माग गरिएको छ ।
Prithvi Raj Subedi
esko matlab yo ho ki samachar sahi nabhai propoganda thiyo