उत्तरी सिमानामा अर्को ठूलाे प्रहार ! खै हाम्रो पिलर न ५७ ? स्थलगत रेपोर्टिङ
सारांश
- –सुभक महतो लाप्चीबाट फर्केपछि (दोलखा) ।
- दुई ठूला देशको बीचमा भूपरिवेष्टित मुलुकको रुपमा रहनुको पीडा, त्यो पनि सानो र कमजोर देशको मुलुकका रुपमा ।
- हो, त्यही पीडाका बीच कैयौं यस्ता पीडा छन् ती वाहिर सार्वजनिक नै भएका छैनन् ।
–सुभक महतो
लाप्चीबाट फर्केपछि (दोलखा) । दुई ठूला देशको बीचमा भूपरिवेष्टित मुलुकको रुपमा रहनुको पीडा, त्यो पनि सानो र कमजोर देशको मुलुकका रुपमा । हो, त्यही पीडाका बीच कैयौं यस्ता पीडा छन् ती वाहिर सार्वजनिक नै भएका छैनन् । ती पीडाले कुनै बहसको स्वरुप नै पाएको छैन । सीमामा देखिएको विवाद हाम्रो लागि नौलो विषय भने पक्कै होइन । दक्षिणतिर भारतले सीमा मिचेको र सामान्य अन्तरदेशीय मान्यता समेत उलंघन गरेको खबर जति सार्वजनिक हुन्छ, त्यसको तुलनामा उत्तरतिर अर्थात् चीनसँगको सीमामा त्यस्तो खवर खासै आउँदैन । यसको मतलव यो होइन कि उत्तरी सीमामा कुनै समस्या नै छैन । यो सब ठीकठाक देखिएको एउटै कारण हो उत्तरी सीमामा यो देशको उपस्थिति नभएर ।
उत्तरमा सीमा विवाद ?
देशको भूगोल देशको माटो । जससँग नागरिकको भावनात्मक सम्वन्ध जोडिएको हुन्छ । त्यसैले त, हेक्टरौं हेक्टरमा होइन, केही हात सीमा मिचिंदा पनि त्यो दुई देशबीचको किचलो र विवादको विषय बन्छ । यत्ति हो, शक्ति सम्पन्न मुलुकका अगाडि साना मुलुकहरु निरीह वन्छन् । नेपाल भारत सीमा विवाद त्यसकै उदाहरण हो । जहाँ सँधै किचलो हुन्छ । सीमा मिचिएका खबर पटक÷पटक दोहोरिन्छन् । तुलनात्मक रुपमा यस्तो विवाद चीनतिरको सीमाबाट कमै मात्र सुन्नुपर्छ । यद्यपि उत्तरतर्फको सीमा पनि विवादरहित भने छैन । नेपाल–चीन सीमाका कयौं ठाउँमा विवाद छन् । कयौं सीमा स्तम्भ बेपत्ता भएका छन् ।
नेपाल–चीन सीमाको लम्बाइ १ हजार ४ सय १४ किलोमिटर छ । पूर्वी सिमा सिक्किमदेखि पश्चिमी सिमा लिपुलेकसम्म ९८ वटा सीमा स्तम्भ बनाइएका छन् । तीमध्ये ३७, ३८, र ६२ नम्बरका स्तम्भ हराएका छन् । अनि पिल्लर नम्वर ५७ मा विवाद छ । त्यहाँ १९७८ मा सीमांकन हुँदैदेखि स्तम्भ भेटिएको थिएन । यी मध्ये ५७ नम्बरको पिलरमा सबै भन्दा वढी समस्या देखिएको छ । दोलखाको लामाबगरबाट पूर्वतर्फको लाप्ची स्थित कोर्लाङपारिको टुप्पोमा हुनुपर्ने स्तम्भ पहाडको फेदमा सरेको छ । सन् १९७८ मा सीमांकन गर्न जाँदा उक्त स्तम्भ भेटिएको थिएन । नेपाल–चीन सन्धी अनुसार त्यहाँ टुप्पो थियो । तर, अहिले त्यस्तो भेटिंदैन । जस मध्येको एक हो, पिल्लर नम्वर ५७ । आखिर ५७ नम्बर सीमा स्तम्भको विवाद र त्यस भित्रको यथार्थ के हो ? हामी त्यसको अर्थात बुझ्नका लागि पिल्लर भएकै स्थानसम्म पुगेका छौं ।
हो, निकै ठाउँमा विवाद छ चीन नेपालबीचको सिमानामा । एउटा मात्रै होइन, झण्डै आधा दर्जन सीमा स्तम्भ गायव छन् । पूर्वको पिलर नम्वर ५७ बाहेक पश्चिमी भागमा पर्ने पिलर नम्वर ३७ र ३८ मा पनि विवाद छ । उत्तरी सीमा क्षेत्र लाप्ची पुग्दा देखिएको दृश्य र गायव भएको पिल्लर नम्वर ५७ को यथार्थले यो देशको अस्थित्वमाथि प्र्रश्न उठाइरहेको छ ।
खोजी ५७ नम्बरको !
दोलखा जिल्लाको लामाबगर र त्यही लामाबगरको छेउमै सुसाईरहेको छ तामाकोशी । त्यही तामाकोशीको किनारै किनार दुई दिनको पैदल दुरीमा पर्छ लाप्ची गाउँ । लाप्ची अहिले बिगु गाउँपालिकाको वडा नम्बर १ मा पर्छ ।
लामाबगरबाट करिब ४० किलो मिटर पूर्वमा पर्छ लाप्ची । र, लाप्चीबाट करिब दुई तीन घण्टाको पैदल दुरीमा रहेको छ, नेपाल चीनको सीमावर्ती क्षेत्र । हामीलाई पिल्लर नम्बर ५७ मा पुग्नु थियो । र, त्यहाँ के छ त्यसको स्थलगत रिपोर्टिङ गर्नु थियो । त्यही भएर हामी सरासर उक्त हिमाली क्षेत्रको पठार उक्लियौं ।
यो ठाउँबाट केही घण्टा हिडेपछि हामी आइपुग्यौं माथिल्लो लाप्ची । हामी यहाँ आइपुग्दा पुरै बस्ती नै सुनसान थियो । लाग्थ्यो त्यहाँ मानिस नै वस्दैनन् ।
हामी जति जति माथि उक्लिदै थियौं । यात्रा त्यति नै गाह्रो हुँदै थियो । बाटोमा कोही देखिदैन थियो । मनमा डर पनि थियो । केही भइहाल्यो भने के गर्ने ? कसरी फर्किने ? लेक लागेर वा अन्य कुनै स्वास्थ्य समस्या आए के गर्ने ? यस्ता कयौं प्रश्नहरु मनमा उब्जिए पनि हामीलाई गन्तब्यसम्म पुग्नु थियो । बीच–बीचमा केही मानवीय गतिविधीको अवशेष भेटिंदा पनि राहत मान्नुपर्ने अवस्था थियो । यात्रा गर्दै गर्दा बीच बाटोमा भेटिएको त्यहाँका स्थानीय कुल देबताको मन्दिर अर्थात् गुम्बा । धार्मिक आस्थाको धरोहर त्यो गुम्बालाई एक फन्को लगाएर हामी आफ्नो लक्ष्यतिर लाग्यौ ।
गुम्बा पार गरिसक्दा हामी समुन्द्रि सतहबाट करिब साढे चार हजार मिटरको उचाईमा पुगिसकेका थियौँ । तामाकोशीको किनारै किनार, अप्ठ्यारो बाटो, पहिरोको जोखिम, लेक लाग्ने सम्भावना जोखिम पनि कति थिए कति । यी सबै जोखिम र अप्ठ्याराका बाबजुद हामी पुग्यौ चीन नेपालको सिमाना छुट्याउने पिल्लर नम्बर ५५ मा ।
हो, यही भागबाट सुरु हुन्छ चीनको तिब्बती भुभाग । र, केही राहत महसुस गर्दै हामी पिल्लर नम्बर ५५ बाट ५६ नम्बर तर्फ लाग्यौं ।
५५ पछि भेटियो पिल्लर नम्बर ५६ । जसको स्थापना २०६३ सालमा भएको उल्लेख छ ।
यो स्थानको रिपोर्टङ गर्न सहज छैन । तिव्र वेगमा चलेको हावाको गति । समुद्री सतहबाट ५ हजार मिटरको उचाई । यो भन्दा अझै माथि पर्छ पिलर नम्वर ५७ । हामी ५६ नम्बर पिल्लरबाट ५७ नम्बर पिल्लरको खोजिमा उक्लिन थाल्यौं । तर, कोर्लाङपारीको टुप्पैसम्म पुग्दा कुनै पनि स्थानमा पिल्लर नम्बर ५७ भेटिएन । जसरी अरु पिलरहरु एकपछि अर्को भेटिएका थिए, त्यसरी नभेटिएपछि नै पुष्टि भैसकेको थियो कि, पिलर नम्वर ५७ मा पक्कै गडवडी छ । तैपनि अर्को दिशाबाट हेर्दा देखिने ठाउँमा पो छ कि, भनेर यकिन गर्नुपर्ने अवस्था थियो र हामी पुनः लाप्ची तर्फ फर्किंयौं ।

हामी लाप्ची यस कारण फर्कियौं कि, त्यसभन्दा माथि जाने भौगोलिक अवस्था थिएन । सीमा स्तम्भको यथार्थ वुझ्न अर्को ठाउँ सम्म जानका लागि अव अर्कै बाटो प्रयोग गर्नु पथ्र्यो । त्यो जोखिम पनि मोलेका छौं हामीले । सीमामा दुखेको घाउ । त्यस्तो घाउ भन्ना साथ धेरैको मनमा दक्षिणी छिमेकी भारतको नाम आउँछ । देशमा उ जति ठूलो छ, चित्तमा निकै सानो ब्यवहार देखाउँछ भारत । त्यसैले त दर्जनौं ठाउँमा हाम्रो भूमि मिचेको र हेपाहा प्रवृत्ति देखाएको विषय खवर वन्ने गर्छ । तर यो समस्या चीनसंगको सिमानामा पनि छ । त्यही भएर हामी उत्तरी सीमाको एउटा यथार्थ देखाइरहेका छौं । जब हामीले पिलर नम्वर ५७ भेटेनौं, त्यसपछि अर्को बाटोबाट उक्लिन थाल्यौं वास्तविकता वुझ्न ।
दोस्रो दिन पनि…
लाप्चीबाट पहिलो दिन हामीले पिल्लर नम्बर ५७ खोज्दा नभेटेपछि दोस्रो दिन त्यही अभियानमा लाग्यौं । र, दोस्रो दिन पिल्लर नम्बर ५५ र ५६ को बाटो नभएर ५८ र ५९को बाटो भएर हिंड्यौं पिलर नम्वर ५७ खोज्न ।
दोस्रो दिनको यात्रा पहिलो दिनको तुलनामा झनै जोखिमपूर्ण । चिसो पनि त्यस्तै ।
हिजोको यात्रा समुद्री सतहबाट साढे पाँच हजार मिटरको उचाईसम्म थियो । आजको यात्रा सम्द्री सतहबाट ५ हजार ७ सय मिटरसम्मको हुने छ । यससंगै जोखिम वढी भए पनि हामी अग्ला हिमालहरुसँग साक्षात्कार गर्दै उक्लिदै थियौं । ठाउँ ठाउँमा हिउ पनि देखिन्थ्यो, जसले गर्दा थकानका वावजुद हाम्रो यात्रालाई केही रामाञ्चीत पनि बनाएको थियो ।
करिब चार घण्टाको हिडाईपछि पारी चीनमा रहेको हिमाल देखियो । तर हाम्रो खास खोजीमा रहेको पिलर नम्वर ५७ भेटिने कुनै छनक देखिएन । वरु उकालो उक्लँदै गर्दा श्वास फुल्दै थियो ।
चीनको तिब्बतबाट आउने तामाकोशी । जसलाई स्थानीय भाषामा तिब्ती खोला पनि भनिन्छ । यही खोलाको किनारै किनार हामी अघि बढ्दै थियौं । चिसोले कठ्याङ्ग्रिएका थियौं हामी । र, यतिवेला दिउँसोको दुई बज्नै लागेको थियो । त्यतिकैमा एउटा ठूलो ढुंगाको मुनि सानो पिल्लर देखियो ।
उक्त पिल्लर देखिएपछि मन खुशीले गदगद भयो । कारण, गन्तब्य नजिक छ भन्ने लाग्यो । तर यो पिलर नम्वर ५७ थिएन, ५८ थियो ।
हो, तिब्ती खोला वारी पिल्लर नम्बर ५८ पर्छ भने तिब्ती खोलाको पारी पिल्लर नम्बर ५९ छ । यो भन्दा माथि पनि पिलर हुने संभावना कायमै रहेकाले यहाँबाट फेरी माथि तिर लाग्यौं हामी । पिल्लर नम्बरको ५७ खोज्दै ।
अवको यात्रा समुद्री सतहभन्दा ५ हजार ७ सय मिटरको उचाईमा भएको कारणले अत्यन्तै जोखिम थियो । जहाँ बोल्न पनि गाह्रो हुन थालिसकेको थियो । करिब दुई घण्टा हामीले नक्सामा रहेको स्थानमा पिल्लर नम्बर ५७ खोज्यौं । तर त्यहाँ पनि पिल्लर नम्बर ५७ पाइएन ।
माथि उच्च हिमाली भेग भएकाले त्यस ठाउँमा धेरै समय विताउन गाहे थियो । त्यहि भएर हामी फेरी पिल्लर नम्बर ५८ कै बाटो भएर तल्ल आइपुग्यौं ।
यो खवर नयाँ होइन । हो, पिल्लर नम्बर ५७ लाई लिएर नेपाल चीन बीच विवाद छ । तर, विवाद मात्रै भन्दा पनि त्यहाँ उक्त पिलर अस्तित्वमै छैन ।
देशको माटोसंग नागरिकको भावना जोडिएको हुन्छ । त्यही भएर थोरै सीमा मिचिंदा पनि त्यो विवादको विषय वन्छ । तर नेपालको सीमा समस्या अन्तरदेशीय मुद्दा नै वन्न सकेको छैन । छ त केवल नागरिक तहमा रहेको असन्तुष्टि मात्रै । सीमा मिचिदा नागरिक आक्रोशित हुन्छन्, उस्तै परे भीड्न पनि तयार हुन्छन् । कति स्थानमा सीमा मिचिदा त्यहाँका नागरिकले छातीमा गोली समेत नथापेका होइनन् । तर यही विषयमा राज्य सधैँ मौन देखिन्छ । आम नागरिकले थाहा पाउने गरी राज्यले एक शव्द बोलेको कतै सुनिदैन । यद्यपी यस्तै अवस्थाका बीच उत्तर तिरको सीमा स्तम्भ गायव भइरहँदा हामीले त्यस भेगका स्थानीय जनप्रतिनिधीहरुको प्रतिक्रिया पनि माग्यौ ।
जनप्रतिनिधीको जवाफ
उत्तरी छिमेकी चीनले दोलखा जिल्लाको लाप्चीस्थित पिलर नम्बर ५७ नेपाल तर्फ सारेको यथार्थ पहिले नै पुष्टि भइसकेको छ । तर अव त्यही सारिएको पिलरको पनि अवशेष छैन । जुन कुरा हामीले स्थलगत रिपोर्टिङको क्रममा पनि थाहा पाइसकेका छौँ । अब उक्त पिल्लर नै गायव भएपछि त्यसको समाधान के होला ? त्यो कुरा बुझ्नका लागि हामी सुरुमा बिगु गाउंपालिकाको कार्यालय सिंगटी पुग्यौं । हामीले त्यहांका जनप्रतिनिधीलाई नेपाल चीनबीचमा हुनुपर्ने एउटा पिलर नै गायव भएको यथार्थवारे जानकारी गरायौं र प्रतिक्रिया माग्यौं । तर उनीहरुसंग पनि के नै जवाफ हुन्थ्यो र । सीमा सम्बन्धी कुरा गाउंपालिकाको अधिकार र दायरामा नपर्ने र ५७ नम्बरको पिल्लर चीनले गायब गरेको थाहा भएको प्रतिक्रिया दिए बिगु गाउँपालिकाका उपाध्यक्ष संजिव ओलीले र भने ‘‘त्यहाँको बारेमा हामीलाई केही पनि जानकारी छैन ।’’ उनको यो जवाफ पछि प्रदेशसभा सांसद् पशुपति चौलागाईलाई भेट्न पुग्यौं हामी । उनी भन्दै थिए, ‘‘ तपाईहरु पिलर नम्वर ५७ को मात्रै के कुरा गर्नुहुन्छ, देशको थाहा पाउनु पर्ने निकायको जिम्मेवारी लिएकाहरुलाई लाप्ची भनेको नेपालमै पर्छ भन्ने सम्म पनि थाहा छैन ।’’
उनले यो पनि थपे कि पिलर नम्वर ५७ गायव भएको निकै वर्ष भयो । तर सम्वन्धित निकाय र सरकार थाहा नपाए जस्तो गरिरहेको छ । कतैबाट पुनः राख्ने प्रयास नै भएको छैन । हामी चाहन्छौं यस बारेमा सरकारले क्ुटनीतिक ढंगबाट पहल गरोस । तर, प्रतिनिधी सभासांसद् पार्वत गुरुङले भने उक्त सिमा स्तम्भ बारे फरक मत राखे । उनको भनाई थियो ‘‘ ५७ नम्बरको पिल्लर यत्तिकै नेपालतर्फ सरेको या हराएको होइन, चीनले नै नियतवस गायब बनाएकै हो ।’’ उनको तर्क छ ‘‘ चीनसँग यो विषयमा बोल्न सरकारले हिम्मत नै गर्न सक्दैन ।’’
राज्य आफै यस्तो निरिह अवस्थामा पुगेपछि त्यही राज्यका दुरदराजका नागरिकको हैसियत नै के हुन्छ र ? मन त पोलेको छ, पीडा भएको छ, सही नसक्नु हुन्छ त्यहाँका नागरिकलाई तर के गर्नु साथ दिनु पर्नेले थाहा नपाएको जस्तो गरिदिए पछि । हो, तुलनात्मक रुपमा दक्षिणतिर जस्तो समस्या छैन उत्तरमा । तर, यो आवरणको मात्रै कुरा हो । ब्यवहारमा पीडा उत्तरमा पनि छ । सीमा उत्तरमा पनि मिचिएको छ । अवस्था यस्तो छ कि, चीन तर्फको सुरक्षाबल आफ्नो सिमा नाघेर पहरा दिइरहेको छ, तर हाम्रो उपस्थिति सिमा स्तम्भ भन्दा निकै तल सम्म पनि सुन्य छ । आखिर किन यस्तो भैरहेकोछ ?
निरिह र गैर जिम्मेवार प्रशासन
पिलर नम्वर ५७ गायव छ, त्यसमा दुई मत छैन तर यस बारे नेपाली प्रशासनको प्रतिक्रिया माग्न जाँदा उनीहरुबीच एक मत छैन । जिम्मेवार प्रशासन तथा सीमा सुरक्षाका लागि जिम्मेवारी लिएका निकायका अधिकारी हामीसँग जानी जानी झुठो बोल्दैछन् । जब हामी पिल्लर नम्बर ५७ को वास्तविकता वुझेर जिल्ला प्रशासन कार्यालय दोलखा पुग्यौं त्यसपछि हामी सम्वन्धित जिल्ला दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक कहाँ पुग्यौं । तर उनले पनि झुठ माथि झुठ बोल्न थाले । उनी भन्दै थिए ५५ देखि ६१ नम्बरसम्मको पिलर सहि अवस्थामा । जस बरु समस्या नै नभएको ५६ नम्बरको पिलर बेसाबुत रहेको गलत जानकारी दिंदै थिए उनी ।
कति लाजमर्दो, जिल्लाको सम्पूर्ण प्रशासनिक जिम्मा पाएका ब्यक्तिलाई नै यथार्थ थाहा छैन । हामी प्रमुख जिल्ला अधिकारी ज्यूलाई भन्न चाहन्छौं, ५६ होइन ५७ नम्बर पिल्लर गायब भएको छ ।
यता, सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक पनि पुग्यौं हामी प्रवक्ता सुरजकुमार श्रेष्ठलाई भेट्न । तर विडम्वना सीमा सुरक्षामा खटिने सशस्त्रसंग नै सिमा स्तम्भवारे यकिन तथ्यांक छैन । त्यहांका प्रवक्तले हामीसंग भने उत्तरी चीनसंग सीमा जोडिएको पूर्वदेखि पश्चिमको भूभागमा जम्मा ५० वटा मात्रै सीमा स्तम्भ रहेको तथ्यांक छ ।
जब कि चीन नेपाल बीच ९८ वटा सीमा स्तम्भ कायम भइसकेको छ । दुई वटा सीमा स्तम्भ कायम गर्न बांकी रहेको छ । त्यो सहित जोड्ने हो भने एक सय स्थामा सीमा स्तम्भ छ । त्यति मात्रै नभएर हामीले ५७ नम्बर पिल्लरको बारेमा प्रश्न गर्दा सशस्त्र प्रहरी बलका प्रवक्ताको सजिलो जवाफ आयो ‘‘हिमाली र उच्च पहाडी जिल्लामा जान नै अप्ठ्यारो छ ।’’
सीमा सुरक्षाका लागि खटिएको निकाय र प्रशासनका जिम्मेवार अधिकारको जवाफबाट प्रतिविम्वित भैरहेको छ कि हामी कुन अवस्थामा छौं । उनीहरु जिम्मेवार नै छैनन् या राज्यले उनीहरुलाई जिम्मेवार वनाउन सकेको छैन, त्यसको पनि समिक्षा हुनु आवश्यक छ ।
जति ठाउँमा भारतले सिमा मिचेको छ, जति पीडा सिमामा भारतले दिएको छ, त्यति उत्तरमा छैन । तर, हुँदै नभएको होइन । वरु, उत्तरमा कहाँ कहाँ मिचिएको सीमा भनेर खोज्नै भ्याइएको छैन । सरकार नभएको अनुभूति छ कैयौं ठाउँहरुमा ।



प्रतिक्रिया