उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
उपत्यका भित्र पाइने गोलभेँडा र काउलीमा धेरै विषादी

सारांश

  • -उपत्यकाको तरकारीमा धेरै विषादी  -गोलभेँडा र काउलीमा झन धेरै विषादी भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ ।
  • किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् ।
  • विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ ।

-उपत्यकाको तरकारीमा धेरै विषादी 

-गोलभेँडा र काउलीमा झन धेरै विषादी

भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् ।

कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अलग–अलग अनुगमन र परीक्षण गरी तरकारीमा विषादीको मात्राका अध्ययन गरेका छन् ।

बेमौसमी तरकारीमा बढी

अनुगमनले बेमौसमी तरकारीमा बढी विषादी प्रयोग हुने गरेको देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले मौसमी तरकारीमा विषादी कम र बैमोसमी तरकारीमा बढी देखिएको जानकारी दिए । ‘बेमौसमी तरकारी फलाउन बढी मिहिनेत गर्नुपर्ने भएका कारण हुन सक्छ, यस्ता तरकारीमा बढी विषादी राख्ने गरेको देखिएको छ,’ उनले भने । उपभोक्ताले मौसमी तरकारीको उपभोग बढाए विषादीको जोखिम हुने उनको सुझाब छ ।

खुद्रामा भन्दा थोकमा बढी

तरकारीमा विषादीको मात्रा खुद्रामा आइपुग्दा कम र थोकमा रहँदा बढी रहेको देखिएको छ । बाली संरक्षण निर्देशनालयले कालिमाटी फलफूल तथा तरकारी बजारमा असार ०७१ मा अनुगमन गरी खुद्रामा ४१ प्रकारका तरकारी परीक्षण गर्दा ६ वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । त्यस्तै, थोकमा एक सय ४६ तरकारीमा परीक्षण गर्दा २० वटामा विषादीको मात्रा उच्च भेटिएको थियो । थोकमा थप ६ वटा तरकारीमा विषादीको मात्रा खतराको क्षेत्रमा भेटिएको थियो । खतराको क्षेत्रमा देखिएका तरकारी दुई–तीन दिन राखेर खाँदा विषादी कम हुने वा हट्ने निर्देशनालयले जनाएको छ ।

भारतीय तरकारीमा बढी विषादी

विदेशबाट आउनेमध्ये भारतीय तरकारीमा सबैभन्दा धेरै विषादी देखिएको छ । आर्थिक वर्ष ०७१-७२ मा भारत, भुटान, चीन, थाइल्यान्ड, नेदरल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयात भएको एकवटा तरकारीमा विषादी भेटिएको थियो ।

आव ०७२-७३ मा भारत, चीन, भुटान, अस्ट्रेलिया र न्युजिल्यान्डबाट आयात भएको तरकारीको परीक्षण गरिएको थियो । भारतबाट आयातीत तीनवटा तरकारीमा विषादी भेटिएको थियो । आव ०७३-७४ मा भारत, चीन, भुटान र नेदरल्यान्डबाट आएको तरकारीको परीक्षण गरिएको थियो । त्यसमध्ये भारतबाट आयातीत ६ वटा तरकारीमा विषादी भेटिएको निर्देशनालयले जनाएको छ । अन्य देशबाट आयात भएका तरकारीमा विषादी नदेखिएको निर्देशनालयले जनाएको छ ।

कालिमाटी तरकारी व्यवसायी समितिका अध्यक्ष भरतप्रसाद खतिवडाका अनुसार विदेशबाट आयात हुने तरकारीमा भारतको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । आलु, प्याज, कागती र बैमौसमी तरकारी भारतबाट धेरै आयात हुन्छ ।

थानकोट र भक्तपुरबाट भित्रने तरकारीमा बढी विषादी

आव ०७३-७४ को अध्ययनले थानकोट र भक्तपुरको जगाती नाकाबाट भित्रने तरकारीमा विषादीको मात्रा बढी देखाएको छ । बालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको निर्देशनालयले जानकारी दिएको छ । थानकोटबाट भित्रने ४६ तरकारीको परीक्षण गर्दा दुईवटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा तीन प्रकारमा विषादी भेटिएको छ । बालाजुबाट भित्रने २५ तरकारीमा परीक्षण गर्दा विषादी देखिएन ।

स्नायुमा असर गर्ने विषादी : कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ । किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन् । दुवै विषादी प्रयोग गर्न बन्देज छ । किसानले विषादी प्रयोग गरेको कति समयमा तरकारी टिप्ने भनेर ख्याल नगर्दा पनि बिक्रीका लागि बजारमा आएका तरकारीमा विषादीको मात्रा धेरै भेटिएको उनले बताए ।

गोलभेँडा र काउलीमा झन धेरै विषादी

आव ०७३-७४ मा कृषि विकास मन्त्रालयमातहतको बाली संरक्षण निर्देशनालयले गरेको परीक्षणमा गोलभेँडा र काउलीमा सबैभन्दा धेरै विषादी रहने देखाएको छ । ३ सय ९४ पटक गोलभेँडा र २ सय २७ पटक काउली परीक्षण गर्दा समान आठपटक विषादी भेटिएको छ । त्यस्तै, पाँचपटक गोलभेँडा र ६ पटक काउलीमा विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको छ । ३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको तरकारीलाई दुई–तीन दिन राखेर उपभोग गर्दा विषादीको मात्रा नरहने निर्देशनालयले जनाएको छ । त्यस्तै, काँक्रोमा एक, तितेकरेलामा तीन र बोडीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो ।

कृषि मन्त्रालयमातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत निर्देशनालयको सहकार्यमा गत मंसिरदेखि वैशाखसम्म काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, धनुषा, दोलखा, नुवकोट, धादिङ, चितवन, मोरङ, पर्सा, भैरहवा र भारतबाट आयातीत तरकारीमा विषादीको मात्रा परीक्षण गरेको थियो । विषादीको मात्रा अधिकतम ४५ प्रतिशतसम्म हुनुपर्नेमा काउलीमा काभ्रेबाट आयातीतमा ६६.८५ प्रतिशत र ५२.४२ प्रतिशत तथा धादिङबाट आयातीतमा ६३.८२ प्रतिशत विषादी भेटिएको खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले जानकारी दिए ।

त्यस्तै, सिन्धुपाल्चोकबाट आयातीत गोलभेँडामा ५७.५६ प्रतिशत र भारतबाट आयातीतमा ४६.५५ प्रतिशत विषादी भेटिएको उनले जानकारी दिए । निर्देशनालयले आव ०७२-७३ मा परीक्षण गर्दा पनि गोलभेँडामा सबैभन्दा बढी चारपटक र काउलीमा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो । त्यस्तै, भेँडेखुर्सानीमा दुई, काँक्रोमा एक र भन्टामा एकपटक विषादी प्रयोग गरेको भेटिएको थियो । आव ०७१-७२ मा बोडीमा सबैभन्दा धेरै तीनपटक र गोलभेँडामा एकपटक विषादी हालेको देखिएको थियो ।  नयाँ पत्रिका बाट सभार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन
सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
बौद्धिक अपाङ्गता भएका बालबालिकाको जीवनमा सुधार
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
आज साउन पन्ध्र:वर्षाद्ले थकित भएको शरीरलाई ऊर्जामय बनाउन खीर खाने नेपाली परम्परा
सिन्धुपाल्चोकमा बिहानै भूकम्प
सिन्धुपाल्चोकमा बिहानै भूकम्प
इटहरीकी पृथ्वीया भइन् मिसेस नेपाल वल्ड
इटहरीकी पृथ्वीया भइन् मिसेस नेपाल वल्ड
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह