“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १, २०८०
|
|
५१ पटक हेरिएको
Shares
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति

सारांश

  • काठमाडौं।
  • राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
  • नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नव वर्ष २०८० को उपलक्ष्यमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, “सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्नेमा मेरो प्रतिबद्धता छ।”

राष्ट्रपति पौडेलले संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरे मात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई समाजवादतर्फ उन्मुख हुने विश्वाससमेत व्यक्त गरेका छन्। “तर, जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन, त्यसतर्फ हामी सबै सचेत हुनुपर्दछ। पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन, यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ”, शुभकामना सन्देशमा भनिएको छ।

नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने काम भएको बताउँदै त्यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्नेमा कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उनको भनाइ छ। राष्ट्रपति पौडेलले भनेका छन्, “चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली-नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्‍याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ।”

आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ।

राष्ट्रपति पौडेलले मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकांक्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखापरेका भन्दै त्यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो नरहेको उल्लेख गरे। “हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन्, त्यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानका रूपमा रहेको हिमाली क्षेत्र अहिले संकटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्‍याउन चाहन्छु”, सन्देशमा उल्लेख छ।

वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक सङ्क्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा प्रस्ट पार्दै उनले ती सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने विश्वस्त व्यक्त गरेका छन्।

उनले भनेका छन्, “नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु, नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?