एकीकृत पार्टीको अध्यक्षमा अड्कियो पार्टी एकता
सारांश
- काठमाडौं, माघ १६ ।
- नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो ।
- तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् ।
काठमाडौं, माघ १६ । नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ- एमाले-माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो । तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन् । दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन देखिन थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
१७ असोजमा वाम गठबन्धन घोषणा गर्दा दुई शीर्ष नेताले पार्टी एकतासम्म जाने लक्ष्य लिए पनि यो बिन्दुमा आइपुग्दा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको पदीय व्यवस्थापन पेचिलो बन्दै गएको छ । एक माओवादी शीर्षस्थ नेताका भनाइमा, ‘दुई पार्टी एकता अहिले एकीकृत पार्टीको अध्यक्षमा आएर अड्किएको छ ।’
नयाँ सरकारको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै ओलीले लिन खोज्दा एकतामा ढिलाइ हुन पुगेको माओवादीको भनाइ छ । एमालेले यो विषयमा अझै निष्कर्षमा पुगिनसकेको बताएको छ । एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘नेतृत्वले भित्री तहमा गरेका छलफलबारे प्रस्ट थाहा नपाएर कतिपय नेताले फरक खाले विचार प्रवाह गरिरहनुभएको छ, यथार्थ त्यस्तो होइन ।’ उनले अन्तिम घडीमा विभिन्न खाले चिन्ता र रस्साकस्सी चल्नु अनौठो नभएको भन्दै त्यसलाई एकतामै अप्ठ्यारो पर्न लागेको अर्थमा बुझ्न नहुने बताए ।
आ-आफ्नै चासो
दाहाल पार्टी अध्यक्ष आफूले नपाएसम्म एकीकरणमा जान चाहेका छैनन् । ओली सकभर दाहाललाई मनाएर महाधिवेशनबाट मात्रै पार्टी अध्यक्ष दिने तर अहिले आफैंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै राख्ने कोसिसमा छन् । ओलीले दाहालसँगको एक्ला-एक्लै छलफलका क्रममा सीधै अध्यक्ष दाहाललाई दिन नसकिने भनेर मुख भने नखोलेको एमाले स्रोतको दाबी छ ।
यद्यपि, उनले आफू नबोले पनि आफूनिकट नेताहरूमार्फत पार्टी अध्यक्ष तत्काल दाहाललाई दिन नसकिने सन्देश भने प्रवाहित गरिरहेका छन् । माओवादी भने एकताको सन्देश प्रवाह गर्नकै लागि भए पनि ओलीलाई प्रधानमन्त्री र दाहाललाई पार्टी अध्यक्ष दिनुपर्ने अडानमा छ ।
फेरि उठ्यो जबजको विषय
स्रोतका अनुसार एमाले-माओवादी पार्टी एकतामा दुवै पार्टीले अँगाल्दै आएका मार्गनिर्देशक सिद्धान्तको विषयलाई तगारो नबनाउने सहमति थियो । पार्टी एकताको सैद्धान्तिक सहमति गर्दा नै दुवै पार्टीले अँगाल्दै आएका जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई एकताको महाधिवेशनसम्म छलफलमा लैजाने र महाधिवेशनबाट टुंगो लगाउने सहमति थियो । तर, अहिले एमालेले जबज छाडेर महाधिवेशनमा जान नसकिने बताउन थालेको छ ।
आइतबार ओली-दाहालबीचको झन्डै पाँच घण्टा लामो संवादका क्रममा पनि ओलीले जबजलाई अहिले नै कुनै न कुनै रूपमा स्वीकार गरेरै पार्टी एकताको वैचारिक राजनीतिक आधार तयार पार्नुपर्ने तर्क राखेका थिए ।
Uttam Purush
बाम एकता देसकाे समृद्विका लागि कि अाेलि/ प्रचण्डकाे पदिय महत्वकान्क्षाका लागि ???
Mohan Kayasta
Selfishness in unity .
Ghimire Lekh Nath
नेपाली जनता को चाहाना स्थिर सरकार र बिकास हो ! अब तिमीहरु पद र पैसा को लागी जनता लाई धोका दिन्छौ भने चुनाव फेरी पनि आउछ भन्ने हेक्का राख्नु !!!
Pirthibi Gurung
PARTY MA SABAI MILERA JANUKO BIKALPA CHAINA AKIKRIT COMMUNIST BANE PACHI PANI FALANA YO FALANA TYO PARTY NA BHANI SAMAN HAISIYAT LE SHEET BAD FAD GARERA JANU HOLA JANTALE TAPAI HARU LAI JANADESH DIYAKO YADI YASTAI BARGENING HUDAI BASNU BHAYO BHANE JANTA LECHADNE CHAINA