एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
सारांश
- सुरेश जोशी ‘भैरे काका’ गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिवेशन नजिकिँदै गर्दा सधारण सदस्यता बन्ने र बनाउने सरगर्मी निकै चढेको छ अचेल ।
- विभिन्न राजनैतिक दलका भातृ संगठनहरु आफ्नो सक्रिय सदस्य विस्तारको क्रममा लागेका छन् ।
- यसको साथसाथै एनआरएनएको सदस्य पनि बन्ने र बनाउने क्रम जारी रहेको छ ।
- सुरेश जोशी ‘भैरे काका’
गैर आवासीय नेपाली संघ पोर्तुगलको अधिवेशन नजिकिँदै गर्दा सधारण सदस्यता बन्ने र बनाउने सरगर्मी निकै चढेको छ अचेल । विभिन्न राजनैतिक दलका भातृ संगठनहरु आफ्नो सक्रिय सदस्य विस्तारको क्रममा लागेका छन् । यसको साथसाथै एनआरएनएको सदस्य पनि बन्ने र बनाउने क्रम जारी रहेको छ ।
गैर आवासीय नेपाली संघ पोर्तुगलको साधारण सदस्यता बन्ने अन्तिम मिति ३१ जुलाई तोकिएको थियो । करीब २०–२५ हजारको नेपालीको जनसंख्या भएको बकम्फुसे गफ दिने यहाका संघ–संस्थाहरुको भनाइलाई अन्दाजी सात सय मात्रै सदस्य बनेको अनुमान गरेको तथ्यांकले गिज्याईरहेको थियो । फलस्वरूप एनआर एनएको साधारण सदस्य बन्ने समयावधि बढाईनुपर्छ भन्ने जनभावना चारैतिर देखियो तर पनि सदस्य बन्ने अन्तिम दिनको राती ११ बजेसम्म केही पनि नयाँ सूचना आएन ।
करिब रातको ११ः३० तिर एकै पटक दुई विज्ञप्ती सार्वजनिक भए । एउटा एनआरएनए पोर्तुगलको आधिकारिक फेसबुक पेजबाट र अर्को कार्यवाहक अध्यक्ष शम्भु गौतमद्वारा हस्ताक्षरित । एनआरएनए पोर्तुगलका अध्यक्ष भीम केसी १० औं गैरआवासीय नेपाली संघ यूरोपियन क्षेत्रीय बैठकमा भाग लिन उपाध्यक्ष शम्भु गौतमलाई कार्यवाहक अध्यक्षको कार्यभार सुम्पेर गएका हुन् ।
एनआरएनए युरोप बैठक पश्चात जनसम्पर्क समिति युरोपको भेट्घाट तथा छलफल कार्यक्रममा सक्रिय भएका अध्यक्षले कार्यवाहक अध्यक्ष गौतमसँग छलफल नै नगरी टेली–कन्फ्रेन्स बैठक भयो भनेर सूचना जारी गर्नुले यो संस्था दिनानुदिन व्यक्तिगत मनोमानी र झोले संस्थाको रुपमा विकसित भएको छ ।
कार्यवाहक अध्यक्ष गौतमलाई जानकारी नदिनु र पदभार फिर्ता नै नलगि जर्बजस्त सुचना जारी गर्नु अध्यक्ष केसीको मनोमानी र ज्यादतीको पराकाष्टा हो । संस्थालाई व्यक्तिको इच्छा र झोले बनाईनु लोकतन्त्रमा निन्दनीय छ । अर्कोतिर एनआरएनएको विधानको आचारसंहितालाई बारम्बार लात मार्दै जनसम्पर्क समितिको सक्रिय राजनीतिमा देखापर्ने अध्यक्ष केसी राजनैतिक पहुँचका आधारमा पाएको आफ्नो पदको नुनको सोझो गर्न खप्पिस छन् र आफ्नो कार्यकालभर लागि नै रहे ।
कयौं राम्रा कामको बाबजुद सधैँ स्क्यान्डलमा आउने केसी आफ्ना नजिकका कार्यसमितिका सदस्यहरुले जस्तोसुकै गलत काम गर्दा पनि सधैँ बचाऊ गर्नमा नै तल्लिन भए । विवादै विवादमा मुछिएका संस्थाका प्रवक्ता हेमराज सुवेदीको बचाऊ गर्दै अध्यक्ष केसीले राजीनामा गर्न लगाएको चार–चार महिना बितिसक्दा पनि त्यस उपर केही कारवाही गरेनन् ।
संस्थागत बिषयका बहसमा विमत्ति राख्नेलाई संस्थाको आधिकारिक पेजबाट ब्लक गर्नु यिनको नियति नै बनिसकेको छ । सामाजिक बहसको बिषयमा आलोचना सुन्न नसक्नेले आफूलाई सामाजिक अभियन्ता देखाउनु आफैँमा लज्जास्पद छ । अर्का उपाध्यक्ष सुनिल संगम यतिबेला आबुफेइरा अल्गार्व क्षेत्रमा जनसम्पर्क समितिको सदस्य र शाखा विस्तारमा व्यस्त छन् ।
कार्यवाहक अध्यक्ष शम्भु गौतमसहित कार्यसमितिका ५ जना र २ जना सल्लाहकार र विभिन्न संस्थाहरुका प्रतिनिधिसहितको एक बैठकले एनआरएनए पोर्तुगलको सदस्यता विस्तार कार्यक्रम अगष्ट ८ तारिकसम्म कायम रहने निर्णय गरेको छ ।
आखिर किन एउटै संस्थाले दुई छुट्टाछुट्टै विज्ञप्ती निकाले भन्ने प्रश्नमा आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा एनआरएनएका एक सदस्य भन्छन्, ‘यो सरासर अध्यक्ष केसीको मनोमानी र ज्यादती हो । अध्यक्ष केसी आफैँ विदा बसेको बेला यस्तो निर्णय गर्नु कानुनसम्मत गलत छ । अध्यक्ष केसी सधै जनसम्पर्क समितिप्रति झुकाव भएको र जनसम्पर्कका अधिकांश साथीहरु एनआरएनएको सदस्य भईसकेको र फारमहरू संकलन भईसकेको तर अन्य राजनैतिक विचारमा आस्थावान र विभिन्न ठाउँमा छरिएर रहेका साथीहरुको एनआरएनएको सदस्यता फारमहरू अझैँ संकलन हुन बाँकी रहेको अवस्थामा र विधान सम्मत ठिक हुने गरी अगस्ट ८ वा १० तारिकसम्म लम्ब्याईनु नै उचित हुन्छ ।’
यस्तै गतिविधिले गर्दा पोर्चुगलको नेपाली समुदायका बीचमा एनआरएनए विवादस्पद भई यसका क्रियाकलापहरुको विश्वशनियतामाथि प्रश्न उठ्नुका साथै यसको साख गिरेको छ । त्यसकारण एनआरएनए पोर्तुगललाई सबैको साझा संस्था बनाई नेपाली समुदायको विश्वाश जित्न संस्थालाई राजनीतिबाट अलग राख्दै एनआरएनए आचारसंहिताको पालना गर्दै संस्थागत अनुशाशन, पारदर्शिता र जवाफदेहिता आजको टड्कारो आवश्यकता हो ।
प्रतिक्रिया