एमबीबीएसको प्रश्नपत्र कसरी बाहिरियो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २०, २०७६
|
|
१६ पटक हेरिएको
Shares
एमबीबीएसको प्रश्नपत्र कसरी बाहिरियो ?

सारांश

  • एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ ।
  • त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो ।
  • परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले दावी गरेका छन् ।

एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले लिएको परीक्षा विद्यार्थीले बहिष्कार गर्ने क्रममा बिहिबार प्रश्नपत्र बाहिरिएको हो । परीक्षा सुरु भएको एक घण्टा अगावै प्रश्नपत्र परीक्षा हल बाहिर पुगेको विद्यार्थीले दावी गरेका छन् ।

परीक्षा सुरु भएको १ घण्टासम्म प्रश्नपत्र परीक्षा हल बाहिर लैजान पाइदैंन्। गण्डकी मेडिकल कलेजमा विद्यार्थीले परीक्षा बहिष्कार गर्न खोज्दा प्रहरीसँग हुलदंगा भएको थियो। त्यहि बेला प्रश्नपत्र बाहिरिएको अनुमान गरिएको छ। बिहान १० बजेबाट परीक्षा थियो। गण्डकी मेडिकल कलेजका प्रिन्सिपलका छोरा र सिईओकी छोरी लगायत केहि विद्यार्थी परीक्षा दिन हलमा प्रवेश गरेका थिए। त्यसपछि बहिष्कार गर्ने विद्यार्थी पनि हल भित्र पसेर प्र्रश्नपत्र लिएर बाहिरिएको एक विद्यार्थीले बताए। चिकित्सा शिक्षा संघर्ष समितिले भने कलेज प्रशासनले नै प्रश्नपत्र आउट गरेको दावी गरेको छ। ‘आफ्ना छोराछोरीको मात्र परीक्षा लिने तयारी रहेछ,’ गण्डकी मेडिकल कलेजका छात्र अनित सिंन्हाले भने, ‘परीक्षा सुरु हुनुभन्दा अघि नै प्रश्नपत्र आउट गरेर हामीलाई दोष दिइएको छ।’ अतिरिक्त शुल्क फिर्ता नपाएका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा पनि बहिष्कार गर्ने कार्यक्रम थियो। त्यही क्रममा गण्डकी मेडिकल कलेजबाट प्रश्नपत्र नै आउट भएको हो। आन्दोलनरत विद्यार्थीले बुधबार बीडीएस र नर्सिङको परीक्षा बहिष्कार गरेका थिए। बिहिबार ४ मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेका हुन्।

परीक्षा बहिष्कार गर्ने क्रममा कलेजमा तोडफोड गरेको आरोपमा कास्की प्रहरीले गण्डकी मेडिकल कलेजका ८ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। ‘विद्यार्थी परीक्षा छाडेर बाहिर निस्किदैं थिए, प्रहरी आएर हस्तक्षेप गर्‍यो’ समितिका प्रवक्ता समेत रहेका सिंन्हाले भने, ‘प्रहरी र विद्यार्थीबीच धकेलाधकेल हुँदा केहि सिसाहरू फुटयो, तोडफोड गरेको आरोपमा ३ जनालाई प्रक्राउ गरियो।’ पक्राउ परेका विद्यार्थीलाई छुटाउन जाँदा अन्य ५ जनालाई पनि नियन्त्रणमा लिइएको उनले जनाए। बढि शुल्क लिने कलेज संचालकलाई कारवाही गर्न नसक्ने प्रहरी प्रशासनले उल्टै विद्यार्थीलाई प्रक्राउ गरेको विद्यार्थीले गुनासो गरे। कलेज प्रशासन र डिन कार्यालयले भने परीक्षा सुरु भएको एक घण्टा पछिमात्र प्रश्न बाहिरिएको दावी गरेका छन्। डिन कार्यालयको परीक्षा महाशाखाले प्रश्नपत्रका बिषयमा विस्तृतमा बुझने काम भइरहेको जनाएको छ।

अवैध शुल्क फिर्ताको माग राख्दै महिनौदेखि आन्दोलनरत मेडिकल विद्यार्थीले चितवन मेडिकल कलेज, युनिर्भसल कलेज अफ साइन्सेस, नेसनल मेडिकल कलेजमा परीक्षा बहिष्कार गरेका हुन्। यी कलेजमा बुधबारको परीक्षामा पनि विद्यार्थीले दिएनन्। अतिरिक्त शुल्क फिर्ता पाएपछि मात्र शैक्षिक कार्यक्रममा सहभागी हुने विद्यार्थीको अडान छ। कात्तिक २० देखि हुने परीक्षा विद्यार्थीको बहिष्कार गर्ने चेतावनी पछि मंसिर १८ देखि हुने गरि सारिएको थियो। शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालकबीचको सम्झौतामा असहमति जनाउँदै विद्यार्थीले परीक्षा छाडेका हुन्। पहिलो र दोस्रो वर्षको बीडीएस र एमबीबीएसको शुल्क समायोजन गर्ने सहमति गरिएको थियो। कलेजहरूले समायोजन गर्ने प्रक्रिया थालेका छैनन्। विद्यार्थीले चार वटै वर्ष र सबै विषयको बढि शुल्क फिर्ता गरिनु पर्ने जनाएका छन्। कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?