एमाले पार्टी मुख्यालय सर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
१९ पटक हेरिएको
Shares
एमाले पार्टी मुख्यालय सर्ने

सारांश

  • नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ ।
  • ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो ।
  • कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए ।

नेकपा (एमाले)को मुख्यालय तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको छ । ठाउँ अभावका कारणले अहिले रहेको थापाथलीबाट एमाले मुख्यालय ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । कार्यालय सचिव डा भीष्म अधिकारीले नयाँ वर्षका अवसरमा आगामी वैशाख १ गते पार्टी कार्यालय सर्ने जानकारी दिए ।

कार्यालय सञ्चालनका लागि पार्टीले अहिले रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानको पुरै भवन भाडामा लिएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय भने अहिलेको भवनबाट पश्चिमतिर नयाँ भवन बनाइएको छ ।

एक वर्षअघि मात्र धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । नयाँ सार्न थालिएको तुल्सीलाल स्मृति भवनलाई पुनःनिर्माण गरेर अत्याधुनिक बनाउन थालिएको छ । अहिले धमाधम अत्याधुनिक कक्ष निर्माण गर्नुका साथै भवनको रङरोगनसमेत भइरहेको एमाले पार्टी कार्यालय भवन तथा मर्मतसम्भार कमिटीका सदस्य भरत पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा पार्टी सञ्चालनका लागि ७३ कार्यकक्ष निर्माण भइरहेका छन् । पार्टी पदाधिकारी, आयोग र विभागका लागि छुट्टाछुट्टै कार्यकक्ष बनाउन थालिएको छ । भुइँ तलामा १३, पहिलो तलामा १३ र दोस्रो तलामा ४७ कार्यकक्ष बनिरहेको भवन निर्माण कमिटीका सदस्य पहाडीले जानकारी दिए ।

उनका अनुसार नयाँ भवनमा एक ठूलो सभा हल र तीन सभाकक्ष रहनेछ । पार्टी केन्द्र्रीय कमिटी बैठक बस्नका लागि ५०० जना क्षमताको ठूलो हल निर्माण गरिएको छ । तीन महिना लगाएर प्रि इञ्जिनीयर्ड पोर्टल संरचना विधिअनुसार उक्त ५०० क्षमताको हल भवनको पश्चिमतिर बनाउन थालिएको विभागका सदस्य पहाडीले बताए ।

यस्तै मदनभण्डारी स्मृति कक्ष, पुष्पलाल स्मृति कक्ष र मनमोहन स्मृति कक्ष पनि नयाँ कार्यालयमा बनाइएको छ । एमालेले तुल्सीलाल स्मृति प्रतिष्ठानसँग पाँच वर्षका लागि भवन भाडामा लिएको छ ।

यसैगरी नयाँ सर्न थालिएको भवनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ । पार्टी अध्यक्ष र महासचिवको कक्ष पहिलो तलामा रहनेछ भने दोस्रो तलामा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवको कार्यकक्ष रहनेछ । पार्टी अध्यक्षको कार्यकक्षमा अध्यक्षले नियमित बैठक गर्न अलग्गै कक्षसमेत बनाइएको उहाँले जानकारी दिए ।

पार्टी अध्यक्ष र महासचिव रहेको पहिलो तलामा नै मदन भण्डारी स्मृति कक्ष (अति विशिष्ट कक्ष) बनाइएको छ । उक्त कक्षमा पार्टी अध्यक्षसँग जोडिएका महत्वपूर्ण बैठक र विशेष बैठक हुनेछन् ।

यस्तै पहिलो तलामा नै पार्टीको सचिवालय, स्थायी र पोलिटब्युरो बैठक गर्नका लागि पुष्पलाल स्मृति कक्ष बनाइएको छ । उहाँका अनुसार भुइँ तलामा अत्याधुनिक प्रविधिमैत्री मनमोहन स्मृति कक्ष (डिजिटल कक्ष) बनाइएको छ ।

उक्त कक्षबाट पार्टीको महत्वपूर्ण विषय सार्वजनिक गर्न र भर्चुअलरुपमा सातवटै प्रदेशबाट प्रशिक्षण सञ्चालन गर्न सकिन्छ । भुइँ तलामा नै कार्यालय सचिव, कार्यालय र तुल्सीलाल स्मृति केन्द्रीय पुस्तकालय रहनेछ ।

पहिलो तलामा नै आर्थिक विभाग, प्रचार तथा प्रसार विभाग, विदेश विभाग, सङ्गठन विभाग र सल्लाहकार परिषद्का कार्यकक्ष रहनेछन् । यस्तै दोस्रो तलामा अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगसहित विभागका कार्यकक्ष रहनेछन् ।

विसं २०७२ मा गएको भूकम्पले बल्खुमा रहेको पार्टी कार्यालय भत्काएपछि एमाले पार्टी कार्यालय संरचनाका लागि घर भाडामा लिई सञ्चालन भइरहेको छ । भूकम्पले बल्खुस्थित पार्टी कार्यालय भत्काएपछि पार्टी कार्यालय धुम्बाराहीमा रहेको पासाङल्हामु स्मृति प्रतिष्ठानको भवनको घर भाडामा लिई सञ्चालन गरिएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?