ओलीलाई पछ्याउँदै चारभाइ,जस्ले कटाए अाधालाख’
सारांश
- काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका नेता गोकुल बास्कोटाले ५४ हजार ४२७ मत पाएका छन् ।
- बास्कोटाले पाएको मत सर्वाधिक तेस्रो हो ।
- उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाए ।
काभ्रे क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका नेता गोकुल बास्कोटाले ५४ हजार ४२७ मत पाएका छन् । बास्कोटाले पाएको मत सर्वाधिक तेस्रो हो ।
उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाए । बास्कोटा र आचार्यबीच १८ हजार मतान्तर भएको छ ।
एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि ५० हजार मत कटाएर अर्ध शतक पूरा गरेका छन् । चितवन क्षेत्र नम्बर १ बाट विजयी पाण्डेले ५० हजार ८९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ३६ हजार ४५४ मत पाएका छन् ।
एमालेका केन्द्रीय सदस्य तथा युवा नेता पार्वत गुरुङले पनि नयाँ रेकर्ड कायम गरेका छन् । देशभरमै सबैभन्दा बढी मतान्तरमा चुनाव जित्ने कीर्तिमान गुरुङको पोल्टामा परेको छ ।
दोलखाबाट निर्वाचित सांसद गुरुङले ३० हजार भन्दा बढीको अन्तरमा विपक्षीलाई हराएका हुन् ।
उनी ५० हजार बढी मत पाउनेको सूचीमा पनि परेका छन् । गुरुङले ५५ हजार ९५४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्र खड्काले २४ हजार ८१३ मत पाए ।
सबैभन्दा बढी मतान्तरको रेकर्ड पनि यही नै हो । गुरुङ र खड्काबीचको मतान्तर ३१ हजार १४१ छ ।
५० हजार भन्दा धेरै मत पाएर प्रतिनिधिसभा सदस्यमा विजयी हुनेहरुको सूचीमा माओवादीका सन्तकुमार थारु पनि छन् ।
उनी ५० हजार ५५५ मतका साथ बर्दिया क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । थारुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ मत पाएका छन् ।
बर्दियामै एमाले उपाध्यक्ष बामदेव गौतमले भने सबैभन्दा बढी मत ल्याएर हारेको रेकर्ड राखेका छन् । बर्दिया क्षेत्र नम्बर १ बाट कांग्रेसका सन्जयकुमार गौतमसँग पराजित बामदेवले ४४ हजार ७६ मत पाएका छन् ।
सन्जय कुमार गौतमले ४४ हजार ८२९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
सबैभन्दा कम मत पाएर चुनाव जित्ने रेकर्ड पनि एमालेकै पोल्टामा गएको छ । प्रतिनिधिसभामा मनाङबाट एमालेका पोल्देन छोपाङ गुरुङ २३०० मत पाएर निर्वाचित भएका छन् ।
प्रतिक्रिया