ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
ओलीलाई मोदीले राजदूत मार्फत चिठी पठाएर भने ‘स्वागत गर्न आतुर छु’

सारांश

  • काठमाडौं, ५ फागुन – प्रधानमन्त्री केपी ओलीलाई छिमेकी भारत, चीन तथा सार्क सदस्य मुलुक पाकिस्तान एवं बंगलादेशका समकक्षीले बधाई पठाएका छन् ।
  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बिहीबार राति फोनमा र राजदूत मंजीवसिंह पुरीमार्फत चिठी पठाएर बधाई दिएका छन् ।
  • ओली सांसद निर्वाचित भएयता तीनपटक टेलिफोनमा र एकपटक चिठी पठाएर मोदीले बधाई दिएका छन् ।

काठमाडौं, ५ फागुन – प्रधानमन्त्री केपी ओलीलाई छिमेकी भारत, चीन तथा सार्क सदस्य मुलुक पाकिस्तान एवं बंगलादेशका समकक्षीले बधाई पठाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई बिहीबार राति फोनमा र राजदूत मंजीवसिंह पुरीमार्फत चिठी पठाएर बधाई दिएका छन् । ओली सांसद निर्वाचित भएयता तीनपटक टेलिफोनमा र एकपटक चिठी पठाएर मोदीले बधाई दिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मोदीले बिहीबार राति १०ः३० बजे प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर बधाई दिएका थिए । मोदीलगत्तै भारतका विदेशमन्त्री सुष्मा स्वराजले पनि ओलीलाई टेलिफोन गरेर बधाई दिएकी छन् । मोदीको विशेष दूतका रूपमा विदेशमन्त्री स्वराज १८ माघमा काठमाडौं आएर त्यही साँझ ओलीसँग रात्रीभोजसहित भेटवार्ता गरेकी थिइन् ।

भारतीय राजदूत फर्केलगत्तै ओली निवासमा चिनियाँ राजदूत
मोदी र स्वराजको टेलिफोन सन्देश आएलगत्तै बिहीबार राति राजदूत पुरी ओली निवास बालकोट पुगेर बुकीको फूल र मोदीको चिठी हस्तान्तरण गरे । पुरी फर्केलगत्तै मध्यरातमा नेपालका लागि चिनियाँ राजदूत यु होङ बालकोट पुगेर चिनियाँ प्रधानमन्त्री ली खछियाङको चिठी हस्तान्तरण गर्दै ओलीलाई बधाई दिएका छन् । दुवै देशका राजदूत प्रधानमन्त्री ओलीको शपथग्रहणमा पनि सहभागी थिए । त्यतिबेला पनि सुरुमा भारतीय राजदूत पुरीले र त्यसपछि चिनियाँ राजदूत होङले ओलीलाई बधाई दिएका थिए । ‘बिहीबार राति भारत र चीनका राजदूतले प्रधानमन्त्रीज्यूलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले नयाँ पत्रिकासँग भने । चिनियाँ प्रधानमन्त्रीले ओबिओआरको फ्रेमवर्कमा नेपाल र चीनबीच विकासका विभिन्न क्षेत्रमा सहकार्य हुने उल्लेख गरेका छन् ।

मोदीको चिठीमा के छ ?
नेपालस्थित भारतीय दूतावासका प्रवक्ता रुबी जसप्रित शर्माका अनुसार मोदीले चिठीमा ओलीको नेतृत्वमा नेपालमा आर्थिक समृद्धि र विकास हासिल हुने उल्लेख गर्दै नेपालसँगको बहुआयामिक द्विपक्षीय सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन् । मोदीले ओलीलाई भारतमा स्वागत गर्न आफू प्रतीक्षारत रहेको पनि चिठीमा उल्लेख गरेका छन् । ओलीले जवाफमा बधाई तथा शुभकामना दिएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका छन् । ओलीले मोदीलाई जनकपुर र मुक्तिनाथको तीर्थयात्रासमेत गर्ने गरी नेपाल भ्रमणका लागि आमन्त्रण गरेका छन् । ओली सांसद निर्वाचित भएपछि मोदीले गत ६ पुस र ७ माघमा पनि टेलिफोन गरेका थिए ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई सार्क सचिवालयका महासचिव अमजद हुसेन बी सियालले बधाई चिठी पठाउँदै ओलीको कार्यकालमा सार्क प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले पाकिस्तान सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई दिएका छन् । पाकिस्तानले ओली नेतृत्वको सरकारले विकास र समृद्धिको दिशामा नयाँ युगको थालनी गर्ने विश्वास व्यक्त गरेको र पाकिस्तानको नेतृत्वले ओलीसँग मिलेर सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि प्रवक्ता फैसलले उल्लेख गरेका छन् ।

यसअघि बिहीबार ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै बंगलादेशकी समकक्षी शेख हसिनाले बधाई र औपचारिक भ्रमणको निमन्त्रणा दिएकी थिइन् । यसैगरी, अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले प्रधानमन्त्री ओलीलाई बधाई दिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?