ओलीले दिल्लीको दिल जित्लान् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ३०, २०७७
|
|
५० पटक हेरिएको
Shares
ओलीले दिल्लीको दिल जित्लान् ?

सारांश

  • दीपेश केसीः प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दुई महिनाभित्र भारतका गुप्तचर प्रमुख, सेनापति, विदेश सचिव देखि सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई बालुवाटारमा भेटेका छन् ।
  • यी सबै भेट भारतसँगको सीमा समस्याले सम्बन्ध चिसिएर सुधारको पहलकदमी बढिरहँदा भएका हुन् ।
  • भारतले संवाद नै बन्द गरेर असन्तुष्टि जनाउँदा दिल्लीमा नेपाल मामलाका कतिपय जानकारहरु संवाद तत्काल शुरु गर्नुपर्नेमा जोड दिइरहेका थिए ।

दीपेश केसीः प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दुई महिनाभित्र भारतका गुप्तचर प्रमुख, सेनापति, विदेश सचिव देखि सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुखलाई बालुवाटारमा भेटेका छन् । यी सबै भेट भारतसँगको सीमा समस्याले सम्बन्ध चिसिएर सुधारको पहलकदमी बढिरहँदा भएका हुन् । भारतले संवाद नै बन्द गरेर असन्तुष्टि जनाउँदा दिल्लीमा नेपाल मामलाका कतिपय जानकारहरु संवाद तत्काल शुरु गर्नुपर्नेमा जोड दिइरहेका थिए । जनरल अशोक मेहताले त लिपुलेक हुँदै भारतले सडकमार्ग खोलेपछि नेपालले तत्काल आपत्ती जनाउँदा नै संवाद थालिहाल्नुपर्नेमा जोड दिएका थिए । दुई देशको सम्बन्धको गहिराईलाई यथार्थपरक रुपमा बुझ्ने र व्याख्या गर्नेहरुले संवाद र समस्या समाधानमा जोड दिदै आइरहे । त्यतिबेला संवादमा बेवास्ता गर्दा अन्य शक्तिहरुले नेपालमा ठाउँ लिन खोजेपछि झस्किएको भारतले आफै छलफलको तत्परता देखायो ।

त्यसअघि नै नेपालमा ओलीको सत्ता निरन्तर डगमगाइरहेको थियो । चिनियाँ राजदूत होउ यान्छीको खुलेआमा सक्रियता देखियो । नेकपाका प्रभावशाली नेताहरुको घर घरमा उनको दौडले नेपालमा विदेशी प्रभावको नयाँ परिवेशको दृश्य देखिनथालेको थियो । एउटा समय थियो भारतीय राजदूत नेपालको राजनीतिमा नयाँ परिस्थिति बन्न लाग्दा यसरी नै सक्रिय हुन्थे । परिस्थिति त्यस्तै देखियो तर भारतको ठाउँमा चीनका राजदूत दौडिइन् । यसले पनि भारतीय पक्षलाई झस्काएको हुनुपर्छ । अहिलेलाई वर्तमान सत्तासँगै संवाद गर्दै बढ्ने उसको रणनीति देखिदै गयो । भारतीय अधिकारीहरु धमाधम नेपाल आउन थाले ।

भारतीय अधिकारीहरुको काठमाडौं दौड त्यतिबेला चल्यो जतिबेला नेकपाभित्र संकट गहिरिदै गएको थियो । झट्ट हेर्दा प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध चिसिएको देखिदैथियो । कतिपयले भारतको संस्थापन पक्षले ओली सरकार ढाल्न भूमिका खेल्न थाल्यो भन्ने सम्मको अनुमानहरु गरे । भारतप्रति उनको कडा अभिव्यक्तिहरु आइरहेकाले यो अनुमान स्वाभाविक लागे । नेकपाभित्रका उनका विपक्षीहरु यसैलाई अवसरका रुपमा ठानेर ओलीमाथि प्रहार गर्दै थिए । तर, ओलीले भारतीय पक्षको संवादको व्यग्रता र सहमति निर्माणको आकांक्षालाई राजनीतिक लाभको अस्त्र बनाउन खोजे । रअ प्रमुख सामन्तकुमार गोयल विशेष विमानबाट आएर बालुवाटारमा ओलीसँग महत्वपूर्ण भेट गरेपछि पार्टीभित्रका विरोधीलाई झड्का दिए । यो भेटलाई कूटनीतिक मर्यादाविपरित भन्दै भीम रावल मात्र विरोध गर्ने प्रभावशाली नेतामध्येका थिए । अरु सबै चुपचाप बसे । गोयलसँग भेटेको प्रधानमन्त्री ओली अझै मौन छन् । उनका प्रेस सल्लाहकार सुर्य थापाले मात्र यो भेटको जानकारी खुलाएका थिए । खुसुक्क भेट्ने गुप्तचरको शेली हो । संवेदनशील भेट खुलाउनुलाई अर्थपूर्ण मानिन्छ । यो खुलासाबाट पनि ओलीले लाभ लिन खोजेका छन् । उनले भारतसँग आफ्नो सम्बन्ध अझै बलियो छ भन्ने सन्देश प्रवाह गरेर पार्टीभित्र र बाहिरका विरोधीलाई कमजोर देखाउन खोजे ।

भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवाणे मानार्थ सेनापतिको दज्र्यान्ही चिन्ह लिन ढिलो गरी आएका थिए । तर, उनको भेटले दुई देशको सम्बन्धमा सैन्य तहबाट भूमिका खेल्न मद्दत पुग्यो । विगतमा नाकाबन्दीपछि चिसिएको सम्बन्ध सुधार्न पनि सैन्य कुटनीतिको प्रयोग गरिएको थियो । त्यतिबेलाका सेनापति राजेन्द्र क्षेत्रीको भारत यात्राले सकारात्मक भूमिका खेलेको थियो । यसपटक पनि त्यही कुटनीतिलाई प्रयोगमा ल्याइयो । नरवाणेको भ्रमणपूर्व रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री इश्वर पोखरेललाई प्रधानमन्त्रीको कार्यालयमा सिमित पारियो । सीमा विवादका बेला नरवाणेले बोल्दा पोखरेलले आपत्ती जनाएर अभिव्यक्ति दिएका थिए । रक्षामन्त्री आफैले लिएर ओलीले नरवाणेलाई सजिलो बनाइदिए । भ्रमणको अन्तिम दिन महत्वपूर्ण भेटवार्ता समेत गरे ।

त्यसपछि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला नेपाल आए । नेपाली राम्ररी बोल्ने र बुझ्ने श्रृंगलाले सीमा समस्या समाधानलगायतका विषयमा कुराकानी गरे । कर्मचारीको तहमा भएको यो भ्रमण आफैमा महत्वपूर्ण थियो । सम्बन्ध सुदृढ बनाउने आधार तयार गर्ने र विभिन्न तहमा संवाद र सहमति गरी दुई देश मिलेर अगाडि बढेका आयोजनाहरुलाई गति दिनेबारे समेत छलफल केन्द्रित भयो । त्यसपछि दुई देशबीच सचिवस्तरीय विभिन्न छलफलहरु भइरहे ।

श्रृंगलापछि भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएर गए । उनी नेकपा महासचिव विष्णु पौडेलको निम्तोमा आएका थिए । नेकपाको निम्तोमा चौथाइवाले गोरखपुर हुँदै स्थलमार्गबाट काठमाडौं आएर बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न पुगे । तर, यसको खबर मिडियामा आएपछि मात्र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई जानकारी भयो । उनीहरुसँग चौथाइवालेको भेट पनि भएन । दुवै नेतासँग चौथाइवालेले भेटवार्ता नगर्नु अर्थपूर्ण रह्यो । बरु भ्रमणको तालिकामा नभएपनि काँग्रेस सभापति शेरबहादुर देउवा, राजपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि भेटवार्ता गरे । नेपालको सत्तारुढ दलको निम्तोमा भारतको सत्तारुढ दलका विदेश विभाग प्रमुख नेपाल आएर त्यसका कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई नभेटी गए । यस्तो अवस्था निर्माण गरेर ओलीले पार्टीभित्र आफूलाई चुनौती दिइरहेका प्रचण्ड र माधव नेपाललाई हिस्स मात्र बनाउन खोजेका त हैनन् ? यो प्रश्न उठ्यो । भीम रावलले चौथाइवालेलाई बालुवाटारमा प्रधानमन्त्री ओलीले भेट्नुलाई कुटनीतिक मर्यादाविपरित भनी बोले । उनले नेकपाको निम्तोमा आएका भाजपा विदेश विभाग प्रमुखको भ्रमणबारे कार्यकारी अध्यक्ष र विदेश विभाग प्रमुखलाई समते जानकारी नदिइनुमा गम्भीर आपत्ती जनाए । तर, ओलीले चौथाइवालेको भ्रमणबाट पार्टीका विरोधीलई फेरि कमजोर देखाउने प्रयास गरे । भारतसँग उनीहरुको भन्दा आफ्नै सम्बन्ध प्रगाढ छ भन्ने सन्देश दिन खोजे ।

एकातर्फ चीनलाई खुशी बनाउन ओलीले सगरमाथाको नयाँ उचाई बेइजिङबाट स्वीच थिचेर घोषणा गर्न स्वीकृतीका लागि सम्झौता गरिसकेका थिए । अर्कोतर्फ, दिल्लीमा दूतहरु पठाएर सम्बन्ध सुधारको पहल गरिरहेका थिए । अब ओलीको भारत भ्रमणको पहलहरु हुनथालेका छन् । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमण गर्ने चर्चा छ । भारतबाट गुप्तचर, सैन्य र कुटनीतिक तहबाट मात्र नभई राजनीतिक तहबाट समेत भ्रमण हुनुले प्रधानमन्त्री ओलीको भ्रमणको माहोल तयार गर्ने प्रयास भइरहेको बुझ्न सकिन्छ । नेकपाभित्रको विवादले भने भारतलाई मात्र नभई अन्य शक्तिराष्ट्रलाई पनि पर्ख र हेरको अवस्थामा पारिरहेको हुनुपर्छ । स्वयं प्रधामन्त्री ओलीले नेकपा सचिवालयमा आफूविरुद्धको आरोपपत्रको उत्तर दिने क्रममा मित्रराष्ट्रसँगको कतिपय विषय अल्झाएको अरोप समेत लगाएका छन् । उनले आरोपपत्रको जवाफमा प्रचण्डलाई भनेका छन्,‘कतिचोटी छिट्टै आफू सरकारको नेतृत्वमा आउने भएका हुनाले कतिपय विषय पछि सलटाउँला भन्दै मित्र राष्ट्र«सँगका कतिपय विषयमा अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ?’ सत्ता संकटमा आइरहँदा कतिपय महत्वपूर्ण भ्रमणहरु अल्झिनसक्ने सम्भावना पनि रहन्छ । त्यस्ता भ्रमणमा कतिपय सम्झौताका विषय हुनसक्छन् । ओलीले प्रचण्डको आरोपसहितको राजनीतिक प्रतिवेदनको जवाफी लिखित पत्रमा भारत भ्रमणमा जाँदा प्रचण्डले आलोपालो प्रधानमन्त्रीको सहमति भएको खुलासा गरेर विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिएको टिप्पणी गरेका छन् । त्यसले राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भीर प्रतिकूल असर परेको भनेका छन् ।

ओली भारतसँगको सम्बन्धमा जति बाहिर कडा देखिएका छन् उति नै गम्भीर पनि छन् भन्ने यी टिप्पणीहरुले पनि देखाउँछ । उनी भारतसँग प्रचण्ड या माधव नेपालको सम्बन्धलाई अगाडि बढ्न नदिन उत्तिकै गम्भीर देखिन्छन् । प्रचण्डले भारतमा बोल्दा राष्ट्रिय स्वाधिनतामा प्रतिकूल असर परेको देख्छन् भने भारतका गुप्तचर देखि राजनीतिक दलका नेतालाई बालुवाटारमा भेट्दा राष्ट्रको हितका लागि गरेकोले सबै जायज भन्दै सन्देश प्रवाह गर्न लगाउँछन् । ओली जतिसुकै भारतप्रति आक्रामक रुपमा बोल्ने गरेपनि दिल्लीको दिल जित्न हरप्रयत्नमा लागेको देखिदैछ । अन्तर्राष्ट्रिय राजनीतिको माहोल बदलिएपछि ओली पनि केही बदलिएको संकेतहरु देखिएको हो । चीनको शक्ति वृद्धिको काउन्टरमा अमेरिका र भारत मात्र नभई जापान र अष्ट्रेलिया एकजुट भएका छन् । यसले दक्षिण एशियाको राजनीतिमा समेत असर परिसकेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओ सैन्य उद्देश्यले भारत, श्रीलंका र मालदिभ्स आएर सन्देश पनि दिएर गएका छन् । अमेरिका दक्षिण एशियामा भारतसँग मिलेर शक्तिको अभ्यास गरिरहेको छ । चीनसँग निकै नजिकको सम्बन्ध बनाएर भारतप्रति कडा देखिएका ओली माहोल परिवर्तनसँगै नरम बन्दै गएका छन् । यति मात्र नभएर उनी दिल्लीको दिल जित्ने प्रयासहरु गर्न थालेका छन् ।

बलिया शक्तिले जहिले पनि अर्को बलियोसँगै नै संवाद, सहमति र सहकार्य गर्न खोज्छ । अर्को कमजोरलाई खोजेर बलियो बनाउन खोज्नु भनेको ठुलै उद्देश्य अन्र्तगत मात्र हुनसक्छ । यसपटक भारतले पनि नेपालमा बलियै अवस्थामा रहेका ओलीसँगै नै सहकार्य देखाइरहेको छ । सत्तासँगै सम्झौता र लेनदेन रुचाउने शक्तिकेन्द्रहरुको शैलीका कारण पनि दक्षिण र उत्तरबाट बालुवाटारमा दौडधुप चलेको छ । ओलीले ती दौडधुपलाई आफ्नो सामथ्र्य र कुटनीतिक क्षमताका रुपमा समेत प्रस्तुत गर्दै आएका छन् । दिल्लीबाट काठमाडौंमा एकैपटक विभिन्न तहमा यसरी दौड कमै चलेको थियो । यसलाई ओलीले आफ्नो शक्ति वृद्धिका रुपमा सन्देश प्रवाह गर्न खोजिरहेका छन् । तर, देशभित्र सत्तारुढ दल नेकपाभित्रको घरझगडा, समाप्त भइसकेको राजतन्त्र फर्काउने राजावादीको बढ्दो प्रदर्शन, निष्कृय जस्तै नेपाली काँग्रेस सडकमा आउनु देखि विप्लवको बढ्दो चुनौतीले ओली आन्तरिक राजनीतिमा अप्ठ्यारोमा परिसकेको देखिन्छन् । राजावादीको बढ्दो प्रदर्शनले त अन्तर्राष्ट्रिय मिडियामा पनि स्थान पाउन थालिसकेको छ । यो आफैमा अर्थपूर्ण छ । आन्तरिक राजनीतिमा कमजोर हुँदै जाँदा कुनैपनि नेतालाई बाह्य शक्तिले धेरै काँध थाप्न उचित ठान्दैनन् पनि । अर्कोतर्फ, आन्तरिक संकट आउनुमा बाह्य शक्तिको पनि कुनै न कुनै भुमिका हुन्छ । वास्तवमा दिल्ली र बेइजिङबाट जतिसुकै दौडधुप चलेपनि ओली शासनसत्ता सम्हालेको तीन वर्षयता निकै चुनौती झेलिरहेका छन् । ओलीविरुद्ध चक्रव्यूह नै रचिएको घटनाक्रमले देखाउँदै लगेको छ । यसलाई तोड्न उनलाई कठिन परिरहेको छ । तर, हरेस खाएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको अपनत्व जिल्लामा
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
असारे विकासको परिणामः यात्रु र सवारीको बिचल्ली
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
महिलाले गरेको आन्दोलनको कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्दै अघि वढ्नुपर्छ: उपमेयर हरिप्रभा खड्गी
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
जय देवकोटाको नयाँ लोकदोहोरी जूनकीरी बजारमा (भिडियोसहित)
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
देशमा अस्थिरता ल्याउन प्रयास भइरहेको छ : अध्यक्ष ओली
एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली
एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?- केपी ओली
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
आज बस्ने नेकपाको वैठकमा दुई अध्यक्षले जवाफ दिने
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २
प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा २६८ , विपक्षमा २