पर्यटन प्रवर्द्धनमा हिमालयन राइडर्स सोसाइटीको सक्रियता
सारांश
- वातावरण संरक्षण, जनस्वास्थ्य र दिगो पर्यटनको त्रिवेणी मानिने साइकल यात्राका माध्यमबाट हेटौँडाको एक संस्था ओझेलमा परेका पर्यटकीय गन्तव्य उजागर गर्न सक्रिय बनेको छ ।
- हिमालयन राइडर्स सोसाइटीले पाँच वर्षदेखि संगठित रूपमा देशका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्भावना बोकेका क्षेत्रहरूको प्रचारप्रसार गरिरहेको छ ।
- विसं २०७८ मा संस्थागत रूपमा दर्ता भई अघि बढेको यस सोसाइटीले साइक्लिङलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी देशको पर्यटन प्रवर्द्धनको बलियो माध्यम बनाएको हो ।
वातावरण संरक्षण, जनस्वास्थ्य र दिगो पर्यटनको त्रिवेणी मानिने साइकल यात्राका माध्यमबाट हेटौँडाको एक संस्था ओझेलमा परेका पर्यटकीय गन्तव्य उजागर गर्न सक्रिय बनेको छ । हिमालयन राइडर्स सोसाइटीले पाँच वर्षदेखि संगठित रूपमा देशका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्भावना बोकेका क्षेत्रहरूको प्रचारप्रसार गरिरहेको छ । विसं २०७८ मा संस्थागत रूपमा दर्ता भई अघि बढेको यस सोसाइटीले साइक्लिङलाई केवल मनोरञ्जनमा मात्र सीमित नराखी देशको पर्यटन प्रवर्द्धनको बलियो माध्यम बनाएको हो ।
विशेष गरी ऐतिहासिक मकवानपुरगढी र गोरखा दरबार जस्ता गौरवशाली धरोहरको पहिचान बढाउन संस्थाले विशेष योगदान पुर्याएको छ । सोसाइटीका अध्यक्ष राजु थापामगरका अनुसार टोलीले हेटौँडा–१७ स्थित एसियाकै अग्लो कृष्ण मूर्ति रहेको जुरेथुमदेखि रसुवागढी–केरुङ-ठोरीसम्मको ४ सय किलोमिटर दुरीको साहसिक यात्रा पूरा गरिसकेको छ । यसका साथै मेची-महाकाली यात्रा, गढीमाई मन्दिर, चतराधाम र सोमेश्वरगढी जस्ता धार्मिक स्थलहरूमा समेत साइकल र्याली पुर्याइएको छ ।
पर्यावरण मैत्री माध्यमबाट ओझेलमा परेका गन्तव्यमा आन्तरिक पर्यटक आकर्षित गर्ने मुख्य उद्देश्यका साथ यो अभियान सञ्चालन भइरहेको छ । हाल संस्थामा ५० जना आजीवन सदस्यसहित कुल १५० जना साइकलप्रेमी आबद्ध भई विभिन्न गन्तव्यहरूमा निरन्तर यात्रा गरिरहेका छन् । स्वच्छ मनोरञ्जनसँगै पर्यटनको राष्ट्रिय विकासमा टेवा पुर्याउने यो प्रयासले नेपालको साहसिक पर्यटन क्षेत्रमा नयाँ उचाइ थपेको छ ।
प्रतिक्रिया