कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
सारांश
- काठमाडौँ,१० मंसिर ।
- आइतबार बसेको सार्वजनिक लेखा समितिको बैंठकमा उपस्थित सांसदहरु नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन् ।
- लेखा समितिले वाइड बडी खरिद प्रकरणमा छलफल गर्न बोलाएको बैठकमा उपस्थित सांसदले कंसाकारले निगम डुबाएको आरोप लगाएका हुन् ।
काठमाडौँ,१० मंसिर । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैंठकमा उपस्थित सांसदहरु नेपाल बायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारमाथि खनिएका छन् । लेखा समितिले वाइड बडी खरिद प्रकरणमा छलफल गर्न बोलाएको बैठकमा उपस्थित सांसदले कंसाकारले निगम डुबाएको आरोप लगाएका हुन् ।
सांसद हृदयेश त्रिपाठीले वाइड बडी खरिद प्रकरणको विवादको जड नै निगमकै व्यवस्थापन भएको आरोप लगाए । निगमले सार्वजनिक गरेको श्वेतपत्रले पनि निगम अब कसरी सञ्चालन होला भन्ने प्रश्न उठाएको बताए ।
यता, कंसाकारले आफु सर्वोच्च अदालतबाट सफाइ पाएको व्यक्ति भएको र आफुले कुनै पनि काम गैह्रकानुनी ढंगले नगरेको भन्न नपाउँदै अर्का सांसद मिनेन्द्र रिजालले ‘आफूलाई राम्रो बनाएर निगम डुबाउने ?’ तपाईंको प्रशंसा हामीलाई चाहिँदैन, समितिले उठाएको प्रश्नको जवाफ दिनुस्’ भन्दै आक्रोशित बने ।
त्यति मात्र होइन रिजालले जहाज किनेको चिन्ता नसकिँदै कतै निगमले जहाज बेच्ने त होइन भन्दै आशंका पनि गरे । सांसद प्रेम आले कंसाकारमाथि कडा रुपले प्रस्तुत हुँदै आफूलाई सफल भन्न लाज लाग्दैन भन्दै प्रश्न गरे । उनले भने, “सुशासन कायम गर्न दुई–तिहाइको सरकार बन्यो भन्या छ । सरकार पैसा कमाउनमै व्यस्त छ ।’
सांसद अमनलाल मोदीले पनि वाइड बडी जहाज खरिद प्रक्रियामा कतै न कतै भ्रष्टाचार भएको आरोप लगाए । उनले पर्यटन सचिवलाई मात्र ल्याएर नहुने भन्दै मन्त्रीपनि ल्याउनु पर्ने माग गरे । केही सांसदले उपसमिति बनाएर विस्तृत अध्धयन गर्न पनि सुझाव दिएका छन् ।
यता ,महालेखा परिक्षकको बार्षिक प्रतिवेदन झुट हो भन्ने प्रश्नमा कंसाकारले सर्वोच्च निकायले गरेको प्रतिवेदनलाई झुटो नै भन्न नमिल्ने भनेपनि कंसाकार थप शंकाको घेरामा तानिएका छन् । उनको जवाफले आफूले गल्ती गरेकै हो भन्ने स्वीकारेको जस्तो देखिन्थ्यो ।
विभिन्न फोरममा यस विषयमा पटक–पटक उठेको प्रश्नमा निगमका महाप्रवन्धक कंसाकारले आफूले पारदर्शी ढंगले नै खरिद गरेको भन्दै आएका छन् । उनले सार्वजनिक खरिद ऐन र निगमको नियमावली अनुसार नै खरिद भएको बताउँदै आएका छन् । उनले बैठकमा पनि संसारको सबैभन्दा महंगो हवाइ गन्तव्य नेपाल भएकाले त्यसबाट मुक्ति हुन पनि बाइड बडीतर्फ गएको बताए ।
२०७३ असोज ७ गते बसेको निगम सञ्चालक समितिको बैठकले जहाज खरिद गर्ने प्रयोजनका लागि व्यवस्थापनबाट प्रस्तुत भएको आरएफपीलाई स्वीकृत गराई विभिन्न पक्षसँग गम्भीर छलफल गरेपछि मात्र उत्तम विकल्पको रुपमा दुईवटा वाइड बडी बिमान ए ३३०—२०० खरिद गर्न अन्र्तराष्ट्रिय स्तरको बोलपत्र आव्ह्वान गर्न स्वीकृति दिएको पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले बताए ।
यसरी उब्जियो बाइड बडी खरिद प्रकरणको विवाद
महालेखा परिक्षकको कार्यालयले वायुसेवा निगमको दुई वटा वाइड बडी खरिदमा गम्भीर त्रुटी भएको आफ्नो प्रतिवेदनमा भनेपछि यसले सबैको ध्यान खिच्यो । प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परिक्षक टंक मणि शर्माले भनेका थिए दुई वटा बाइड बडी बिमान खरिद प्रक्रिया र मूल्य निर्धारण दुवै हिसाबले त्रुटिपूर्ण रहेको छ ।
महालेखा परिक्षकको २०७४ र०७५ को ५५ औँ वार्षिक प्रतिवेदनले एयरबस निर्माता कम्पनीलाई छली बीचमा दलाल राख्ने उद्देश्यले एक हजार घण्टा उडेको जहाजका लागि आरएफपी जारी गर्नु र त्यसपछि तीन चार वटा दलाल खडा गरी खरिद प्रक्रिया अघि बढाउनु कानुनविपरीत भएको उल्लेख गरेको थियो । यद्यपि, विभिन्न समितिमा प्रवेश पाएको वाइड बडी खरिद प्रकरणमा घोटाला भएकै हो र त्यसको दोषी को भन्ने विषयको टुङ्गो लाग्न सकेको छैन ।
प्रतिक्रिया