कतारी राजकुमारी थानीद्वारा अन्नपूर्ण आरोहण
सारांश
- कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छिन्।
- इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार दिउँसाे ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् ।
- अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ।
कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छिन्।
इलाइट एक्सपिडिसनमार्फत उनी शनिबार दिउँसाे ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ।
पर्वतारोही निर्मल पुर्जा (निम्स) नेतृत्वको शेर्पाहरूको टोलीको सहयोगमा थानीले अन्नपूर्ण आरोहण गर्नुभएको इलाइट एक्सपिडिसनका निर्देशक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। टोलीमा रहेका मिङ्मातेन्जी शेर्पा, दोर्ची शेर्पा र तेजन गुरुङले पनि अन्नपूर्णकाे सफलतापूर्वक आरोहण गरे।
राजकुमारी अल थानीले यसअघि सगरमाथा, धवलागिरि, कञ्चनजङ्गा, लोहोत्से, आमादम्बा, मनास्लु, केटु हिमालको आरोहण गरिसकेकी छिन् । पेसाले चिकित्सक थानीले कतारको ओलम्पिक कमिटीको पनि नेतृत्व गरेकी छिन्। अन्नपूर्ण हिमाल आरोहणका लागि उनी गत फागुन २२ गते म्याग्दीमा पुगेकी थिइन्।
यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । विसं १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमण्ड हिलारी र तेन्जिन नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन्।
प्रतिक्रिया