कम्युनिष्ट पार्टीको चुनाव चिह्न ‘सूर्य’ कि ‘सूर्यभित्र हँसिया–हथौडा’!
सारांश
- टुंगिन बाँकी तीन विषय १.
- एकताको संख्या अनुपात कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ ।
- तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन ।
टुंगिन बाँकी तीन विषय
१. एकताको संख्या अनुपात
कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता ठूलो नहुने बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने भन्दै बढीभन्दा बढी हिस्सा लिने रणनीतिमा देखिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
२. विधानमा ‘जनयुद्ध’ शब्द थप्ने कि नथप्ने ?
विधान मस्यौदाको सुरुकै प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।
३. चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न प्रभावकारी हुने एमालेको तर्क छ ।
उपयुक्त समयमा एकता : प्रधानमन्त्री
अहिले भारत भ्रमणअघि कि पछि एकता ? एकता ढिलो भयो जस्ता चर्चा चलिरहेको छ । एकता प्रक्रियाबाट हुने हो, अघि पनि हुन सक्छ, पछि पनि हुन सक्छ । उपयुक्त ढंगले उपयुक्त समयमै हुन्छ, छिटो–ढिलो भन्ने हुँदैन,’ सोमबार मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ।
एमालेको विकल्प
सूर्य चिह्न बटमलाइन, जनयुद्धमा लचक
एमालेले एकताका लागि सूर्य चुनाव चिह्नलाई बटमलाइन बनाएको छ भने ‘जनयुद्ध’ शब्दलाई प्रस्तावनामा उल्लेख गर्न केही लचिलो देखिएको छ । ‘सूर्य चिह्नसहित भोलि कसैले एमाले पार्टी गठन गर्यो भने के हुन्छ ? सूर्य चिह्न छाडेर अर्को रोज्ने आत्मघाती काम हामीबाट हुनै सक्दैन,’ एकताको काममा सक्रिय एक नेताले भने, ‘बरु प्रस्तावनामा इतिहासका रूपमा माओवादीले जनयुद्ध अंगीकार गरेको थियो उल्लेख गर्न सकिन्छ ।’
अनुपात अधिकतम ४० प्रतिशत
एमाले केन्द्रदेखि तल्ला कमिटीसम्म माओवादीलाई बढीमा ४०% अनुपात सहभागिता गराउन लचक देखिएको छ । माले–माक्सवादी एकतामा केन्द्रको राष्ट्रिय प्रतिनिधि परिषद्मा बहुमत र तल्ला कमिटीमा दुईतिहाइ हिस्सा मालेकै रहेको एमालेको तर्क छ ।
माओवादीको विकल्प
चुनाव चिह्न सूर्यभित्र हँसिया–हथौडा
माओवादीले ‘जनयुद्ध’ शब्द प्रस्तावनामा राख्न एमाले सहमत भइसकेकाले सूर्यभित्र हँसिया–हथौडा चुनाव चिह्न राखेर सहमति खोज्न सकिने विकल्प अघि सारेको छ । ‘हामी दुई पार्टी एक भएर नयाँ पार्टी बनाउँदै छौँ, चुनाव चिह्न पनि दुवै पार्टी समेटिने गरी सूर्यभित्र हँसिया–हथौडा राख्दा सकारात्मक सन्देश जान्छ भन्ने हाम्रो भनाइ हो,’ माओवादी नेता देवेन्द्र पौडेलले भने ।
संख्याभन्दा समानताको स्पिरिट
माओवादीले समानताका आधारमा पार्टी एकता हुनुपर्ने स्पिरिट रहेकाले त्यस्तो भाव झल्किने गरी एकता हुनुपर्ने प्रस्ताव अघि सारेको छ । ‘दुवै पार्टी अध्यक्षको समान हैसियत हुने भएपछि तहगत संरचना पनि त्यही स्पिरिट मिलाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, यसमा विस्तृत छलफल हुन बाँकी छ,’ पौडेलले भने ।
Raj Kumar Shrestha
I think Surya easy to know everyone