कांग्रेसको १३ दिने केन्द्रिय समिति बैठकमा केके भए, अब के हुन्छ ?
सारांश
- काठमाण्डौ, १५ वैशाख ।
- नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठक १३ औँ दिन पनि जारी रहनेछ ।
- सम्भवत आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिनेछन्, र बैठक समापन हुनेछ ।
काठमाण्डौ, १५ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठक १३ औँ दिन पनि जारी रहनेछ । सम्भवत आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारीले दिनेछन्, र बैठक समापन हुनेछ ।
शनिवारकाे वैठकमा समितिमा महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी प्रतिवेशन प्रस्ताव पेश गर्नेछन् भने सभापति शेरबहादुर देउवाले नेतृत्वमाथि उठेका सवालको जवाफ दिने तयारी गरेका छन्।
महामन्त्री कोइरालाको प्रस्ताव प्रतिवेदन अन्तिम रुप दिन ढिलाई भएकोले हिजोको बैठक स्थगित भएको थियो ।
महामन्त्रीले आफ्नो प्रतिवेदन प्रस्ताव पेश गरेपछि सभापति देउवाले केन्द्रीय समितिमा उठेका सवालहरूको उत्तर दिनेछन् ।
१३ दिनसम्म चलेको बैठकमा केन्द्रिय सदस्यहरुले कांग्रेसले चुनावमा बेहोरेको पराजयको कारण, अबको बाटो र आरोप प्रत्यारोपमा समय खर्चिएका थिए ।
सभापति देउवाकै कारण निर्वाचनमा हार व्यहोरेको अधिकांश केन्द्रीय सदस्यको आरोप छ । देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन हुँदा पनि कांग्रेसको लज्जास्पद हार भएकोले यसको जिम्मा सभापतिले नै लिनुपर्ने उनीहरूको आरोप छ । यसबारे उनको जवाफको प्रतीक्षामा छन् केन्द्रीय सदस्यहरू।
केन्द्रीय सदस्यहरूले चाँडै महासमितिको बैठक डाक्नसमेत सभापतिलाई आग्रह गरेका छन् । महासमितिमा विशेष महाधिवेशनको प्रस्ताव लैजान यस्तो आग्रह गरेका हुन् । निर्वाचनमा मात्र नभई विधानसम्मत सभापति नचलेको र भातृ संगठनहरुको बेहाल भएको भन्दै महासमिति माग गरिएको हो । यसबारेमा पनि देउवाको सम्बोधनको पर्खाइमा केन्द्रीय सदस्यहरू छन् ।
नियमानुसार महाधिवेशनमा जाँदा ढिला हुने भएकाले ताजा मत लिनका लागि गगन थापालगायतका केन्द्रीय सदस्यहरूले अर्ली महाधिवेशनको माग गरेका छन् । यसका लागि विधान संशोधन गर्नुपर्ने हुन्छ ।
विधान संशोधन समिति गठन गरी यसबारे पनि सम्बोधन गर्नका लागि केन्द्रीय सदस्यहरूले दबाब दिएका छन् ।
कांग्रेसको १३ औँ महाधिवेशन सकिएको दुई वर्ष भइसकेको छ । तर पनि पदाधिकारीले पूर्णता पाएको छैन । उपसभापति, एक महामन्त्री, सहमहामन्त्रीको पद अझै रिक्त रहेको छ । त्यसै गरी सदस्यहरू पनि किस्ताबन्दीमा नियुक्त हुँदै आएको छ । आज देउवाले यसबारेमा पनि सम्बोधन गर्ने अनुमान गरिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम आउन कांग्रेसका कतिपय नेताले देउवाको राजीनामाको माग गरेका थिए । नैतिक रूपमा उनको राजीनामा आउनुपर्ने जिकिर ती केन्द्रीय सदस्यहरूले गरेका थिए । तर केन्द्रिय समित बैठकमा भने सभापतिको राजिनामा मागिएन ।
प्रतिक्रिया