कांग्रेसमा ‘टिकट छानबिन’ माग
सारांश
- निर्वाचन समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको संसदीय बोर्डले पछिल्लो चुनावमा अनियमित ढंगले टिकट दिएको भन्दै छानबिनको माग उठेको छ।
- मंगलबारको बैठकमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा.
- रामशरण महत र कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलगायत नेताले टिकट वितरणमा व्यापक अनियमितता देखिएको भन्दै छानबिनको माग गरेका छन्।
निर्वाचन समीक्षाका लागि बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको संसदीय बोर्डले पछिल्लो चुनावमा अनियमित ढंगले टिकट दिएको भन्दै छानबिनको माग उठेको छ। मंगलबारको बैठकमा कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत र कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङलगायत नेताले टिकट वितरणमा व्यापक अनियमितता देखिएको भन्दै छानबिनको माग गरेका छन्। निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा भएको व्यवस्थाविपरीत ‘संसदीय बोर्ड’ गठन गरेका थिए।
कांग्रेसको विधानमा १५ सदस्दीय संसदीय बोर्ड हुनुपर्ने उल्लेख भए पनि देउवाले १७ सदस्यीय बनाएका थिए। पार्टीभित्रको आन्तरिक भागबन्डा मिलाउन त्यस्तो बोर्ड गठन गरेको देउवाले बताएका थिए। निर्वाचनको नतिजा आएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले बोर्ड खारेजीको माग गरेका थिए। मंगलबार चौथो दिन बसेको बैठकमा नेता डा. महतले भने, ‘पार्टीले वितरण गरेको उम्मेदवारको टिकट प्रक्रियाको छानबिन हुनुपर्छ।’
केन्द्रीय सदस्य धनराज गुरुङले पार्टीका शीर्ष नेताहरूले टिकटलाई पैसामा लिलामी गरेको आरोप लगाए। सक्षमलाई भन्दा पैसावाललाई टिकट वितरण गरिएको आरोप लगाउँदै गुरुङले ‘लिलामीका टिकट’बारे न्यायिक छानबिन हुनुपर्ने माग गरे। गुरुङले टिकट वितरण क्रममा सभापति देउवासँगै वरिष्ठ नेता पौडेलको पनि दोष रहेको दाबी गरे। निर्वाचनमा पराजयपश्चात् ‘संसदीय बोर्ड विधानविपरीत टिकट वितरण भएको’ भन्ने हक पौडेललाई नभएको उनको भनाइ थियो। गुरुङले भने, ‘आफूले पाएसम्म केही नबोल्ने र पार्टी हारेपछि यसो भयो-उसो भयो भन्न मिल्दैन, गल्तीको सजाय सबैले पाउनुपर्छ।’
यसअघि सोमबारको बैठकमा केन्द्रीय सदस्य डा. शेखर कोइराला, गोविन्द भट्टराई, आनन्दप्रसाद ढुंगाना र रामकृष्ण यादवलगायतले पनि टिकट वितरणबारे प्रश्न तेस्र्याएका थिए। शीर्ष नेताहरूले आ-आफ्ना गुटबाहेक पार्टीमा काम गरेकाहरूलाई प्राथमिकतामा नराखेको भन्दै कोइरालाले असन्तुष्टि व्यक्त गरेका थिए। भट्टराईले पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बन्न के-कस्ता योग्यता हुनुपर्छ भनेर सभापतिसँग जवाफ माग गरेका थिए। चैत ९ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी छ।
मंगलबार बैठकमा नेता महतले कांग्रेसले १२ अर्बको बजेटलाई १२ सय अर्ब पुर्याए पनि पार्टी नेतृत्वले त्यसलाई सही ढंगले जनतालाई बुझाउन नसकेको आरोप लगाएका थिए। केन्द्रीय सदस्य मीनेन्द्र रिजालले सहकार्य गरिरहेको माओवादी केन्द्रसँगको गठबन्धन टुट्दा कांग्रेसलाई भएको सिट क्षतिबारे तथ्य प्रस्तुत गरेका थिए।
बैठकमा महत, रिजाल र गुरुङका साथै फरमुल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, बद्री पाण्डे, पार्वता डिसी चौधरी, श्यामकुमार घिमिरे, अत्तहर कलाम मुसलमान र हसन अन्सारी गरी ११ जनाले धारणा व्यक्त गरेका थिए। बैठक १५ गते बिहान ९ बजे पुनः पार्टी कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ। जारी केन्द्रीय कार्यसमिति बैठकमा सबै केन्द्रीय सदस्यले आफ्नो धारणा राखिसकेपछि पदाधिकारीहरूले बोल्नेछन्। मंगलबारसम्म ३३ जनाले धारणा व्यक्त गरिसकेका छन्। बैठकमा उठेका सम्पूर्ण विषयमाथि सभापति देउवाले अन्तिममा जवाफ दिने बताइएको छ।
प्रतिक्रिया