कांग्रेसमा ‘नवजीवन’को बहस

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसमा ‘नवजीवन’को बहस

सारांश

  • २०७० सालको निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको मतपरिणाममा तेस्रो स्थानमा झरेको छ ।
  • समानुपातिकको मतगणना जारी रहँदा कांग्रेस दोस्रो दल बन्नका लागि संघर्षरत छ ।
  • एक सय ६५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षमा कांग्रेस २२ सिटमा सीमित छ ।

२०७० सालको निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्षतर्फको मतपरिणाममा तेस्रो स्थानमा झरेको छ । समानुपातिकको मतगणना जारी रहँदा कांग्रेस दोस्रो दल बन्नका लागि संघर्षरत छ । एक सय ६५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षमा कांग्रेस २२ सिटमा सीमित छ । रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, डा. शेखर कोइराला, महेश आचार्य, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत पार्टीका शीर्ष नेताहरू नै पराजित भएका छन् । प्रदेश सभाका प्रत्यक्षतर्फका तीन सय ३० सिटमध्ये कांग्रेसले ३९ सिट मात्रै जितेको छ ।

यसरी, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा कमजोर बनेपछि कांग्रेसभित्र आरोप–प्रत्यारोपको राजनीति सुरु भएको छ । पार्टीका नीति, कार्यक्रम र संगठनको कार्यशैलीमा समयानुकूल परिवर्तन गर्नुपर्ने दबाब नेताहरूले दिन थालेका छन् ।

‘वाम गठबन्धनको कारण र क्षमताले मात्र होइन, नेपाली कांग्रेसभित्रको आन्तरिक कैयन कमजोरी र अन्तर्घातले पार्टीले यसपटकको निर्वाचनमा विगतमा कहिल्यै नदेखिएको यो हदसम्मको परिणाम भोग्नुपरेको हो,’ तनहुँबाट अप्रत्याशित हार व्यहोरेका रामचन्द्र पौडेलले मंगलबार फेसबुकमा लेखेका छन्, ‘यो पराजयको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ अनि नयाँ नीति, कार्यक्रम र संगठनमा समयानुकूल परिवर्तन गरी पार्टीलाई नवजीवन दिनुपर्छ ।’

अर्का युवा नेता विश्वप्रकाश शर्मा अहिलेकै शैलीले कांग्रेस नचल्ने बताउँछन् । ‘निर्वाचनको परिणामपछि कांग्रेस घाटमा होइन, अस्पतालमा छ । राम्रो ढंगले उपचार भयो भने जीवन प्रारम्भ हुन्छ, नत्र जीवन रहँदैन । पार्टीभित्र कहाँ–कहाँ समस्या हो, सही डाइग्नोसिसको समय आएको छ,’ शर्माले भनेका छन्, ‘समस्या सामान्य भए सिटामोलले ठीक गर्छ, अलि गाह्रो भए एन्टिबायोटिक दिनुपर्छ । जटिल नै हुने भए अप्रेसन गर्नुपर्छ । तर, अब अहिलेकै शैलीले कांग्रेस चल्दैन । यसका लागि अब तत्काल केन्द्रीय समिति बैठक बोलाएर समस्याबारे गम्भीर भएर छलफल गर्नुपर्छ ।’

कांग्रेसका अर्का नेता गुरुराज घिमिरे पनि कांग्रेसलाई नवीकरण गर्नुपर्ने वेला आएको बताउँछन् । ‘श्रीमती, छोरा, भाइ, भतिज र पैसावालालाई टिकट दिँदा मतदाता हामीसँग नराम्रो गरी रिसाएको मतपरिणामले देखाएको छ’ घिमिरेले नयाँ पत्रिकासित भने, ‘अब फेरि पनि कांग्रेस पुरानै ढर्रामा चल्न सक्दैन । पार्टीमा उपयुक्त छलफल गरेर पार्टीको नवीकरण नै गर्नुपर्छ ।’

नेता रामचन्द्र पौडेल पक्षधरहरूले देउवाको चुनावी रणनीति र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । देउवाले निरन्तर ‘कम्युनिस्ट अधिनायकवाद’भन्दा अरू एजेन्डालाई मतदातासमक्ष लान नसकेको, प्रभावकारी रूपमा कांग्रेसका एजेन्डा लाने जिम्मेवारी नेताहरूलाई नदिएको, चुनावी प्रचारमा स्रोत–साधनको आफैँले मात्र प्रयोग गरेको, अर्को पक्षलाई अवसर नै नदिएकोजस्ता असन्तुष्टि उनीहरूले व्यक्त गरेका छन् । अनुशासनहीनता, आन्तरिक कमजोरी र अन्तर्घातका कारण कांग्रेस पराजित भएकाले हारको जिम्मा सभापति देउवाले लिनुपर्ने उनीहरूको भनाइ छ ।

प्रचारमै चुकेको तर्क
वाम गठबन्धन बने पनि कांग्रेसले एक सय ५३ मध्ये जम्मा २२ सिटमा सीमित हुनुपर्ने सोचेको थिएन । बरु ४५ देखि ५० सिट सहज रूपमा जित्ने कांग्रेसको अनुमान थियो । तर, परिणाम त्यस्तो आएन । पार्टीले गरेका सकारात्मक कामको प्रचार गर्न नसक्नु नै नसोचेको परिणाम आउनुको प्रमुख कारण रहेको केही नेताहरू बताउँछन् ।

‘कांग्रेसले राष्ट्रिय रूपमा गरेका शान्तिप्रक्रिया, संविधान निर्माणको अगुवाइ र एउटा पनि गोली नचली स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन गराउने आधार तयार गर्‍यो, तर आफैँले गरेका कामको सही र प्रभावकारी प्रचार गर्न हामीले सकेनौँ,’ युवा नेता विश्वप्रकाश भन्छन्, ‘हाम्रा विरोधीले हामीलाई आरोपित मात्रै गरे, तर हामी प्रतिरक्षात्मक रूपमा चुनाव लड्यौँ, यसैले पराजित हुन पुग्यौँ । प्रचार रणनीतिमा एमाले र माओवादीले जसरी मिडिया उपयोग गरे, त्यसरी कांग्रेसले गर्न सकेन ।’

‘सडकमा होइन, पार्टीमै छलफल गरौँ’
सभापति शेरबहादुर देउवानिकटका नेता डा. प्रकाशशरण महत कांग्रेसको भोट–प्रतिशत नघटे पनि दुई कम्युनिस्ट मिल्दा कांग्रेस कमजोर देखिएको बताउँछन् । ‘हाम्रो भोट–प्रतिशत घटेको छैन । दुई कम्युनिस्ट मिलेपछि कांग्रेस अप्रत्यक्ष पराजित भएको हो,’ महतले भने, ‘ध्रुवीकरणमा हाम्रो खास भोट घटेन । उनीहरूको जोडिँदा हामी हार्‍यौँ । समानुपातिकमा हामी एमालेभन्दा कम हुँदैनौँ ।’

अनपेक्षित परिणाम आएपछि सभापतिको राजीनामासम्मका विषय उठेका छन् । तर, महत पार्टीमा छलफल नै नगरी हचुवाको भरमा सडकमा बोल्दैमा केही नहुने बताउँछन् । ‘नयाँ पुस्तालाई हस्तान्तरण गर्ने भनेको कसलाई गर्ने ? यसका पनि विधि र प्रक्रिया छन् । छलफल हुनुपर्‍यो । हरेक विषयमा सामूहिक निर्णय हुँदै आएका छन् । राम्रो हुँदा प्रशंसा, अनि केही खस्किँदा खेद्ने शैली राम्रो होइन,’ उनले भने, ‘केन्द्रीय समिति र कार्यसम्पादन समितिमा छलफल गर्नुपर्छ । त्यसपछि, पार्टीलाई थप प्रभावकारी बनाउन कसले कस्तो जिम्मेवारी पाउने, कसरी जाने भन्ने निष्कर्ष निकालौँ । सडकमा बहस गरेर कांग्रेसको हित हुँदैन ।’

शेरबहादुर देउवाको मात्रै शैली नबिग्रेको भन्दै उनले पार्टी सञ्चालन पहिलेकै शैलीको निरन्तरता भएको प्रस्ट्याए । ‘देउवाजीको मात्रै शैली फरक भएको होइन, पार्टी सञ्चालनको निरन्तरता मात्रै हो,’ उनले भने, ‘पार्टी, सञ्चालनको शैली र पद्धतिमा परिवर्तन आवश्यक छ । यसका लागि पार्टीका विभाग, पार्टीका संरचना सक्रिय र जीवन्त बनाउनुपर्छ । पार्टीभित्र अनुशासन कायम गर्नुपर्छ ।’

अन्तिम परिणामपछि बैठक
पार्टीले अनपेक्षित परिणाम व्यहोरेपछि केन्द्रीय समितिको बैठक डाकेर समीक्षा गर्न सभापति देउवामाथि दबाब परेको छ । उनले निर्वाचनको अन्तिम परिणाम आएपछि केन्द्रीय बैठक बोलाउँदै छन् । ‘निर्वाचनमा कांग्रेसले अस्वाभाविक परिणाम ल्याएको छ । यस विषयमा समीक्षा हुन्छ,’ केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले नयाँ पत्रिकासित भने, ‘मतगणना सकिएपछि सभापतिले आफ्नो धारणा सार्वजनिक गर्नुहुन्छ, त्यसपछि मात्रै केन्द्रीय समितिको बैठक बोलाएर चुनावी परिणामको समीक्षा हुनेछ ।’

देउवाले स्थानीय तहदेखि प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन गराउनुलाई नै उपलब्धि ठान्ने गरेको उनीनिकटका नेताहरू बताउँछन् ।

प्रतिशत बढाउन दबाब
नेता प्रकाशशरण महतले वाम गठबन्धन बनेपछि अब कांग्रेसलाई ३६ प्रतिशत मतमै सीमित हुने सुविधा नभएको बताए । ‘वाम गठबन्धन बनेपछि हामीलाई अब ३६ प्रतिशत होइन, ४६ प्रतिशत मत बनाउने दबाब आएको छ,’ महतले भने, ‘यसका लागि पार्टीलाई एकताबद्ध गर्ने, प्रोपोगान्डालाई व्यवस्थित बनाउने र कार्यशैली बदलेर जानुपर्छ ।’नयाँपत्रीका बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …
आमा जयालाई एक्लै छोडेर अभिषेक ऐश्वर्याको पछि लागेपछि …
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
आजदेखि नेपाली नयाँ वर्ष २०७६ शुरु, के छ तपाइँको संकल्प!
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
मापसे गरी सवारी चलाउने चार सय २३ चालकको सवारी अनुमतिपत्र खारेज
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
संसदमा प्रधानमन्त्रीको सम्वोधन : एमसीसी पारित गर्नु पर्नेछ
Will be Mail Buy Spouse Legalities Working For Me personally?

तपाईंले छुटाउनुभयो कि?