कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १२, २०७९
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।
  • नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्।

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन्। यसका लागि सत्ता साझेदार दलहरुको बैठक आज बस्दैछ।

प्रधानमन्त्रीले आज सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारी गर्नुभएको नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएपनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरिरहनुभएको उनले बताए।

हिजो बसेको माओवादी पदाधिकारी बैठकले पनि भोलिसम्ममा मन्त्रिपरिषद विस्तार गरी डेलिभरीका कामलाई तीव्रता दिने निर्णय गरेको थियो । कांग्रेसले ८, माओवादीले ५ र जसपाका साथै नेकपा एकीकृत समाजवादीले २–२ वटा मन्त्रालय पाउने गरी सत्ता साझेदार दलबीच छलफल अघि बढेको बताइएको छ । सबैलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिँदा हाल माओवादीले सम्हाल्दै आएका केही मन्त्रालय हेरफेर हुन सक्ने पनि नेताहरुको भनाइ छ ।

यसैबीच नेकपा माओवादी केन्द्रले सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पुर्‍याउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको छ ।

गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने विषयमा समेत बैठक केन्द्रित भएको थियो ।

त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धका बारेमा छलफल भएको थियो । सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव देवेन्द्र पौडेलले बताए।

यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ । सात प्रदेशमध्ये दुईवटा प्रदेशमा माओवादी नेतृत्वको सरकार छ । अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सरकार विस्तार तयारी छ । सातै प्रदेशमा आलोपालो संरचनाअनुरुप अघि लाने भन्ने विषयमा पनि कुराकानी भएको सचिव पौडेलको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?