काउन्टर नखुल्दा बसपार्कमा लफडा, सुरक्षा बढाइयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
काउन्टर नखुल्दा  बसपार्कमा लफडा,  सुरक्षा बढाइयो

सारांश

  • काठमाडौं, ९ असाेज ।
  •  पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा  बसपार्कमा पुगेकाे यात्रुहरू अाक्राेशित बनेका छन् ।
  •   मंगलबार बिहानै पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा केहीबेर यात्रु अन्योलमा परेका थिए ।

काठमाडौं, ९ असाेज । पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा  बसपार्कमा पुगेकाे यात्रुहरू अाक्राेशित बनेका छन् ।  मंगलबार बिहानै पश्चिमाञ्चल यातायातको काउन्टर नखुल्दा केहीबेर यात्रु अन्योलमा परेका थिए । बिहान ५ बजे खोल्नुपर्ने काउन्टर ८ बजेसम्म पनि नखुलेपछि बिहानै टिकट लिन बसपार्क पुगेका यात्रुहरू आक्रोशित बनेका हुन् ।

नयाँ बसपार्क सञ्चालक लोत्से बहुउदेश्यीय प्रा.लि. र व्यवसायीबीच प्रभावकारी समन्व नहुँदा पश्चिमाञ्चल यातायातले टिकट खुल्ने समय थाहा नपाउँदा समस्या भएको महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन विक्रम केसीले बताए ।

सो काउन्टरले पनि बिहान ८ बजेदेखि टिकट बुकिङ खुल्ला गरिसकेकाले अहिले शान्तिपूर्ण रूपमा यात्रुले सेवा लिइहेका केसीले जानकारी दिए ।नयाँ बसपार्कमा बिहानैदेखि उत्साहजनक रूपमा बुकिङ भइरहेको उनको भनाइ छ । काठमाडौंको विभिन्न स्थानमा रहेका काउन्टरहरूमा मंगलबार बिहानैदेखि बुकिङ शुरू भएको हो । लामो दूरीको यात्राका लागि नयाँ बसपार्कका सबै काउन्टरबाट बुकिङ भइरहेको छ ।

अरनिको राजमार्गमा चल्ने बसको टिकट बुकिङ भोलि बुधबारदेखि खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले अरनिको राजमार्गमा चल्ने बसका लागि पुरानो बसपार्क, कोटेश्वर र चाबहिलबाट टिकट बुकिङ हुने जानकारी दिए ।  

नेपालीहरूको महान पर्व दशैंका लागि घर फर्किन अग्रिम टिकट बुकिङ गराउन काउन्टरहरूमा यात्रुको भीड लागेको छ ।

पश्चिम नेपाल जाने टिकट खुलेन

पश्चिम नेपाल यातायात व्यवसायी सङ्घले टिकट नखुलाउँदा पश्चिम नेपालका पाल्पा, गुल्मी, अर्घाँखाची, बुटवल, भैरहवालगायतका जिल्लामा जाने यात्रुले टिकट पाउन सकेका छैनन् ।गुल्मीको तम्घास जान सोमबार बेलुका ९ बजे टिकट काट्न बसपार्क पुगेका विष्णु पोखरेल टिकट बुकिङ नहुँदा अन्योलमा परेका छन् । काठमाडौँको कोटेश्वरमा बस्ने उनी टिकटका पाउने आशमा हिजोदेखि नै बसपार्क आएर बसेका थिए ।

अर्घाखाँची जाने टिकट काट्न बिहान २ बजेदेखि कीर्तिपुरबाट नयाँ बसपार्क पुगेकि राधा शर्मा पनि टिकट बुकिङ खुला नहुँदा अलमलमा थिए । पश्चिम नेपाल यातायात व्यवसायी सङ्घ भने नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी लिएको ल्होत्से बहुउदेश्यीय प्रालिले टिकट काट्नका लागि ठाउँ उपलब्ध नगराउँदा आफूले टिकट काट्न नसकेको बताउँछन् । ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ने भनेर असोज ४ गते नै सबै समिति र प्रालिलाई टिकट काउण्टर छुट्याइसकिएको बताउनुहुन्छ । एक हजार सवारी साधन पार्किङ गर्न सकिने नयाँ बसपार्कमा हाल देशका विभिन्न भागमा जानका लागि ७४ काउण्टर सञ्चालनमा रहेका छन् ।

नयाँ बसपार्कको सुरक्षा बढाइयो

दशैँ शुरु भएसँगै नयाँ बसपार्क क्षेत्रको सुरक्षा बढाइएको छ । नेपालको एक मात्र राष्ट्रिय बसपार्कबाट दशैँका लागि लाखौँ मानिस बाहिरिने भएकाले सो क्षेत्रको सुरक्षा बढाइएको हो ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख एवं प्रहरी निरीक्षक मोहनविक्रम केसी दशैँको सुरक्षाका लागि थप जनशक्ति माग गरिएको बताउछन् । “दशैँमा आपराधिक गतिविधि नहोस् भन्नका लागि दशैँ सुरक्षा योजनासमेत तयार गरिसकेका छौँ”, उनी भन्छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?