काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
५० पटक हेरिएको
Shares
काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।

सारांश

  • सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली आफ्नै कारणले भड्खालोमा परे ।
  • पदमा पुग्न, पुगिसकेपछि टिक्न र अझ नक्कली कागजातका आधारमा पदावधि लम्ब्याउन उनले जुन हदसम्मका क्रियाकलाप गरे, त्यो अत्यन्त घृणित त थियो नै ।
  • न्यायपालिका प्रमुखको तहबाट यो हदसम्म हुनु भनेको विश्व जगतमै नेपाल राज्य र पद्धतिको धज्जी उडाउने काम थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली आफ्नै कारणले भड्खालोमा परे । पदमा पुग्न, पुगिसकेपछि टिक्न र अझ नक्कली कागजातका आधारमा पदावधि लम्ब्याउन उनले जुन हदसम्मका क्रियाकलाप गरे, त्यो अत्यन्त घृणित त थियो नै । न्यायपालिका प्रमुखको तहबाट यो हदसम्म हुनु भनेको विश्व जगतमै नेपाल राज्य र पद्धतिको धज्जी उडाउने काम थियो । यस्ता पात्रमाथि सार्वजनिक तहबाट प्रश्न उठ्न थालेपछि विधिसम्मत तरिकाले यसको सम्बोधन गरिनुपथ्र्यो । सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशका आचरण र क्रियाकलापका बारेमा छलफल गर्ने थलो संसद हो । तर, हाम्रो संसदले प्रधानन्यायाधीश पद ओगटेर बसेका पात्रको ताण्डवको रमिता हेरेर बस्यो ।

आमसञ्चार माध्यम, बौद्धिक जगतदेखि जनसाधारणले न्यायिक नेतृत्वबाट भइरहेको पद र ओहोदाको दुरुपयोगको विरोध गर्दा पनि ससंदले यसबारे छलफलको आवश्यकता देखेन । सार्वजनिक जवाफदेहिताका दृष्टिले हाम्रा नेताहरुमा रहेको निम्छरोपनाको एउटा पाटो हो यो ।
हुँदाहुँदा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको योग्यतामाथि प्रश्न उठाउँदै भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्चकै अर्का न्यायाधीश चोलेन्द्रशमशेर राणाले गत साउन २१ बाटै पदमुक्त भइसकेको आदेश जारी गरे । प्रधानन्यायाधीश नेतृत्वको सात न्यायाधीशको इजलासमा रहेका बाँकी न्यायाधीश रायविहीन भए । प्रधानन्यायाधीशको कमजोरीमा टेकेर राणाले चौका हाने । मूलधारका सञ्चार माध्यममा राणाको प्रशंसामा ताली बज्यो । सर्वोच्चकै अन्य आठजना न्यायाधीश राणाको आदेश शिरोपर गरी बेन्च बहिष्कारमा लागे ।

न्यायपरिषदका सचिवले प्रधानन्यायाधीश त गएको साउनमै निवृत्त भइसकेका रहेछन् भनेर जानकारीपत्र प्रेषित गरे । त्यो पनि कस्तो समयमा भने, यता राष्ट्रप्रमुख आफ्नो शपथ लिँदै छन्, उता शपथ दिलाउने प्रधानन्यायाधीश पदमै नरहेको घोषणा भइसक्यो । यता शपथ, उता बर्खास्त भनेर दुवै दृश्यसहितका समाचार संसारभर प्रसारण गरियो । त्यो दृश्यले राष्ट्रप्रमुखको ओहोदाको मान भयो कि अपमान ? राष्ट्रप्रमुखको शिर उठ्यो कि गि¥यो ? यो बेग्लै पक्ष छ । यस खालको जात्रा देखिएको नेपालको न्यायिक इतिहासमै पहिलोपल्ट हो ।

बलात्कार घटनामा मिलापत्र गरेजस्तै संसदमा छिनोफानो हुनुपर्ने विषय संसदबाहिरै सामसुम पार्न खोजेको देखियो । सार्वजनिक जवाफदेहिताका कोणबाट हेर्दा संसद र सांसदहरु यस मामिलामा नराम्रोसँग चुकेका छन् । अझभन्दा जननिर्वाचित प्रतिनिधिहरु कर्तव्यच्यूत भएको एउटा दृष्टान्त हो यो । न्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लाग्दा त्यसलाई निष्क्रिय पार्ने आदेश दिएका थिए । अर्थात्, त्यतिखेर उनले कार्कीको थमौती गरेर चर्चा कमाए ।

यतिखेर सर्वत्रबाट बेइज्जती कमाएका प्रधानन्यायाधीशलाई पदमुक्त घोषणा गरेर चर्चा कमाए । यी दुवै आदेशले उनलाई ‘हिरो’ त बनाएको छ तर यसले गम्भीर विधिशास्त्रीय प्रश्न पनि सिर्जना गरेको छ । एक, न्यायाधीश र प्रधानन्यायाधीशलाई कारवाही गर्ने र कारवाहीबाट जोगाउने थलो सर्वोच्च होइन । यसो हुने हो भने भोलि यस्तो पनि कुनै दिन आउनेछ, अदालतका न्यायाधीश नै एकअर्कालाई रेट्नतिर लाग्नेछन् । झ्याली पिट्ने एउटा मिडिया, पछाडिबाट काँध थाप्ने एउटा राजनीतिक शक्ति र सडकमा नारा लगाउने एउटा स्वार्थ समूह हुने हो भने अदालतबाट जे आदेश गरे पनि हुने स्थिति बन्ने भयो ।
राणाले ‘पपुलिज्म’का निम्ति गरेका यी दुवै आदेशले सार्वभौम संसदको अधिकार क्षेत्र हनन गरेको छ । महाभियोगसम्बन्धी संवैधानिक प्रावधानलाई निष्क्रिय बनाएको छ ।

सुशीला कार्कीमाथिको महाभियोग आफैमा प्रतिशोधपूर्ण थियो । तत्कालीन सत्ताधारी दलले आफ्ना भ्रष्ट र बदनियतपूर्ण कार्यलाई ढाकछोप गर्ने नियतले महाभियोग दर्ता गरेका थिए । त्यस्तो महाभियोगलाई निष्क्रिय बनाउने अन्य बाटा हुँदाहुँदै राणाले एउटा भावुक अन्तरिम आदेश दिएर आफ्नै अयोग्यताको प्रमाण दिए । उक्त आदेशमा कुनै पनि न्याय, कानुन र संविधानको प्रावधान उद्धरण गरिएको छैन । पराजुलीलाई पदमुक्त गर्ने आदेश त आफ्नै सहकर्मीमाथि गरिएको प्रहार नै भइहाल्यो । यसको अर्थ राणाले न्यायालयभित्रका विकृति, विसंगति र विचलनहरुप्रति मुन्टो बटारेर बस्नुपथ्र्यो भन्ने होइन । तर, त्यसलाई विधिसम्मत तरिकाले किनारा लगाउन सहयोग गर्नुपथ्र्यो । विधि समृद्ध बनाउन नचाहनेहरु एक त व्यक्तिगत ‘पपुलिज्म’तिर लाग्छन्, अर्कोतिर व्यक्तिगत स्वार्थसिद्धिमा उद्यत रहन्छन् ।

राणाले खोजेको ‘पपुलिज्म’ आफ्ना कमजोरीहरुको ढाकछोपका निम्ति हो । विगतमा उनले विशेष अदालतमा छँदा भ्रष्टाचारीहरुलाई सफाइ दिएर बदनामी कमाए । कानुनी र नैतिक धरातल हेर्ने हो राणाको पनि पराजुलीको भन्दा कम खराब छैन । सर्वोच्च अदालतले नै उनले ‘जसरी पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिने नियतले कानुनको अपव्याख्या गरेको’ ठहर गर्दै कारवाही गर्नुपर्ने फैसला गरेको छ । एउटा न्यायाधीशमाथि योभन्दा ठूलो अक्षम्य आरोप अर्को हुन सक्दैन । यसले उनको योग्यतामाथि मात्रै होइन, नियतमाथि नै खोट देखाएको छ र त्यो सर्वोच्च अदालतबाटै स्थापित भइसकेको छ । सर्वोच्च अदालतमा पनि धेरैवटा विवादित फैसला यिनको इजलासबाट भएका छन् । तीमध्ये अधिकांशमा उनले गोपाल पराजुलीसँगै इजलास ‘सेयर’ गरेका छन् ।

यसले पनि के देखाउँछ भने पराजुलीसँग यिनको कारोबार जोडिएको छ । र, पराजुलीमाथि चौतर्फी आक्रमण बढेपछि आफू पानीमाथिको ओभानो बन्न एक थान पपुलिस्ट आदेश गरेका छन् । यसअघि सुशीला कार्कीकै पालामा उनीमाथि कारवाहीको तयारी हुँदै थियो । त्यहीबीचमा कार्कीमाथि महाभियोग लाग्यो र महाभियोग रोक्न राणाले आदेश दिएर कार्कीलाई नै गुन लगाइदिए । कार्कीलाई पनि नैतिक संकट प¥यो, गुनको बदला कठोर निर्णय गर्न । अहिले केही मिडियाहरुलाई अप्ठेरो परेको अवस्थामा राणाले गुन लगाएका छन् । भोलि त्यसैगरी सत्ताधारीहरुका गल्तीमा न्यायिक छाप लगाएर गुन लगाएछन् भने पनि अन्यथा नहुने भयो । कम्तीमा नेकपा एमालेले यस्ता प्रवृत्तिलाई संरक्षण गर्नुहुन्न । पराजुली नामको काउसो पन्छिएकोमा एमाले रमाउनुभन्दा पनि राणा प्रवृत्ति पल्किएकोमा चिन्तित हुनुपर्छ ।

-विशाल छेत्रीले Drishti news  मा लेखेका छन !

 

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Purna Thami

    सफलताकाे कामना!

    Comment Author

    Prabina Ghale

    कुइयर डुङ डुङ गनायको अदालत ढुसी परेर किरा पर्दै छ सफाईको आवासेक्ता

    Comment Author

    Prabina Ghale

    यो युग देखी गनायको अदालत

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
‘अग्र्यानिक गोदक’ को औपचारिक शुभारम्भ
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
नेपालले तेस्रो मुलुकबाट गर्ने आयातमा लगाएको सेवा शुल्क हटाउने भारतको घोषणा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
रातो मच्छिन्द्रनाथको भोटो जात्राः उपत्यकामा आज सार्वजनिक विदा
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
चैत १९ मा मोदीसँग भेट्ने गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका सार्वजनिक
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
श्रीस्वस्थानी व्रत सुरु, एक महिनासम्म कथा वाचन गर्ने सुनाउने प्रचलन
तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने