काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
काठमाडौंमा प्रेमिकाको हत्या, दुबईमा पक्राउ

सारांश

  • आफ्नै प्रेमिका प्रयोग गरी व्यापारीको अपहरण गराउने, पैसा असुल्ने र त्यसपछि प्रेमिकाकै हत्या गर्ने युवकलाई प्रहरीले दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ ।
  • भक्तपुरका प्रकाश लामिछानेलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो ।
  • उनले गत ५ फागुनमा प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरी असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए ।

आफ्नै प्रेमिका प्रयोग गरी व्यापारीको अपहरण गराउने, पैसा असुल्ने र त्यसपछि प्रेमिकाकै हत्या गर्ने युवकलाई प्रहरीले दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । भक्तपुरका प्रकाश लामिछानेलाई नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याएको हो ।

उनले गत ५ फागुनमा प्रेमिका राधिका श्रेष्ठलाई प्रयोग गरी असनका व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरेका थिए । सुन्धाराको होटेलमा बन्धक बनाई पैसा असुलेपछि छाडिदिएका थिए । घटनामा आफू फस्ने डरले सूचना लुकाउन त्यही दिन उनले प्रेमिकाको पनि हत्या गरेका थिए । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले ‘रेडकर्नर’ नोटिस जारी गरेको थियो । उनी दुबईमा भागेको सूचनाका आधारमा प्रहरीले ‘रेडकर्नर’ नोटिस जारी गरेको हो । दुबईको प्रहरीले उनलाई पक्राउ गरी नेपाल निष्कासन गरेको थियो । नेपाल प्रहरीको इन्टरपोल शाखाकी एसपी किरण बज्राचार्य नेतृत्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी महानगरीय अपराध महाशाखामा बुझाएको छ ।

होटेलमा बोलाएर अपहरण

मख्खन गल्लीस्थित न्यु डालिज सारी र सारी संसारनामक पसल चलाउने अग्रवालकै पसलमा काम गर्थिन् राधिका । अग्रवालसँग राधिकाको निकटता थियो । त्यो कुरा प्रकाशलाई थाहा थियो । त्यही सम्बन्धलाई प्रयोग गरी उनले अपहरण गरी पैसा असुल्ने योजना बनाएका हुन् ।

योजनाअनुसार नै गत ५ फागुन दिउँसो करिब १ बजे राधिकाले अग्रवाललाई फोन गर्दै भेट्न सुन्धाराको सनराइज गेस्टहाउसमा बोलाइन् । होटेलको ४०४ नम्बर कोठामा युवतीसँग बसिरहेकै वेला ‘हामी सिआइबीबाट आएका प्रहरी हौँ, गेस्टहाउसमा आएर यस्तो गतिविधि गर्ने’ भन्दै केही व्यक्तिले अग्रवाललाई धम्क्याए । उनीहरूले बलात्कारदेखि विभिन्न मुद्दामा फसाउने डर देखाए । आफ्नो बेइज्जत हुने डरले अग्रवाल तत्काल पैसा दिन तयार भए ।

तर, उनले ७० हजार रुपैयाँ मात्र बोकेर गएका थिए । तिनै युवतीलाई पसलमा पठाएर १० लाखको चेक दिन लगाएका थिए । सो चेक लिई युवतीले पैसा बैंकबाट निकालेपछि अग्रवाललाई होटेलमै हातखुट्टा बाँधेर बाहिरबाट चुकुल लगाएर लामिछानेको समू्ह भागेको थियो । ढोका ढकढक गरेको सुनेपछि होटेलका ग्राहकले कर्मचारीलाई खबर गरी ढोका खोलेर हेर्दा अग्रवाल हातखुट्टा बाँधिएको र मुखमा पट्टी लगाएको अवस्थामा फेला परेका थिए ।

बोरामा प्रेमिकाको शव

हत्यामा लामिछानेका साथी किशोर गिरी र सरोज घोरासैने पनि संलग्न थिए । उनीहरू दुई–दुई लाख रुपैयाँ लिएर ट्याक्सी चढी भक्तपुर गए । प्रकाश र राधिका अर्काे ट्याक्सी चढेर भक्तपुरको बागेश्वरीस्थित प्रकाशको घरमा पुगे । सो घर खाली थियो । बेलुका चारैजना त्यही घरमा जम्मा भएका थिए । पैसा हात पारे पनि उनलाई प्रहरीले पक्राउ गर्ने डर थियो । अग्रवालकै पसलमा काम गर्ने भएकाले सुुरुमा राधिकामाथि नै प्रहरीको अनुसन्धान हुने र त्यसपछि आफू पनि फस्ने डर उनमा थियो । जसकारण घाँटी कसेर राधिकाको हत्या गरेपछि उनले नजिकै मुहान पोखरीमा शव फालेका थिए ।

महिना दिनपछि खुलेको थियो रहस्य

अपहरणमा संलग्न भएकाले राधिका फरार भएको प्रहरी अनुमान थियो । तर, अपहरणको १५ दिनमा युवतीको शव भेटिएपछि अनुसन्धानले नयाँ मोड लियो । हत्यापछि पक्राउ पर्ने डरले प्रकाश र किशोर भारत गएका थिए भने सरोज भने काठमाडौंमै बस्दै आएका थिए । किशोर भारतबाट फर्कंदा–फर्कंदै ९ चैतमा विमानस्थलबाट पक्राउ परे ।

सरोज मुख्य अभियुक्त प्रकाशकै मामाका छोरा हुन् । उनी प्रकाशकै परिवारसँग बस्दै आएका थिए । हत्यापछि पक्राउ पर्ने डरले उनी भारत हुँदै दुबई गएका थिए । प्रहरीले पत्ता लगाएपछि उनीविरुद्ध गत असारमा ‘रेडकर्नर’ नोटिस जारी गराएको थियो । चार महिना लामो मिहिनेतपछि उनलाई पक्राउ गरी नेपाल ल्याउन सफल भइएको इन्टरपोलका शाखाका प्रहरी अधिकारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?