हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७३
|
|
१४९९ पटक हेरिएको
Shares
हेरौ कसरी बन्छन देउवा प्रधानमन्त्री : गृहमन्त्री निधि

सारांश

  • काठमाडौं, २५ चैत– झट्ट हेर्दा दुई उपप्रधानमन्त्रीको वरियता विवादले सत्ताराजनीतिक बृत्तमा आँधी नै आउन लागेको देखिएको छ ।
  • तर, सतहमा आएजस्तो उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि र अर्का उपप्रधानमन्त्री कमल थापाबीचको वरियता विवादले सत्तारुढ कांग्रेस माओवादी सम्बन्ध चिसिएको भने छैन ।
  • गृहमन्त्री निधिले बिहीवार पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुको बैठक राखेपछि आफूलाई क्रस गरेको भन्दै निधिसँग क्रुद्ध बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले निधिको धम्कीबाट नडराउन प्रधानमन्त्री दाहाललाई सन्देश पठाइसकेका छन् ।
काठमाडौं, २५ चैत–
झट्ट हेर्दा दुई उपप्रधानमन्त्रीको वरियता विवादले सत्ताराजनीतिक बृत्तमा आँधी नै आउन लागेको देखिएको छ । तर, सतहमा आएजस्तो उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधि र अर्का उपप्रधानमन्त्री कमल थापाबीचको वरियता विवादले सत्तारुढ कांग्रेस माओवादी सम्बन्ध चिसिएको भने छैन ।
गृहमन्त्री निधिले बिहीवार पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरुको बैठक राखेपछि आफूलाई क्रस गरेको भन्दै निधिसँग क्रुद्ध बनेका कांग्रेस सभापति शेरबहादुर देउवाले निधिको धम्कीबाट नडराउन प्रधानमन्त्री दाहाललाई सन्देश पठाइसकेका छन् । देउवाले निधि बाहिरिएपछि अर्का नेता गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी सहित पठाउने र श्रेष्ठले प्रहरी नियमावली संशोधन गरी आइजीपीमा पुन जयबहादुर चन्दलाई नियुक्त गर्ने आफ्नो रोडम्याप पूरा गर्ने दाहाललाई सुनाएका थिए ।
गृहमन्त्री निधि प्रधानमन्त्री दाहालसँग त वरियता विवादले यसै रिसाउने नै भए त्यसमाथि आफूलाई कमल थापा भन्दा तल्लो वरियतामा राख्ने विषयमा दाहाल देउवाबीच भएको समझदारीले झन् चिढिन पुगे । निधिले आफू निकटहरुसँग भन्ने गरेको भनाई उद्धृत गर्दे स्रोतले भन्यो– ‘मैले नै केपी ओलीको सरकारबाट प्रचण्डलाई बाहिर ल्याएर यो गठबन्धन बनाएको हुँ । गठबन्धनको सहमति अनुसार अव शेरबहादुरजी प्रधानमन्त्री हुने पालो थियो । मैले नै भारतसँग देउवाको पक्षमा लविङ गरेर यहाँसम्म पुर्याएँ । तर, म माथि ठूलो धोका भो । अव हेर्छु, शेरबहादुरजी कसरी प्रधानमन्त्री हुनुहुन्छ ।’ निधिको धम्कीले भने कांग्रेस सभापति देउवा आत्तिएका छैनन् । किनभने देउवाको एकसुत्रीय एजेण्डा छ–आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने र त्यसैको बलमा मात्र स्थानीय तहको चुनावमा हैसियत देखाउन सकिन्छ । त्यसका लागि देउवाले प्रहरी नियमावली परिवर्तन गर्न बारम्बार दवाव दिए । तर, निधिले सर्बाेच्च अदालतको परमादेशलाई अवज्ञा गरेर जान नसकिने वताए ।
देउवाले निधिलाई मात्र होइन गृह सचिवलाई पनि बारम्बार फोन गरेर प्रहरी नियमावली संशोधन गर्न तुरुन्त ड्राफ्ट तयार गर्न भने । पार्टी सभापतिले सिधै गृह सचिवलाई प्रहरी नियमावली संशोधन गर्न आदेश दिन थालेपछि निधि देउवासँग झन् चिढिए । देउवाको दवाव आए पनि गृह मन्त्रालयले प्रहरी नियमावली संशोधनका लागि कुनै तयारी गरेको छैन । पार्टी सभापतिको आदेश आए पनि सम्बन्धित मन्त्रीको निर्देशन नभएसम्म गृह सचिवले त्यस्तो नियमावली ल्याउन सहज हुँदैन । देउवाले लगातार आफ्नो मन्त्रालयको काममा हस्तक्षेप गरी विवाद खडा गरिदिएको र सर्बाेच्चको परमादेश विपरित हुनेगरी आइजीपी नियुक्तिमा दवाव दिएको तर, आफ्नो वरियता विवादमा भने प्रधानमन्त्रीसँग मिलेर कमल थापालाई अगाडि राख्न सहमति दिएकाले निधि राजीनामाको धम्की दिन वाध्य भएका हुन् । तर, देउवा निधिले राजीनामा नै देउन् भन्ने पक्षमा छन् । त्यसैले उनले गोपालमान श्रेष्ठलाई नयाँ गृहमन्त्रीको रुपमा पठाउने आश्वासन प्रधानमन्त्री दाहाललाई दिएका छन् । गोपालमानलाई भने देउवाले गृहमन्त्री भएपछि पहिलो काम नै प्रहरी नियमावली संशोधन गरी जयबहादुर चन्दलाई नियुक्त गर्नु पर्ने निर्देशन दिएका छन् ।
चन्दको नियुक्ति बदर गरी योग्य ब्यक्तिलाई नियुक्त गर्न सर्वाेच्च अदालतले परमादेश दिएकै दिन देउवाले प्रधानमन्त्री दाहाललाई वालुवाटारमै गएर भेटेका थिए । जुन भेटमा प्रहरी नियमावली संशोधन गरी फेरि चन्दलाई नै नियुक्त गर्ने सहमति भएको थियो । उपप्रधानमन्त्रीको वरियता विवादका विषयमा पनि दाहाल देउवाबीच सोही भेटमा छलफल भएको थियो । देउवाले प्रधानमन्त्रीपछिको वरियतामा कमल थापालाई नै राख्न र प्रहरी प्रमुखमा चन्दलाई फेरि नियुक्त गर्ने कानुनी प्रक्रिया मिलाउन दाहाललाई भनेका थिए । सोही साँझ देउवाले गृहमन्त्री निधिलाई आफ्नो निवास बुढानिलकण्ठमा बोलाए र प्रहरी नियमावली संशोधन गरी पुन चन्दको नाम सिफरिस गर्न दवाव दिए । तर, निधिले सर्बाेच्चको आदेश उल्लंघन गर्न नमिल्ने वताए । त्यसपछि भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा निधि सहित अधिकांश केन्द्रय सदस्यले सर्बाेच्चको परमादेश मान्नु पर्ने वताए पनि देउवाले सर्बाेच्च विरुद्ध निर्णय लेख्न लगाएका थिए । निधि र देउवाबीचको चिसोपनले नै वरियता विवाद र प्रहरी नेतृत्वको विषयमा अन्यौल उत्पन्न भएको छ । त्यसै कारण तीन सातादेखि मन्त्रिपरिषदको बैठक बस्न सकेको छैन ।
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?