कानुनका कारण खलबलिन थाल्यो पति–पत्नीको सम्बन्ध !
सारांश
- काठमाडौं, १३ कात्तिक ।
- भदौ १ देखि लागू भएको देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहजता प्रदान गरेपछि देशभर सम्बन्धविच्छेदका घटना बढोत्तरी भइरहेका छन् ।
- भदौअघिसम्म सम्बन्धविच्छेदका लागि अदालतको ढोकासम्म पुग्ने पुरुष नगण्य थिए ।
काठमाडौं, १३ कात्तिक । भदौ १ देखि लागू भएको देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेद गर्न सहजता प्रदान गरेपछि देशभर सम्बन्धविच्छेदका घटना बढोत्तरी भइरहेका छन् । भदौअघिसम्म सम्बन्धविच्छेदका लागि अदालतको ढोकासम्म पुग्ने पुरुष नगण्य थिए । तर, विगत दुई महिनाको तथ्यांकलाई हेर्ने हो भने सम्बन्धविच्छेदको दृश्य भयावह देखिएको छ । अहिले महिलाभन्दा बढी पुरुष नै सम्बन्धविच्छेदका लागि अग्रसर देखिनुले नेपाली समाज कस्तो अवस्थामा गुज्रिएको रहेछ भनेर सहजै अनुमान गर्न सकिन्छ ।
पारिवारिक सम्बन्धमा यति विघ्न दरार उत्पन्न हुनु पक्कै पनि सुखद मान्न सकिँदैन । समाज कति उकुसमुकुसको अवस्थामा रहेछ भन्ने यही दुई महिनामा देखिएका दृश्यहरुले पुष्टि गरेको छ ।नेपाल सममाचार पत्रका अनुसार बल्लतल्ल जोडिएको सम्बन्ध बिग्रनु, टुट्नु र फाटो आउनु विडम्बनाको कुरा हो । यो एउटा ठूलो सामाजिक समस्या बनिसकेको छ । ऐनले प्रदान गरेको सुविधाको उपयोग गर्दा धेरै जोडीको पारिवारिक जीवन नै ध्वस्त बन्न पुगेको छ । जसको सामाजिक असर दुवै परिवार मात्र होइन, उनीहरुसँग सम्बन्ध जोडिएका थुप्रै परिवारले भोग्नुपर्ने अवस्था सृजना भएको छ ।
काठमाडौं जिल्लामा मात्रै डेढ महिनाको अवधिमा १८५ जोडीले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदन दिएका छन् । जसमध्ये ९८ पुरुषको निवेदन परेको छ । दैनिक दश जनाले सम्बन्ध तोड्न अग्रसर भएको देखिनु पक्कै पनि शुभसंकेत होइन । पश्चिमा संस्कारको प्रभाव र एकल जीवन बाँच्ने अभ्यास नेपालमा पनि शुरू भैसकेको छ । यसले हाम्रो परम्परागत सामाजिक विश्वास, प्रेम, सामूहिक भावना, सम्बन्ध र सद्भावमाथि नै गम्भीर सवाल खडा गरेको छ ।
विगतमा विभिन्न हिंसा, अवहेलना, बहुविवाहजस्ता कारणले सम्बन्धविच्छेद गर्न महिला बाध्य हुन्थे । अहिले बढ्दो विदेश मोह र त्यसले निम्त्याएका विविध सामाजिक तथा घरायसी समस्याका कारण सम्बन्धहरु टिकाउ हुन सकिरहेका छैनन् ।
प्रतिक्रिया