कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १०, २०७५
|
|
४५ पटक हेरिएको
Shares
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार

सारांश

  • काठमाडौं– ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ सीतापाखामा रहेको एक रिहाब सेन्टरमा उपचाररत एक लागू औषध दुर्व्यसनीको कुटपिटबाट मृत्यु भएको छ।
  • कुटपिटबाट वि केयर लागू औषध तथा पुनर्स्थापना तथा सुधार केन्द्रमा उपचाररत दुर्व्यसनी सीताराम घिमिरेको मृत्यु भएको हो।
  • दोलखा, बैतेश्वर–६ नाम्दुका ४३ वर्षीय घिमिरेको माघ ६ गते मुत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

काठमाडौं– ललितपुरस्थित महालक्ष्मी नगरपालिका–४ सीतापाखामा रहेको एक रिहाब सेन्टरमा उपचाररत एक लागू औषध दुर्व्यसनीको कुटपिटबाट मृत्यु भएको छ।

कुटपिटबाट वि केयर लागू औषध तथा पुनर्स्थापना तथा सुधार केन्द्रमा उपचाररत दुर्व्यसनी सीताराम घिमिरेको मृत्यु भएको हो। दोलखा, बैतेश्वर–६ नाम्दुका ४३ वर्षीय घिमिरेको माघ ६ गते मुत्यु भएको ललितपुर प्रहरीले जनाएको छ।

लागुऔषध छुटाउन उनलाई परिवारका सदस्यले माघ ३ गते उक्त रिहाब सेन्टरमा भर्ना गराएका थिए। भर्ना भएको तीन दिनपछि माघ ६ गते शारीरिक यातनाका कारण उनको मृत्यु भएको बताइएको छ।
घिमिरे प्रतिमहिना १५ हजार बुझाउनेगरी उक्त रिहाब सेन्टरमा भर्ना भएका थिए। 

घिमिरेको मृत्यु शंकास्पद भएको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए।

एसपी खनालका अनुसार घटना शंकास्पद छ। ‘मृतक घिमिरेको शरीरभरि निलडाम छ। उनको निलडाम हेर्दा कुटपिट नै गरेको जस्तो देखिन्छ,’ एसपी खनालले भने, ‘पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन।’

मृतक घिमिरेको हात, खुट्टा र छातीमा निलडाम र घाउ देखिन्छ। एउटा करङ समेत भाँचिएको बताइएको छ। रिहाब सेन्टरमा उपचाररत अन्य व्यक्तिले समेत घिमिरेको कुटपिटबाटै हत्या भएको बताएको प्रहरीले जनाएको छ।

‘घिमिरेको मृत्युको खबर आएपछि हामीले रिहाबमा रहेका अन्य व्यक्तिसँग पनि सोधपुछ गरेका थियौं, उनीहरुले पनि घिमिरेलाई शारीरिक यातना दिएको बताएका थिए,’ एसपी खनालले भने।

कुटपिटबाटै हो वा अन्य कारणबाट मृत्यु भएको हो भन्ने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने प्रहरीले जनाएको छ। मृतक घिमिरेको शव पोस्टमार्टम गर्नका लागि पाटन अस्पतालमा राािखएको छ।

घिमिरेको परिवारका सदस्यले भने करेन्ट लगाएर हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्।

घिमिरेलाई माघ ५ गते रातभर कुटिएको र शारीरिक यातनाले बेहोस भएपछि ६ गते बिहान ५ बजे सानेपास्थित स्टार अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पताल पु¥याएको दुई घन्टापछि ७ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
घिमिरेको शंकास्पद मृत्यु भएपछि प्रहरीले रिहाब सेन्टरका सञ्चालक र मेनेजरलाई पक्राउ गरेको छ भने दुई जना अझै फरार छन्। मृतकको शरीर हेर्दा पनि कुटेर हत्या गरेको जस्तो देखिएको र पीडित परिवारले समेत किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ नाम्चेका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा, बिर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्री छन्। 

शेर्पा रिहाब सञ्चालक हुन् भने क्षेत्री मेनेजर हुन्। उनीहरु दुवैले कुटपिट भएको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। उनीहरुले लागुऔषध दुर्व्यसनीलाई छुटाउन सामान्य कुटपिट गरेको तर मार्ने नियतले भने नकुटिएको दाबी गरेका छन्।

कर्तव्य ज्यान मुद्दामा उनीहरुलाई ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तर, कुटपिटमै संलग्न रिहाब सेन्टरकै अन्य दुई जना भने फरार भएको प्रहरीले जनाएको छ। फरार हुनेमा कीर्तिपुरका २८ वर्षीय सुधीर कार्की र सिन्धुपाल्चोक घर भई कोटेश्वर बस्ने मुकेन्द्र केसी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?