केन्या संग नेपालको खेल घरेलु मैदानमा
सारांश
- नेपाललाई दह्रोसँग पराजित गरेको केन्याले त्यो खेलको जितपछि ‘रेलिगेशन’ को खतरा मात्र टारेन, प्ले–अफको अर्को खेलमा पुनः नेपाललाई १५ रनले पराजित गर्यो र आफूलाई डिभिजन–२ मा नेपालभन्दा माथि राख्यो।
- दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट भोगेको यही पराजयको बदला लिने अवसर एक पल्ट फेरि नेपाललाई जुरेको छ र त्यो पनि आफ्नो घरेलु मैदानमा।
- सन् २०१५ मा नामिबियाको राजधानी विन्डहोकमा विश्व लिग डिभिजन–२ खेल्न उत्रिएको नेपालले युगान्डासँग पहिलो खेल गुमाएको अवस्थामा ५० ओभरको विश्वकप खेलिसकेको नेदरल्यान्ड्स, क्यानडा र नामिबियालाई लगातार तीन खेलमा पराजित गर्दै सनसनी मच्यायो।
नेपाललाई दह्रोसँग पराजित गरेको केन्याले त्यो खेलको जितपछि ‘रेलिगेशन’ को खतरा मात्र टारेन, प्ले–अफको अर्को खेलमा पुनः नेपाललाई १५ रनले पराजित गर्यो र आफूलाई डिभिजन–२ मा नेपालभन्दा माथि राख्यो। दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट भोगेको यही पराजयको बदला लिने अवसर एक पल्ट फेरि नेपाललाई जुरेको छ र त्यो पनि आफ्नो घरेलु मैदानमा।
सन् २०१५ मा नामिबियाको राजधानी विन्डहोकमा विश्व लिग डिभिजन–२ खेल्न उत्रिएको नेपालले युगान्डासँग पहिलो खेल गुमाएको अवस्थामा ५० ओभरको विश्वकप खेलिसकेको नेदरल्यान्ड्स, क्यानडा र नामिबियालाई लगातार तीन खेलमा पराजित गर्दै सनसनी मच्यायो। नेपालको सुधारिएको त्यो प्रदर्शन देखेपछि आम नेपाली क्रिकेटप्रेमी मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेट विश्लेषकले पनि नेपाली क्रिकेटको उज्वल भविष्यलाई लिएर थुप्रै अड्कल लगाएका थिए। नेपाल डिभिजन–२ को तीन खेल जितेर डिभिजन–१ मा उक्लिने अभियान नजिकै थियो। यसैको सेरोफेरोमा नेपाली टोली अन्तिम खेल केन्यासँग खेल्न उत्रियो।
नेपालसँग खेल्नुअघि युगान्डालाई एक खेलमा हराउनुबाहेक केन्या ३ खेलमा पराजित भइसकेको थियो। केन्या डिभिजन–२ को ‘रेलिगेशन जोन’ मा भएका कारण पनि नेपालको सम्भावनालाई लिएर धेरैले अड्कलबाजी गरेका थिए। तर दूर्भाग्य! नेपालले त्यो खेल ५ विकेटले गुमायो। केन्याले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो। जसमा उपकप्तान ज्ञानेन्द्र मल्लको अविजित ९१ रनको सहयोगले नेपालले ४९ दशमलव ५ बलमा सबै विकेट गुमाउदै १ सय ९४ रन बनायो। प्रत्युत्तरमा केन्याले विस्फोटक ब्याटिङ गर्यो। कप्तान राकेप पटेल (५६) र विकेटकिपर इरफान करिम(अविजित ७५) ले मिलेर पाँचौं विकेटका लागि १ सय ३ रनको साझेदारी गरेपछि नेपाल ३५ ओभरमै पराजित भयो। जसको नतिजा नेदरल्यान्ड्ससँग रन रेटमा पछाडि पर्दै नेपालको डिभिजन–१ मा प्रवेश गर्ने सम्भावना समाप्त भयो। नेपालसँग हारेका नामिबिया र नेदरल्याड्स डिभिजन–२ को पहिलो र दोस्रो टिम बन्दै डिभिजन–१ मा उक्लिए। नेपाललाई दह्रोसँग पराजित गरेको केन्याले त्यो खेलको जितपछि ‘रेलिगेशन’ को खतरा मात्र टारेन, प्ले–अफको अर्को खेलमा पुनः नेपाललाई १५ रनले पराजित गर्यो र आफूलाई डिभिजन–२ मा नेपालभन्दा माथि राख्यो। दुई वर्षअघि डिभिजन–२ मा केन्याबाट भोगेको यही पराजयको बदला लिने अवसर एक पल्ट फेरि नेपाललाई जुरेको छ र त्यो पनि आफ्नो घरेलु मैदानमा।
आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत नेपालसँग २ खेल खेल्न केन्या विहिबार नै काठमाडौं आइसकेको छ। पूर्वी अफ्रिकी देश केन्याको यो पहिलो नेपाल भ्रमण हो। केन्याले शनिबार र सोमबार खेल्नेछ। लिग क्रिकेट च्याम्पियनसिपमा समावेश ८ राष्ट्रको समूहमा ८ खेल खेलेको केन्या ४ खेल जित्दै ८ अंकका साथ नेपालभन्दा एक स्थान माथि पाँचौं छ। नेपालले ८ खेलमा ३ खेल जित्दै ६ अंक बटुलेको छ। नेपालले लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत कीर्तिपुरमा खेलेको खेल अहिलेसम्म हारेको छैन्। त्यसैले केन्यासँगको दुई खेलबाट नेपालले राम्रो नतिजाका साथ ४ अंक बटुल्नेमा नेपाली टोली धेरै हदसम्म विश्वस्त देखिन्छ। यस्तो भएको खण्डमा नेपालले अंक तालिकामा केन्यालाई २ अंकले पछि पार्ने छ। ‘हामीले केन्यासँगको खेलबाट थुप्रै आशा गरेका छौं,’ नेपाली टिमका प्रशिक्षक जगत टमाटा भन्छन्–‘लिगमा माथि बढ्नलाई पनि यो खेल महत्वपूर्ण छ।’ नेपालले घर बाहिर ५ खेल हारिसकेको छ। आउँदो वर्ष बंगलादेशमा आयोजना हुने २०१९ विश्व कपको छनोट चरणको खेलको रुपमा पनि रहेका कारण यो प्रतियोगिता नेपालजस्तो एसोसिएट राष्ट्रको लागि महत्वपूर्ण मानिन्छ।
लिग क्रिकेट च्याम्पियनसिपमा अन्तिम ४ मा स्थान बनाउने टिमले आउँदो वर्ष बंगलादेशमा विश्व कपको छनोट खेल्न पाउने छ। केन्याको टिम नेपाली वातावरणसँग पुरै अनभिज्ञ छ। र, कीर्तिपुरको पीचसँग पनि उनीहरू त्यति घुलमिल छैनन्। नेपाल र भारतको वातावरण उस्तै हुने र पीचको स्वभावमा खासै अन्तर नहुने निस्कर्षका साथ केन्याले काठमाडौं आउनुको साटो भारतको बरौडामा १० दिने अभ्यासलाई महत्वपूर्ण मानेको थियो। केन्या नेपालसँग खेल्न भारतको बरौडास्थित युथ–२३ टिमसँग ४ अभ्यास खेले खेलेर आएको छ। अभ्यास खेलमा केन्याली कप्तान पटेल र अनुभवी अलराउन्डर कोलिन्स अबुया फर्ममा देखिन्छन्। नेपालले केन्यासँग ५० ओभरको तीन खेल खेलेको छ र एउटा टी–२० पनि। ५० ओभरको ३ वटै खेल जितेको केन्याको यो ‘भर्सन’ मा बलियो उपस्थिति देखिन्छ। तर, टि–२० मा नेपालले केन्यालाई हराएको छ। सन् २०१२ न्युजिल्यान्डको क्राइश्चर्चमा भएका डिभिजन–४ को प्रतियोगिता अगाडि भएको ‘वार्मअप’ खेलमा पनि दुवै टोली भिडेका थिए। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपालले अनिल मण्डलको ६२ रनमा ८ विकेटमा २ सय ६५ रन बनाएको थियो। प्रत्युत्तरमा केन्या १ विकेटले विजयी भयो। २०१२ दुबईमा भएको टी–२० विश्वकप छनोटमा नेपाल ५ विकेटले विजयी भएको थियो। सन् १९९६ देखि २०११ सम्म ५ वटा विश्व कप खेलेको केन्याको युवा तीब्र बलरबाट नेपाली ब्याट्सम्यानले सधै आफूलाई असुरक्षित महसुस गरेका छन्। त्यसैले यसपालि इलिजा ओटिनो र नेल्सन ओडियाम्बोको स्विङलाई कसरी निस्तेज पार्ने यो रणनीतिमा नेपाली टोली जुटेको छ।
प्रशिक्षक टमाटाका अनुसार कीर्तिपुरमा २ सय ५० माथिको योगफल विजयी स्कोर हो। त्यसैले नेपाली टिमको ध्यान अहिले पहिले ब्याटिङ गर्न उत्रिएको खण्डमा कसरी इनिङ ‘बिल्डअप’ गर्नेमा छ। यसका लागि नेपालले ज्ञानेन्द्र मल्ल र सुनिल धमलाको रुपमा इनिङको सुरुवात गर्ने सम्भावना प्रबल छ। नेपालको सबैभन्दा बलियो पक्ष भनेको मध्यक्रम हो। बलिङमा शक्ति गौचन, बसन्त रेग्मी र सन्दीप लामिछाने जस्ता प्रभावशाली स्पिनर छन्।
यसैले शनिवारको भिडन्तलाई तीब्र बलर ‘भर्सेस’ स्पिनरको रुपमा पनि हेरिएको छ।
प्रतिक्रिया