के आज तपाईं बाग्मती सफाइमा जानु हुनुहुन्छ ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
४०३ पटक हेरिएको
Shares
के आज तपाईं बाग्मती सफाइमा जानु हुनुहुन्छ ?

सारांश

  • नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुट्ने भएका छन् ।
  • तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा हुँदैछ ।
  •  जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ ।

नेपाली सभ्यता, संस्कृति र चिनारीसँग जोडिएको बाग्मती सफाइ महाअभियानमा हजारौँ व्यक्ति बाग्मती किनारमा जुट्ने भएका छन् ।

तीन वर्षअघि ढल र फोहोरले छोपिएको बाग्मती सफा गर्ने क्रममा शनिबार दुई सय साता पूरा हुँदैछ ।  जनस्तरबाट सञ्चालित बाग्मती सफाइको महाअभियान मुलुकको अहिलेसम्मकै सबभन्दा ठूलो अभियान रहेको दाबी गरिएको छ ।  बाग्मती सफाइमात्र होइन, यो अभियानले देशभर सफाइप्रति व्यापक चेतना विस्तार पनि भएको छ ।

बाग्मती सभ्यताको पुनर्जागरणका लागि समेत सञ्चालित बाग्मती सफाइ महाअभियानले २००औं सप्ताह संस्करणमा विशेष कार्यक्रम आयोजनासमेत गरेको छ । महाअभियानमा सहभागी हुन सम्पूर्ण नागरिकलाई गरिएको आह्वानले व्यापक चासो पनि जुटाएको छ ।

तीन वर्षअघि २०७० जेठ ५ गते नागरिक अभियान्ताको पहलमा साप्ताहिक रूपमा बाग्मतीको सफाइ सुरु भएको थियो ।  बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले बाग्मती हाम्रो सभ्यता र संस्कृति हो, यसलाई फोहोर गर्नुहुँदैन भन्ने चेतनाको विकास आमनागरिकमा हुनु नै यस अभियानको सबभन्दा ठूलो उपलब्धि रहेको बताए। राजधानीबासीको करिब ४० वर्षदेखिको आनिबानीमा यस अभियानले ठूलो सुधार ल्याएको दाबीसमेत उहाँले गर्नुभयो ।

नदी किनारका अतिक्रमित जग्गा खाली गर्न र जथाभावी फोहोर फ्याँक्नेलाई कानुनको कठघरामा उभ्याउन यो अभियानले सम्बन्धित निकायलाई घचघच्याउने काम गरेको बताउँदै यसै अभियानको अनुकरण र प्रभावले अन्य २५ जिल्लामा समेत नदी सफाइ अभियान सञ्चालन भइरहेको जानकारी उनले दिए। अभियानकै कारण बाग्मती किनारमा ढल बिच्छ्याउने काम अगाडि बढिरहेको बताउँदै पूर्व मुख्य सचिवसमेत रहेका पौड्यालले यस अभियानको प्रभावबाट नै उपत्यकाका अन्य नदी किनारमा ढल बिच्छ्याउने र प्रशोधन गर्ने कार्यक्रम सरकारले ल्याएको दाबी गरे।

उजले बाग्मती किनारमा रहेका अव्यवस्थित बस्ती र त्यसको स्थानान्तरण बाग्मती सफाइ अभियानको चुनौती रहेको बताए। बाग्मती सफाइ अभियानका शुभारम्भकर्ता डा. राजु अधिकारीले यस अभियानले नदीनाला सफा राख्नुपर्छ भन्ने चेतनाको विकास आमनागरिकमा क्रमशः भइरहेको बताउँदै अभियानकै फलस्वरूप बाग्मती किनारमा २५ वटा बगैँचा जनस्तरबाट निर्माण भइसकेको जानकारी दिए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौं।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?