के के छन् हाम्रा मौलिक हक, संघीय संसदबाट हताहतार पारित
सारांश
- काठमाडौं ।
- संघीय संसदबाट मौलिक हक सम्बन्धी लगायतका १६ वटा विधेयक पारित भएका छन् ।
- संविधानले दिएका मौलिक हक सम्बन्धी विधेयक प्रतिनिधि र राष्ट्रियसभाबाट गरी पास गरिएको हो ।
काठमाडौं । संघीय संसदबाट मौलिक हक सम्बन्धी लगायतका १६ वटा विधेयक पारित भएका छन् । संविधानले दिएका मौलिक हक सम्बन्धी विधेयक प्रतिनिधि र राष्ट्रियसभाबाट गरी पास गरिएको हो । मौलिक हकसम्बन्धी १४ र अन्य २ गरी १६ विधेयक पारित भएका हुन्।
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट मौलिक हकसम्बन्धी संसद्मा पेश भएका सबै विधेयक हताहतार पारित गरिएको हो । किनभने असोज २ गतेभित्र मौलिक हकसम्बन्धी विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता अनुसार हतार गरिएको हो ।
अब संविधानमा दिइएका ३१ वटा मौलिक हक प्रत्येक नागरिकले पाउने अधिकार रहन्छ । यदि मौलिक हक पाउन नसकेमा नागरिक सिधै अदालत जानसक्ने प्रावधान छ । संविधानले ३१ वटा मौलिक हकको व्यवस्था गरेपनि केही कानुनहरू यथावत कारणले सरकारले १४ वटा मौलिक हकसम्बन्धी विधेयक मात्रै संसद्मा ल्याएको थियो।
दुवै सदनबाट पारित भएका विधेयकलाई प्रमाणीकरणका लागि आज सोमबार राष्ट्रपतिसमक्ष पठाइनेछ। राष्ट्रियसभाले पारित गरेका सबै विधेयक प्रतिनिधिसभामा सन्देश सुनाउनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक आज सोमबार बस्दैछ।
मौलिक हकसम्बन्धी ११ र अन्य १ गरी १२ विधेयक प्रतिनिधिसभामा उत्पत्ति भएको थियो भने मौलिक हकसम्बन्धी ३ र अन्य १ गरी ४ विधेयक राष्ट्रियसभाबाट उत्पत्ति भएको थियो। राष्ट्रिय सभामा उत्पत्ति भएका चारवटा विधेयकमा बालबालिकासम्बन्धी विधेयक, २०७५, अपराधपीडित संरक्षण विधेयक, २०७५, ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को संशोधन गर्न बनेको विधेयक, २०७५ तथा ‘वातावरण संरक्षत ऐन पहिलो संशोधन विधेयक, २०७५ हुन्।
मौलिक हकसम्बन्धी पारित भएका विधेयकमा अपराधपीडित संरक्षण विधेयक, बालबालिका सम्बन्धी विधेयक, वैयक्तिक गोपनियताको हक सम्बन्धी विधेयक, ‘जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० पहिलो संशोधन विधेयक, ‘अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयक, सामाजिक सुरक्षा विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, ‘जनस्वास्थ्य विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, उपभोक्ता संरक्षण विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, ‘आवासको अधिकारसम्बन्धी विधेयक, भूमिसम्बन्धी (सातौं संशोधन) विधेयक र वातावरण संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक छन्।
मौलिक हक बाहेकका दुई विधेयकमध्ये ‘अपांगता भएको व्यक्तिको अधिकारसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक, २०७५’ र सार्वजनिक सुरक्षा विधेयक पारित भएका हुन्। प्रतिनिधिसभाले एक महिनाअघि पारित गरेको सार्वजनिक सुरक्षा विधेयक राष्ट्रिय सभाले आइतबार पारित गरेको छ।
प्रतिक्रिया