के छ पत्रकार महासंघको जनकपुरधाम घोषणापत्रमा ?
सारांश
- काठमाडौं, २४ फागुन ।
- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पत्रकार महासंघको विधानलाई कार्यान्वयन गर्दै पहिलोपटक १० वटै प्रदेश समितिको निर्वाचन आगामी बैशाख २२ गते गर्ने निर्णयसहित १८ बुँदे जनकपुर घोषणापत्र जारी गरेको छ ।
- फागुन २१ र २२ गते बसेको बैठकपछि जारी गरिएको जनकपुर घोषणापत्रको पूरा अंश : नेपाल पत्रकार महासंघको जनकपुरधाम घोषणापत्र–२०७४ नेपाल पत्रकार महासंघको २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा सम्पन्न केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा रहेर ‘जनकपुरधाम घोषणापत्र–२०७४’ जारी गर्दछ : १.
काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पत्रकार महासंघको विधानलाई कार्यान्वयन गर्दै पहिलोपटक १० वटै प्रदेश समितिको निर्वाचन आगामी बैशाख २२ गते गर्ने निर्णयसहित १८ बुँदे जनकपुर घोषणापत्र जारी गरेको छ । फागुन २१ र २२ गते बसेको बैठकपछि जारी गरिएको जनकपुर घोषणापत्रको पूरा अंश :
नेपाल पत्रकार महासंघको जनकपुरधाम घोषणापत्र–२०७४
नेपाल पत्रकार महासंघको २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा सम्पन्न केन्द्रीय कार्यसमितिको तेश्रो पूर्ण बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा रहेर ‘जनकपुरधाम घोषणापत्र–२०७४’ जारी गर्दछ :
१. आगामी बैशाख २२ गते नेपाल पत्रकार महासंघको सबै प्रदेशमा प्रादेशिक निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको छ । प्रदेश निर्वाचन सफल पार्न आआफ्नो तहबाट सहयोग पुर्याउन महासंघ सबैमा आग्रह गर्दछ ।
२. पत्रकार महासंघले यसअघिको बैठकबाट सुरुआत गरेको सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारीरुपमा अघि बढाउने निर्णय गरिएको छ । साथै यो बैठक पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा पूर्ण प्रतिवद्धता व्यक्त गर्दछ ।
३. श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारी उदासीनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई तत्काल कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गरिएको छ । साथै, नेपाल पत्रकार महासंघको सुझाव, न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।
४. पत्रकार महासंघको पहलमा पत्रकारको दुर्घटना बिमा सञ्चालन भइरहेको छ । स्वास्थ्य बीमाको थप योजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै यसलाई थप प्रभावकारी बनाउन सहयोग गर्न यो बैठक सम्बन्धित सबैमा आग्रह गर्दछ ।
५.महासंघले लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि आजीवन संघर्ष गरिरहेका जेष्ठ पत्रकारहरुको सम्मान आरम्भ गरिसकेको छ । प्रेस स्वतन्त्रता सेनानी तथा जेष्ठ पत्रकारहरुको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने निर्णय गर्दछ ।
६. आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष यो बैठक माग गर्दछ ।
७.‘आफै श्रमजीवी, आफै सञ्चालक’ रहेका साना लगानीका सञ्चारमाध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै बृत्ति विकास तथा तालिम सञ्चालनका लागि ‘साना लगानी मिडिया विकास कोष’ स्थापना गर्न सरकारसँग यो बैठक माग गर्दछ ।
८. प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन आग्रह गर्दछ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न राज्यका सबै निकायमा बैठक आग्रह गर्दछ ।
९.प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठक माग गर्दछ ।
१०.ऐतिहासिक, धार्मिक, साँस्कृतिक धरोहरको रुपमा रहेको राजर्षि जनकको पवित्रभूमि जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउनुका साथै यहाँका विभिन्न ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गर्दछ ।
११.जनकपुरधाम क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासका लागि जनकपुर–अयोध्या सर्किट निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यानाकर्षण गराउँदछौं ।
१२.नेपाल पत्रकार महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशहरुमा क्रमशः इलाइब्रेरीको स्थापना गर्ने निर्णय गरिएको छ ।
१३.पत्रकार महासंघ केन्द्रीय समितिको यो बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्नेे धनुषा शाखालाई बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बैठकलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्नढंगले सहयोग गर्नुहुने जनकपुरधामका नागरिक समाज, उद्योगी, व्यवसायी, सञ्चारकर्मी, बुद्धिजीवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र संस्थाहरुप्रति महासंघ आभार व्यक्त गर्दछ ।
१४.आमसंचारसम्वन्धी छाता ऐन निर्माण गर्ने सन्दर्भमा नेपाल पत्रकार महासंघले मस्यौदा तयार गरी सरोकारवालासँग छलफलमार्फत सरकारलाई पेश गर्ने निर्णय गर्दछ । सञ्चारमाध्यमले मिडिया गाइडलाइन तय गरी अघि बढ्न आवश्यक रहेकाले श्रमजीवी पत्रकार ऐनको भावना र मर्मलाई आत्मसात गर्ने गरी कार्यान्वयन हुने दिशामा महासंघ सहजीकरण गर्ने निर्णय गर्दछ ।
१५.विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत स्ट्रिङ्जरलाई प्रक्रिया पुराएर चाँडो स्थायी गर्नका लागि महासंघ सम्बन्धित सञ्चारमाध्यको ध्यानाकर्षण गराउँदछ ।
१६.तराई मधेशमा आएको बाढीबाट प्रभावित पत्रकारका लागि राहतको तत्काल व्यवस्था गर्न लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, यस विषयमा सरकारलाई दवावका लागि महासंघले पहलकदमी लिने निर्णय गर्दछ ।
१७.धुलीखेलको बैठक अनुरुप महासंघलाई ट्रेड युनियन संस्थाको रुपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रिया अगाडि बढाइनेछ ।
१८.प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गीकरणमा कसैमाथि विभेद तथा पूर्वाग्रही नहुने गरी प्रक्रियासम्मत ढंगले गर्न गराउन महासंघले जोडदार माग गर्दछ ।
मिति २०७४ फागुन २३ गते बुधवार, जनकपुरधाम
प्रतिक्रिया