‘के मैले अपराध गरेँ ?’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १०, २०७४
|
|
२५ पटक हेरिएको
Shares
‘के मैले अपराध गरेँ ?’

सारांश

  • चिसो छिँडीमा सुतेर न्यानो सपना देख्नु अपराध नै हो त सरकार ?
  • मेरी श्रीमतीको स्तनबाट निख्रिएर झरेका दुई थोपा दुधले अँह भिजेन मेरी छोरीको ओठ र मेरै काखमा गुन्गुनाईरही उसले हप्तौंसम्म कुपोषणको गीत ए सरकार, मेरी छोरीको लास छामेर मैले एक पेट भातको सपना देखेँ के मैले अपराध गरेँ ?
  • अरबको निर्दयी घाममा रगत, पसिना र जवानी पोलेर मैले देश किनिरहँदा मेरा बाको लाशले काँध पाएन मेरी आमाको हातले टेको पाएन र मेरै छोराले चिन्दै चिनेन आफ्नै बाउको सग्लो शरीर ए सरकार, म आफ्नै घरमा बसेर बुढीआमाको साहारा बन्न चाहेँ सानो छोरोको औँला समाउन चाहेँ के मैले अपराध गरेँ ?

चिसो छिँडीमा सुतेर
न्यानो सपना देख्नु
अपराध नै हो त सरकार ?

मेरी श्रीमतीको स्तनबाट
निख्रिएर झरेका दुई थोपा दुधले
अँह भिजेन मेरी छोरीको ओठ
र मेरै काखमा गुन्गुनाईरही उसले
हप्तौंसम्म कुपोषणको गीत
ए सरकार,
मेरी छोरीको लास छामेर
मैले एक पेट भातको सपना देखेँ
के मैले अपराध गरेँ ?

अरबको निर्दयी घाममा
रगत, पसिना र जवानी पोलेर
मैले देश किनिरहँदा
मेरा बाको लाशले काँध पाएन
मेरी आमाको हातले टेको पाएन
र मेरै छोराले चिन्दै चिनेन
आफ्नै बाउको सग्लो शरीर
ए सरकार,
म आफ्नै घरमा बसेर
बुढीआमाको साहारा बन्न चाहेँ
सानो छोरोको औँला समाउन चाहेँ
के मैले अपराध गरेँ ?

साहुको थोरै ऋणको भारले
विस्तारै विस्तारै
घरखेत सबै गुम्यो
ए सरकार,
सबथोक साहुलाई दिँदा पनि
सावाँ त परै जाओस्
ब्याज पनि नघटेपछि
मैले सबै हरहिसाब खोजेँ
के मैले अपराध गरेँ ?

मेरै औँलामा मसी लाएर
मैले मसिहा चुनेर पठाएकाहरुले
मैले दुखसुख गरेर तिरेको
तिरोमा तर मार्न थालेपछि
हो ! म मेरो औँला
र नागरिकता हेरेर टोलाएकै हुँ
ए सरकार,
मलाई यो लुटीखाने व्यवस्था मनपरेन
मैले यसको अन्त्य चाहेँ
के मैले अपराध गरेँ ?

मेरै आँगनमा अचानक
बडेमानको दशगजे पिल्लर
शानका साथ उभिएपछि
मैले प्रश्नवाचक हेराई हेरेकै हो
ए सरकार,
देश दुख्यो र म रोएँ
के मैले अपराध गरेँ ?

ए सरकार,
जे सत्य आवाज हो
अचेल तँ त्यही नसुन भन्छस्,
जुन बाटो सही हो
त्यही गोरेटो नहिँड भन्छस्
अन्यायमा नबोल भन्छस्
पिडामा नरो भन्छस्
अहँ,
म तेरो अनुमति लिएर मात्रै
श्वास फेर्नुपर्छ भन्ने मान्यता राख्दिन
ए सरकार,
के मैले अपराध गरेँ ?

तमाम सिन्डिकेटहरु तोडेर
सपना र सम्भावना देख्नु
अपराध नै हो भने
ए सरकार
म यो युगको
सबैभन्दा खतरनाक अपराधी हुँ ।

अनाम किरण

(contentbeta)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?