पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
सारांश
- काठमाडौं, १७ कात्तिक ।
- पाँच दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएका छन् ।
- रूघा, खोकी र छातीमा संक्रमण भएपछि गत सोमबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन काडियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
काठमाडौं, १७ कात्तिक । पाँच दिनको अस्पताल बसाईपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार डिस्चार्ज भएका छन् । रूघा, खोकी र छातीमा संक्रमण भएपछि गत सोमबार बिहान शिक्षण अस्पतालस्थित मनमोहन काडियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
पाँच दिन लामो उपचारपछि प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ भएकाले डिस्चार्ज भएको उपचारमा संलग्न चिकित्सक डा. सन्तकुमार दासले बताए । बिहीबारको रिपोर्टले डिस्चार्ज दिन उचित भएको देखिएको थियो ।
शुक्रबार पनि कुनै समस्या नदेखिएपछि घर पठाइएको चिकित्सकले बताएका छन् । ११ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरेका ओलीमा तत्काल संक्रमण फैलन सक्ने भन्दै चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गरेका थिए । दसैँको बढी धपेटीले उनी बिरामी परेका थिए । डा. दासका अनुसार एक हप्तापछि ‘फलोअप’मा आउने गरी डिस्चार्ज गरिएको छ ।
प्रधानमन्त्री ओली आइतबार वा सोमबारदेखि नियमित काममा फर्कने उनको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया