कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कैदीबन्दीहरुका लागि सभामुख महराको यस्तो कारागारको परिकल्पना

सारांश

  • काठमाडौं, १९ साउन ।
  • सभामुख कृष्णबहादुर महराले अबका कारागारहरु कैदीबन्दीहरुलाई सकारात्मक चिन्तनको बाटोतर्फ लैजाने सुधारगृहको रुपमा विकास गरिनुपर्ने बताएका छन् ।
  • उनले नेपालका कारागारहरुको सुधार तथा कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनबारे संघीय संसदका सांसदहरुसँगको कार्यक्रममा बोल्दै त्यस्तो धारणा राखेका हुन् ।

काठमाडौं, १९ साउन । सभामुख कृष्णबहादुर महराले अबका कारागारहरु कैदीबन्दीहरुलाई सकारात्मक चिन्तनको बाटोतर्फ लैजाने सुधारगृहको रुपमा विकास गरिनुपर्ने बताएका छन् । उनले नेपालका कारागारहरुको सुधार तथा कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनबारे संघीय संसदका सांसदहरुसँगको कार्यक्रममा बोल्दै त्यस्तो धारणा राखेका हुन् ।

के भने सभामुख महराले ? मन्तव्यको पूर्णपाठ :

नेपालका कारागारहरुको सुधार तथा कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनबारे संघीय संसदका सांसदहरुसँगको कार्यक्रममा सम्माननीय सभामुख कृष्णबहादुर महराज्यूको मन्तव्य

कार्यक्रमका अध्यक्ष,
अतिथि तथा कार्यक्रममा सहभागी माननीय सांसदज्यू
एवं उपस्थित सम्पूर्ण महानुभावहरु

संघीय संसदका माननीय सांसदहरुलाई जमघट गराएर नेपालका कारागारहरुको सुधार तथा कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनका बारेमा छलफल गर्ने अवसर जुटाएकोमा सर्वप्रथम म कार्यक्रम आयोजक संस्था एचआई नेपाल र यस संस्थासँग सम्बन्धित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

यो छलफल÷अन्तरक्रिया कार्यक्रमले नेपालका कारागारहरुको सुधार गर्न र कैदीबन्दीहरुको अवस्थामा सुधार ल्याउन नीतिगत तहमा सकारात्मक परिवर्तन हुने गरी भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

अहिले नेपालका कारागारहरुको अवस्था त्यति सन्तोषजनक छैन । कारागारको भौतिक पूर्वाधार जीर्ण, साँघुरा र मानवीय हिसाबले दिनुपर्ने अत्यावश्यक सुविधा उपलब्ध नभएको मिडिया र विभिन्न अध्ययनहरुले देखाएका छन् । पहिलो कुरा, नेपालका कारागारहरुको क्षमताभन्दा कैदीबन्दीहरुको संख्या झण्डै दोब्बर रहेको अवस्था छ । त्यसले गर्दा कैदीबन्दीहरुले संविधानतः पाउनुपर्ने सुविधाबाट पनि वञ्चित हुनुपर्ने अवस्था छ । हामीले नै बनाएका थुप्रै ऐन नियमअनुसार राज्यले नै बाल तथा वृद्धहरुका लागि कारागारमा बालसुधार गृह, ज्येष्ठ नागरिक हेरचाह केन्द्र बनाउनुपर्ने दायित्व छ । तर, अहिले नेपालमा पर्याप्त मात्रामा बालसुधार गृह तथा वृद्ध हेरचाह केन्द्रहरु बन्न सकिरहेका छैनन् ।

त्यस्तै, कारागारहरुमा अपराधको प्रकृतिअनुसार कैदीबन्दीहरुलाई छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुका साथै लागूऔषध सेवनकर्ता, मानसिक रोगीहरुलाई मानसिक अस्पतालसहितका कारागार, खुल्ला कारागारजस्ता अवधारणाहरुको पनि विकास गर्नुपर्दछ । अबका कारागारहरु कैदीबन्दीहरुलाई चार पर्खालभित्र थुनेर प्रतिशोध वा हीनताबोधको बाटोमा जान बाध्य पार्ने अपराधी वा मानसिक रोगी उत्पादन गर्ने कारखाना होइन, उनीहरुलाई आफूले गरेका अपराध÷गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने खालका सुधार गृहको रुपमा विकास गर्न जरुरी छ ।

माननीय सांसद तथा अन्य महानुभावहरु,
संसद राज्यको मूल नीति निर्माण गर्ने मुख्य थलो हो । हामी नीति निर्माण गर्ने महत्वपूर्ण ठाउँमा छौं । यतिबेला हाम्रो काँधमा संविधानको मर्मअनुरुप थुप्रै ऐन कानूनहरु निर्माण गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको छ । अहिले कारागार तथा कैदीबन्दीहरुसम्बन्धी ऐन नियमहरु समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने अवस्था छ । त्यस्तै ऐन कानूनमा व्यवस्था भए पनि कार्यान्वयन नभएका थुप्रै पक्षहरु छन्, तिनको कार्यान्वयनका लागि पनि राज्यलाई निरन्तर सचेत गराइरहनुपर्ने यहाँहरुकै दायित्वभित्र पर्दछ । विशेष गरी कैदीबन्दीहरुको आचरण, व्यवहार र अपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक सोंच चिन्तन र सीप क्षमताको अभिवृद्धि गराउन के गर्न सकिन्छ, त्यसका लागि कस्ता ऐन नियमहरु बनाउन सकिन्छ त्यसतर्फ घोत्लिन म सबै माननीय तथा सरोकारवाला पक्षलाई आग्रह गर्दछु ।

हामीले कल्पना गरेको समाज कैदीबन्दीहरु मुक्त चेतनशील, उन्नत र सुन्दर समाज हो । राज्यले आफ्ना नागरिकहरुलाई सबै किसिमका सेवा सुविधाहरु सहजै उपलब्ध गराउने, सबै किसिमका असमानता, विभेद र अन्यायबाट मुक्त सबै सम्मान र स्वाभिमानपूर्वक बाँच्न पाउने समतामूलक समाजको कल्पना गरेका छौं हामीले । त्यस्तो समाजमा कारागारहरु हुँदैनन्, अहिलेका कारागारहरुलाई सुधार गृह, सीप विकास केन्द्र हुँदै सकारात्मक चिन्तन विकास गर्ने पाठशालाका रुपमा विकास गर्ने लक्ष्य राख्नुपर्दछ । हामीले अहिलेदेखि नै सकारात्मक पहलकदमी लियौं भने एकदिन अवश्य त्यस्तो समृद्ध, शान्त र सभ्य समाज निर्माणमा हामी सफल हुनेछौं ।

म संघीय संसदको सभामुख हुनुको नाताले ऐन कानून निर्माणको तहमा कारागारहरुको उचित व्यवस्थापन तथा सुधार र कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनका लागि गर्न सक्ने पहल र सहयोगमा कुनै कमी नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । साथै सम्बन्धित निकायको खबरदारी र पहलमा सरकारले कारागार सुधार, कैदीबन्दीहरुको अधिकारका सवालमा ऐन कानुन बनाउन विधेयकहरु ल्याएमा त्यसलाई प्राथमिकता दिदै सकारात्मक परिणामका हुने जुनसुकै काममा पनि सहयोग रहने विश्वास दिलाउँछु । अन्त्यमा, यस अन्तरक्रिया कार्यक्रमले नेपालका कारागारहरुको सुधार र कैदीबन्दीहरुको अधिकार प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका गर्ने कार्यक्रमका रुपमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउँछु ।
धन्यवाद ।

१९ साउन, २०७५

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?