गाउँपालिकाको नाम र केन्द्र फेर्दा रोल्पा र दाङमा भद्रगोल
सारांश
- काठमाडौं, १८ पुस ।
- गाउँघरको विकास निर्माणमा दत्तचित्त भएर सम्पूर्ण स्रोतसाधनको प्रयोग गरी अगाडि बढ्ने समयमा स्थानीय तहरुले गाउँपालिकाको नाम र केन्द्र फेर्न थाल्दा रोल्पा र दाङमा भद्रगोल शुरु भएको छ ।
- रोल्पामा विपक्षीहरु आन्दोलनमा उत्रिएका छन् भने दाङको विषय त झन अदालतसम्म पुगेको छ ।
काठमाडौं, १८ पुस । गाउँघरको विकास निर्माणमा दत्तचित्त भएर सम्पूर्ण स्रोतसाधनको प्रयोग गरी अगाडि बढ्ने समयमा स्थानीय तहरुले गाउँपालिकाको नाम र केन्द्र फेर्न थाल्दा रोल्पा र दाङमा भद्रगोल शुरु भएको छ । रोल्पामा विपक्षीहरु आन्दोलनमा उत्रिएका छन् भने दाङको विषय त झन अदालतसम्म पुगेको छ ।
दाङको बबई गाउँपालिकाको केन्द्र हंशपुरबाट हापुरे सारेकोमा आपत्ति जनाउँदै केही वडाध्यक्ष र केही सदस्यले उच्च अदालत तुलसीपुरमा रिट दायर गरे । उच्च अदालत तुलसीपुरले बबई गाउँपालिकाको केन्द्र साविककै स्थानमा राख्न अन्तरिम आदेश जारी गरेको गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र ईश्वरराज आचार्यको इजलासले तत्काललाई केन्द्र नसार्न आदेश जारी गरेको हो ।
उता, बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले गाउँपालिकाका सबै वडाहरुको केन्द्रभागमा हापुरे पर्ने र जनतालाई दिने सेवासुविधा प्रवाहमा हापुरे नै सबैको पायक पर्ने बताए । उनले गाउँपालिकाका ३१ प्रतिनिधिहरु हापुरेको पक्षमा रहेको र ९ जना प्रतिनिधिहरुले मात्रै हंशपुर हुनुपर्ने अडान राखेको बताए । गाउँपालिकाको केन्द्र हापुरेमा सार्ने विषयमा प्रक्रिया पुराउने कार्य पनि सँगसँगै भइरहेको अध्यक्ष पौडेलले बताए ।
उता, रोल्पा जिल्लाका ३ वटा गाउँपालिकाको नाम फेर्ने र केन्द्र सार्ने निर्णयका कारण विवाद उत्पन्न भएको छ । रोल्पाको सुवर्णावती गाउँपालिकाले युद्धको समयमा मारिएका पूर्व माओवादी कमाण्डर स्व. किमबहादुर थापा “सुनिल” को नामबाट नामकरण गर्ने प्रस्ताव ल्याएपछि जनप्रतिनिधिभित्रै विवाद चुलिएको छ । माओवादी केन्द्रबाट विजयी अध्यक्षसहितका प्रतिनिधिले सुनिल गाउँपालिका राख्ने प्रस्ताव ल्याएपछि नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष गञ्ज क्षेत्रीले नोट अफ डिसेन्ट लेखेका छन् । सुवर्णावती गाउँपालिकामा सयौं सहिद भएको र कुनै एउटा व्यक्तिको नाममा गाउँपालिकाको नामकरण गर्न उचित नहुने क्षेत्रीको तर्क छ । स्थानीय तहको पहिलो बैठकबाट ६ महिनाभित्र आवश्यक ठानिएमा गाउँपालिकाको नाम र केन्द्र बहुमतले फेर्न मिल्ने प्रावधान भने रहेको छ ।
त्यस्तै, सुकिदह गाउँपालिकाको नाम र केन्द्र फेर्ने निर्णयको विरुद्धमा आन्दोलन नै शुरु भएको छ । सुकिदहको ठाउँमा गंगादेव गाउँपालिका नामकरण गरेपछि स्थानीयले कार्यालयमा तालाबन्दी समेत गरे । गाउँपालिकाको नाम सुकिदह नै हुनुपर्ने र साविक सुखाओढार केन्द्र हुनुपर्ने स्थानीयको माग छ । सुखाओढारमा स्थान अभाव भएकाले सानडाँडामा केन्द्र सार्ने निर्णयमा पनि स्थानीय आन्दोलन समिति गठन गरेर विरोधमा उत्रिएका छन् ।
दुईखोली गाउँपालिकाले पनि युद्धमा मारिएका लडाकु नेपबहादुर वली “परिवर्तन” को नाममा गाउँपालिकाको नामकरण गर्ने छलफल अघि बढाएको थियो । त्रिवेणी गाउँपालिकामा भने केन्द्र सार्ने मागले विवाद बढेको छ । पुस १४ गते गाउँपालिकाको पहिलो बैठकको ६ महिना पुग्ने भएकाले नुवागाउँ, करेटी र गैरीगाउँका स्थानीयले गाउँपालिकाको केन्द्र त्रिवेणीमा सार्ने निर्णय गर्न गाउँपालिकाका जनप्रतिनिधिलाई दबाब दिँदै आएका छन् । स्थानीय तहको केन्द्र निर्धारण सिफारिसका बेला समेत त्रिवेणी र जुँगार केन्द्र बनाउनेबारे चर्को विवाद भएको थियो । पहिलेका गाविसहरु करेटी, नुवागाउँ र गैरीगाउँले जुँगारमा केन्द्र अपायक हुने भन्दै त्रिवेणीमा सार्न माग गरेका छन् ।
प्रतिक्रिया