ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ग्यास पाइप पछि अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं: प्रधानमन्त्री ओली

सारांश

  • काठमाडाै, ६ कात्तिक ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चुलोचुलोमा बिजुलीको तार पुर्‍याउन काम गरिरहेको बताएका छन्।
  • अघिल्लो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यास पाइप पुर्‍याउने बताएका उनले मंगलबार नयाँ नारा अघि सार्दै भने, ‘अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं।

काठमाडाै, ६ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चुलोचुलोमा बिजुलीको तार पुर्‍याउन काम गरिरहेको बताएका छन्। अघिल्लो पटक प्रधानमन्त्री हुँदा घरघरमा ग्यास पाइप पुर्‍याउने बताएका उनले मंगलबार नयाँ नारा अघि सार्दै भने, ‘अब चुलो चुलोमा बिजुलीको तार पुर्‍याउँछौं।’

मंगलबार ललितपुरकाे पुल्चाेकमा साझा यातायातको विद्युतीय बस सेवा आरम्भ गर्दै उनले तीन वर्षअघि पहिलो पटक प्रधानमन्त्री भएयता धेरै समय परिवर्तन भएकाे उल्लेख गरे। ‘मैले त्यतिबेला ग्यास पाइपको कुरा गर्दा निकै चर्चा भएको थियो। अब छिटै ग्यास पाइप होइन बिजुलीबाट चल्ने चुलोको युगतिर जाँदैछौं’, प्रधानमन्त्री ओलीले भने, ‘संसार छिटोछिटो बगेको छ। केही मान्छेलाई फेरि अनौठो लाग्न सक्छ तर दुनियाँ परिवर्तन भएको भयै छ।’

साझाले काठमाडौं उपत्यकामा सुरु गरेको बिजुली बस सेवा सरकारको आगामी कार्यदिशाको संकेत भएको उनले बताए। ‘हाम्रा मोटर फ्याक्ट्री छैनन्। किन्ने नै हो भने हामीले अब इलेक्ट्रिक गाडी किन्ने हो’, उनले भने। एशियाली विकास बैंकले लुम्बिनी विकास कोषलाई प्रदान गर्ने पाँच बस साझाले काठमाडौं उपत्यकामा गुडाउने तयारी गरेको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म जाने पर्यटकलाई लक्षित गरी एडिबीले सरकारलाई पाँच विद्युतीय बस र १५ कार प्रदान गर्ने तयारी गरेको थियो। तर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाई भएपछि त्यहाँका लागि छुट्याइएकामध्ये बस साझाले उपयाेगमा ल्याउन लागेकाे हो।

चीनको बीवाईडी कम्पनीमा निर्मित २० सिट क्षमताका ती बस अपांगमैत्री छन्। सिसिटिभी क्यामरडा जडित बसमा उभिएर यात्रा गर्नेलाई ह्यांगरको सुविधा पनि छ। केही वर्षभित्रै जलविद्युतमा स्वनिर्भर हुने बताउँदै उनले पेट्रोलियम उर्जाको ठाउँमा आफैँले उत्पादन गरेको जलविद्युत् प्रयोगले अर्थतन्त्र, वातावरण, जनस्वास्थ्यमा लाभ पुग्ने उल्लेख गरे। सरकारले विद्युतीय सवारी प्रवद्र्धनका लागि इकाइ गठन गरेर काम गरिरहेको उनले जनाए। नेपाल विद्युत प्राधिकरणले २० ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशत स्थापना गर्ने तय भइसकेको उनले जानकारी दिए। विद्युतीय सवारी प्रयोगबारे दुई छिमेकीको लक्षलाई पनि सरकारले हेरिरहेको उनले जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?